२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

मसिनेचौरमा विमानस्थल बन्यो, आएन जहाज

shivam cement
पूर्ण सार्की
२०८२ भदौ १० गते २१:१०
मसिनेचौरमा विमानस्थल बन्यो, आएन जहाज

डोल्पा : डोल्पाको दमसिनेचौर विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडमा पर्ने मसिनेचौर विमानस्थल २०७८ सालमा निर्माण कार्य सम्पन्न भए पनि सञ्चालन आउन सकेको छैन । नागरिक उड्डयन प्राधिकरणका अनुसार २०५२ सालयता विमानस्थल निर्माणका लागि राज्यको २८ करोड ६० लाख खर्च भएको छ । विमानस्थल कालोपत्रेका लागि मात्रै २५ करोड खर्च भएको थियो । बाँकी रकम टर्मिनल भवन, सुरक्षा भवन, घेराबार, खानेपानी, कर्मचारी निवास निर्माणमा खर्च गरिएको थियो । तर विमानस्थलले जहाज अझै देख्न पाएको छैन ।

२०५१ सालमा तत्कालीन जिल्ला विकास समितिका सभापति ओमबहादुर बुढाले शिलान्यास गरेको विमानस्थल त्यसयता आवश्यक पूर्वाधार सबै बनिसकेका छन् । त्यहाँका नागरिकले विमानस्थल निर्माणका लागि प्रतिरोपनी १७ हजारका दरले जग्गा दान गरेका थिए । जग्गा प्राप्तिसँगै विमानस्थलको शिलान्यास भयो । शिलान्यास भएको झन्डै एक वर्षपछि विमानस्थल निर्माण प्रक्रिया सुरु गरिएको थियो । विमानस्थल बनेको वर्षौंसम्म कच्ची धावन मार्गमा मात्र सीमित भयो । यसबीचमा केही समय नेपालका निजी वायुसेवा निगमका जहाजले उडानसमेत भरिसकेका थिए ।  

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मसिनेचौर विमानस्थलमा परीक्षण उडानका लागि पटकपटक मिति नै तोकेका थिए तर विमानस्थलमा परीक्षण उडान हुन सकेन । मसिनेचौरसँगै परीक्षण उडान गर्ने भनिएको कालिकोटको सुनाथराली विमानस्थलमा परीक्षण उडान भयो तर मसिनेचौरमा अझै विमान आइपुगेन ।

करोडौं खर्च गरेर बनाइएको मसिनेचौर विमानस्थलमा अहिले गुमनामजस्तै बनेको छ ।

डोल्पाका सरोकारवाला निकायहरूले बारम्बार ताकेता गर्दासमेत सञ्चालनमा सरकारको चासो नदेखाएको स्थानीयको भनाइ छ । विमानस्थल सञ्चालनमा ल्याउन कौडीको भरमा जग्गा दान दिएका स्थानीय आक्रोशित छन् । यस्तै जहाज नआएपछि करोडौं लगानी भएको मसिनेचौर विमानस्थलका भौतिक संरचना जीर्ण बन्दै गएका छन् । टर्मिनल भवनको सिसा फुटेको छ भने विमानस्थल क्षेत्रको सुरक्षाका लागि लगाइएको घेराबारसमेत भत्किएको छ ।

जहाज अवतरणका लागि बनाइएको विमानस्थलको धावनमार्ग मनिस र पशुभाउको आउजाउ गर्ने बाटोलगायत खेलकुद मैदानमा परिणत भएको छ । 

१२ वर्षअगाडि मसिनेचौरमा सिंगल इन्जिन गरेको नाइन एजेजी कल साइनको मकालु एयरलाइन्सले परीक्षण उडानसमेत गरेको थियो । परीक्षण उडान सफल भएपछि चार÷पाँच महिना मकालु, गोमा, काष्ठमण्डपलगायतका एयरलाइन्सले उडान गरेका थिए । कच्ची हुँदै सफल परीक्षण उडान भएर सञ्चालनमा आएको मसिनेचौर विमानस्थलमा कालोपत्रे भइसकेपछि भने परीक्षण उडान हुन सकेको छैन ।

ADV

सम्बन्धित खबर

Advertise