काठमाडौं : साउदी अरेबियासँग घरेलु कामदार तथा तालिम सम्बन्धमा अतिरिक्त प्रोटोकलमा सम्झौता हुने भएको छ । मन्त्रिपरिषद्ले नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न स्वीकृति दिएलगत्तै हाल परराष्ट्र मन्त्रालयले सम्झौताको ड्राफ्टमा गृहकार्य गरिरहेको छ ।
छिट्टै नै साउदी सरकारको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालय र नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सम्झौता पत्रमा हस्ताक्षर हुने छ । सम्झौता पत्रमा हस्ताक्षर गर्न श्रममन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल रियाद जाने बताइएको छ ।
सन् २०१० देखि नै साउदीसँग श्रम सम्झौताको प्रयास हुँदै आएको थियो । साउदीले जनरल वर्करसँगै घरेलु कामदारको पनि सम्झौता गर्न दबाब दिएको भएपनि त्यसलाई अतिरिक्त प्रोटोकलमा हस्ताक्षर गर्ने सहमति गरेर सम्झौता हुन लागेको बताइएको छ । चार लाखभन्दा बढी नेपाली र लाखौं आप्रवासीको श्रम गन्तव्य रहेको साउदीमाथि आप्रवासी कामदारको अधिकार संरक्षणमा उदासिनता देखाएको आरोप लागिरहेको छ ।
सन् २०३४ मा हुने फिफा विश्वकप फुटबल आयोजनाको तयारीस्वरूप साउदीले विगतका श्रम नीतिमा व्यापक सुधार गरिरहेको छ । साउदी अरबमा आप्रवासी कामदारहरूले ज्याला चोरी, असुरक्षित कार्यस्थल तथा वासस्थान, अत्यधिक घण्टा कामसहित गम्भीर मानव अधिकार उल्लंघनका प्रणालीगत दुव्र्यवहार रहेको आप्रवासी कामदारहरूको भनाइ रहँदै आएको छ ।
आप्रवासी कामदारहरूमाथि साउदी अरेबियाका नीति परिवर्तन नभएको अवस्थामा त्यहाँको सरकारले अगाडि बढाएका महत्वाकांक्षी मेगाप्रोजेक्टहरूमा प्रणालीगत शोषण र मृत्युको दर बढ्ने बताइएको छ । भिजन २०३० को एक भागको रूपमा साउदी अरेबियाको प्रमुख मेगासिटी निर्माण सुरु भएदेखि २१ हजार आप्रवासी कामदारको मृत्यु भएको पश्चिमा सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
मृत्यु हुनेमध्ये अधिकांश नेपाल, भारत र बंगलादेशका नागरिक रहेका छन् । आप्रवासी कामदारहरूले हप्तामा अधिकतम ६० घण्टा काम गर्नुपर्नेमा ८४ घण्टासम्म काममा लगाउने गरिएको र घरेलु कामदारहरू शोषण र दुव्र्यवहारको सबैभन्दा जोखिममा रहेको बताइएको छ ।
‘मोडर्न डे स्लेभरी’ मानिने कफाला प्रणालीमा सन् २०२१ को मार्चमै सुधार गरिसकेको साउदीले श्रम ऐनमा परिवर्तन गरी विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधाको सुनिश्चितता गरेको अन्तर्राष्ट्रिय जगतमा सन्देश पुर्याउनुपर्ने छ । त्यसले पनि नेपालसँग हुन लागेको श्रम सम्झौतामा कामदारको आधारभूत तलब, बिदा, रोजगारदाता परिवर्तन जस्ता विषयमा साउदी पक्ष लचिलो बनेको श्रम मन्त्रालय स्रोतले बतायो ।
कतारमा भएको विश्वकपमा श्रमिक शोषणको विषय अन्तर्राष्ट्रिय रूपमा उठेपछि साउदीले श्रमिकको अधिकार र सेवामा विशेष ध्यान दिएको देखिन्छ । यसअघि नै साउदीले ‘साउदी फण्ड’को प्रयोग गरी नेपालमा अन्तर्राष्ट्रियस्तरको तालिम उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानसँग साझेदारी गरिसकेको छ ।