२०८२ साउन १६ गते शुक्रवार / Aug 01 , 2025 , Friday
२०८२ साउन १६ गते शुक्रवार
Ads

१५ वर्षीया किशोरीको हत्या आरोपित पक्राउ

shivam cement
मध्यान्ह
२०८२ साउन १५ गते १५:४४
१५ वर्षीया किशोरीको हत्या आरोपित पक्राउ

धनुषाः धनुषास्थित जिल्ला प्रहरी कार्यालयले १५ वर्षीया किशोरी अञ्जली कुमारी यादवको हत्या आरोपीलाई पक्राउ गरेको छ । 

आरोपित क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरीका अनुसार धनुषाको बटेश्वर गाउँपालिका–५ घर भइ जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित डेराको कोठामा बस्दै आएकी १५ वर्षीया अञ्जलीको गत सोमबार राती खुकुरी प्रहार गरी हत्या गरिएको थियो । 

आरोपित साहलाई हिजो राति करिब साढे १० बजे  क्षीरेश्वरनाथ नगरपालिका–९ बाट पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।

रामबाबु यसअघि आफ्नो श्रीमतीको हत्या गरी पाँच वर्ष जेल सजाय काटेर २०७७ सालमा रिहा भएका थिए । साहले सोमबार राति खुकुरी प्रहार गर्दा अञ्जलीको मृत्यु भएको थियो भने अञ्जलीकी आमा ३५ वर्षीया आशा यादव र मिथिला नगरपालिका–१ ढल्केवर बस्ने होविन्द्र यादवको १४ वर्षीया छोरी आशा यादव घाइते भएका थिए ।

आशाको धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आशा रामबाबुकै प्रेमी रहेको र उनकै कारण घटना घटेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रनाउ सिंहका अनुसार आरोपित साह सजाय काटेर रिहा केही महिनापछि दोस्रो विवाह गरेर गाउँमै बस्दै आएका थिए । सोही क्रममा मदिरा पसल सञ्चालन गरेकी आशासँग उनको चिनजान भइ प्रेम सम्बन्ध गाँसिएको थियो ।

‘आशाको श्रीमानलाई दुबैजनाको सम्बन्धका बारेमा थाहा भएपछि दुवै पक्ष बसेर गाउँमा छलफल गरी आशालाई रामबाबुको जिम्मा लगाउने सम्झौता भएको रहेछ,’ उनले भने, ‘श्रीमानले दुई छोरा र एक छोरीको हेरचार गर्ने सहमति भएपछि उनीहरु छुट्टिएका रहेछन् ।’  

आशाको सुरुमा आर्थिक अवस्था कमजोर रहेकामा पछि आर्थिक अवस्था सुध्रिँदै जाँदा रामबाबुसँग टाढिन थालेको र पूर्व श्रीमानसँग नजिकिन थालेपछि रामबाबुले हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरी प्रनाउ सिंहले जानकारी दिए । 

ADV

सम्बन्धित खबर

Advertise