केहि हप्ता पहिलासम्म मुलुक समृद्विको बहसमा थियो । प्रधानमन्त्री देखि अन्य मन्त्री मुलुकमा समृद्वि यही सरकारले ल्याइ छाडने भाषण गरिरहेका हुन्थे । रेल, पानी जहाज र युवालाई रोजगारलगायतका नारा सरकारले अघि सारेको थियो । सरकारका प्रतिवद्वता माथि आम नागरिकलाई विश्वास त कम थियो यद्यपी समृद्वि आए पनि नआए पनि मुलुक राजनैतिक रुपमा स्थिरतातर्फ उन्मुख छ भन्ने निचोड निस्कन थालेको थियो । तर, केहिदिन यता मुलुकको परिस्थिति एकाएक तरल र जटिल बनेको अनुभूति गरिन थालेको छ । राज्यले परिस्थितिको गाम्भिर्यता भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्र्टीलाई प्रतिबन्धित गरेपछि मुलुक कतै फेरी द्वन्द्वतिर धकेलिने त होइन भन्ने आशंका बढेर गएको छ । पूर्व प्रधानमन्त्री एवं सत्तारुढ दलका एक अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सरक्षा संवेदनशीलता बारे जुन अभिव्यक्ति दिएका छन्, यदि उक्त कुरा सत्य हो भने परिस्थिति साँच्चिकै जटिल बन्दै गएको देखिन्छ ।
विगतमा एक दशकसम्मको हत्या र हिंसाको राजनीतिले प्रताडित बनेका नेपाली जनता फेरी मुलुकमा त्यही परिस्थिति दाहोरिने त होइन भन्ने डरले आतंकित बन्न पुगेका छन् । त्यो कहालीलाग्दो परिस्थिति फेरि नदाहोरियोस् भन्ने कामना र प्राथना आम नेपालीको छ । तर राज्यको तयारी र प्रतिबन्धित दलको प्रतिरोधको चेतावनी हेर्दा आमनेसामनेको स्थिति नजिकिएको प्रतित हुन्छ । प्रतिबन्ध, हतियार सहित भेटे सिधा गोली हान्नु भन्ने निर्णय र सेना परिचालन सम्बन्धी विधयेकको चर्चाले मुलुक नयाँ संकटतिर उन्मुख भएको अनुमान लगाउन सकिन्छ । विशेषतः राज्य पक्ष बढि कठोर बनेर गएको छ ।
उत्तेजना फैलाउने काम तिव्रतर भएको छ । मुलुक समृद्वि र निर्माणको बहसवाट विषयान्तर भएर संभावित अस्थिरता र अराजकतामा केन्द्रित हुन थालेको छ । सिके राउतसँगको समझदारी, रेशम चौधरीको जन्मकैद र नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध नेपालका पछिल्ला ती घटना हुन जसले मुलुकको ध्यान एकाएक यी विषयतर्फ केन्द्रित ग¥यो । परिस्थिति आज पनि अनियन्त्रित र अराजक बनिसकेको छैन । सैन्य कारवाहीको निष्कर्षमा पुगिहाल्नु पर्ने स्थिति पनि छैन । सरकारले चालेका कदम र सेना परिचालनको बहसले झन परिस्थिति नियन्त्रण भन्दा बाहिर जानसक्छ । सरकारले अझै पनि औपचारिक रुपमा वार्ताका लागि आह्वान गर्न विलम्ब भइसकेको छैन । यसतर्फ फेरी एकचोटि इमान्दार प्रयत्न गर्न आवश्यक देखिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies