-मदनकुमार श्रेष्ठ/रेशमराज पौडेल
काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको कार्यकाल शनिवार एक वर्ष पुरा गरेर दोश्रो वर्षमा प्रवेश गरको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ३ गते एक वर्षे कार्यकाल पुरा गरेपनि मन्त्री विष्टको एक बर्षे कार्यकाल शनिवार पुरा भएको हो । गतवर्ष फागुन ३ गते पहिलो पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा पार्टी स्थायी समिति सदस्य रहेका मन्त्री विष्ट मन्त्रिपरिषद्को नवौं मर्यादाक्रममा रहेर श्रम रोजदगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक सय दिन पुरा भएको अवसरमा मन्त्री विष्टले गत फागुन पहिलो हप्ता सार्वजनिक गरेको प्रगति विवरणमा एक वर्षको अवधिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत यत्र तत्र सर्वत्र अद्भुद उपलब्धी भएको विवरण सार्वजनिक गरेका थिए ।
मन्त्री विष्टले केही नेपाल ऐन संशोधन विधेयक २०७५ मार्फत वैदेशिक रोजगार व्यवसायीको धरौटी वृद्धि, प्रदेश स्तरबाट वैदेशिक रोजगार जाने कामदारको पुनः श्रम स्वीकृति, प्रधानमन्त्री रोजगार कार्यक्रम, आन्तरिक श्रमिकको न्यूनतम पारिश्रमिक, वैदेशिक रोजगार सूचना प्रणाली, योगदानमा आधारित सामाजिक सुरक्षा योजनालगायतलाई विगत एक वर्षका कामलाई उनले मुख्य उपलब्धीका रुपमा सार्वजनिक गरेको चित्रण गरेका थिए ।
विगतमा उक्त मन्त्रालयमा आउने कतिपय मन्त्रीले सामान्य रिवन काटेर सानातिना कार्यक्रम उद्घाटन गरेर समय विताउने र कतिपय आर्थिक लाभको चक्रमा फस्ने गरेको अवस्थामा मन्त्री विष्टले सुधारका काम गर्न मन्त्रालयमा बसेर धेरै पसिना बगाएका छन् । विहान सबेरै मन्त्रालय आउने र राती अवेर घर फर्किने मन्त्री विष्टको कार्यशैली मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुलाई नै मन परेको छैन । उनीहरुले मन्त्रीको कार्यशैली देखेर वाक्क दिकक् बनेको अनौपचारिक रुपमा बताएका छन् । तर यति मेहेनत गर्दापनि मन्त्री विष्ट पार्टी नेतृत्वका नजरमा भने ‘ भनेको नमान्ने अफ्ठयारो र अररो’ मन्त्रीको रुपमा देखा परेका छन् ।
त्यसको प्रमुख कारण हो, मलेसियाको रोजगारीमा लिएको अडान । मन्त्री विष्टले त्यसलाई सुधारका पक्षमा लिएको अडान बताए पनि त्यसलाई पार्टीका दुबै अध्यक्षले रुचाएका छैनन् ।
मन्त्री विष्टले मलेसियाको रोजगारीलाई कामदारको हितमा सहज बनाउने भन्दै गत कार्तिक १२ गते मलेसियासंग द्धिपक्षीय श्रम समझदारी गरे । समझदारीलाई मन्त्री विष्ट आफैंले ऐतिहासिक उपलब्धी बताए । तर पाँच महिना लामो समयसम्म कार्यान्वयन गरेनन् । मलेसियाको समस्या समाधान गर्न विगतमा प्रधानमन्त्री ओलीले समय नै तोकेर मन्त्री विष्टलाई तीन दिनको समय दिए । पार्टी स्थायी समितिमा मलेसिया रोजगारी खुलाउनु पर्ने विषयमा चर्को वहस भयो । पार्टी प्रवक्तादेखि धेरै स्थायी समिति सदस्यले मन्त्रीको आलोचना गरेका समाचार वाहिरिए । तर मन्त्री विष्टले सबै ती आलोचनालाई पचाईदिए, आफंैले हस्ताक्षर गरेको समझदारी मलेसियासंग कार्यान्वयन गर्ने तत्परता देखाएनन् ।
यी सबै घटनाक्रमलाई नियालेका पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहालले बैदेशिक रोजगार व्यवसायीहरुको भेटमा आइतवार भने, मन्त्रीका कारण मलेसियाको सन्दर्भमा अपुरणीय क्षति भएको छ । हामीले पटक पटक पुरानै संरचनाबाट काम गर्न अघि बढ्नुस भन्यौं, तर काम भएको छैन । किन भएन हामीले पनि बुझन सकेका छैनौ ।
मन्त्री विष्टले आफैंले हस्ताक्षर गरेको मलेसियासँग समझादारी कार्यान्वयन नगरेको विषयलाई पार्टी प्रणालीमा आलोचनाको विषय त छ नै त्यसलाई सरकारले गर्न लागेको लगानी सम्मेलनको उपलब्धीसंग पनि जोडेर हेरिएको छ ।
मलेसियासँगको समझदारी कार्यान्वयन नभएको अवस्थामा नेपालले अन्तर्राष्ट्रिय समुदायसंग गर्ने अन्तर्राष्ट्रिय संझौता र प्रतिवद्धताको अर्थ कति हुन्छ ? भनि टिप्पणी हुन थालेको छ । लगानी सम्मेलनसम्म पनि मलेसियासंगको समझदारी कार्यान्वयन नभएमा त्यस लगत्तै हुने भनिएको मन्त्रिपरिषदको पुनर्गठन्मा यो विषय एउटा प्रमुख मापदण्ड बनाउने विषयमा नेकपाका दुबै अध्यक्षको एउटै राय रहेको बताइएको छ । त्यसको सिधा अर्थ राम्रो काम गर्दा गर्दै पनि मन्त्री विष्ट असफल ठहरिन सक्नेछन् । त्यसले उनले यसअघि उर्जा मन्त्री हुँदा आर्जन गरेको सेलीबे्रटीमा समेत क्षति पुरयाउने कतिपयको विश्लेषण छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies