काठमाडौं : मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झामाथि बलात्कार आरोपमा मुद्दा दायर भएको छ । साउन ४ मा पक्राउ परेका उनीमाथि प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा दायर भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएको छ । उनलाई प्रहरीको अध्ययन प्रतिवेदनका आधारमा मुद्दा चलाउनुुपर्ने देखिएको सहन्यायाधिवक्ता कार्यालय प्रमुख रामहरि शर्माले जानकारी दिए ।
बलात्कार कसुरमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप भएको थियो । तर प्रहरीले आवश्यक अनुसन्धान गरेर अहिराजविरुद्धको मुद्दा नौ दिनमै अदालतमा लगेको हो । अन्य सामान्य अभद्र व्यवहारको कसुरमा समेत प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरे पनि अहिराजको ‘केस’मा छिटो अनुसन्धान भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
अहिराजले एक युवतीलाई बलात्कार गरेको आरोप छ । २०८१ जेठ ४ मा काठमाडौंको नयाँ बानेश्वरस्थित कोठामा अहिराजले बलात्कार गरेको भन्दै ती युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । डेरामा एक्लै बसेका बेला चिनजानका अहिराजले बलात्कार गरेको पीडितको भनाइ छ ।
उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ मा उल्लेख बलात्कार गर्न नहुने कसुरमा अनुसन्धान गरिएको थियो । दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिम सजाय मागदाबी गरिएको छ । (ङ) अनुसार १८ वर्ष वा सोभन्दा माथिको उमेरकी महिलालाई बलात्कार गरेमा सात वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
कोठामा एक्लै बसेका बेला ‘जरुरी कुरा गर्नु छ, तपाईंको परिवारबाट सन्देश ल्याएको छु,’ भन्दै अहिराज ती युवतीको कोठामा गएको अनुसन्धान क्रममा खुलेको प्रहरी स्रोतको दाबी छ । ‘के सन्देश ल्याएको फोनमा नै भनेको भए हुन्थ्यो । म एक्लै भएको ठाउँमा किन आउनुभएको भनी मैंले भनिरहँदा, उहाँले तिमी किन डराएको तिम्रो घरपरिवारसँग चिनजान भएको हुनाले निर्धक्क भएर बस भन्नुभयो,’ पीडित युवतीको बयान उद्धृत गर्दै प्रहरीले जनाएको छ । बलात्कारपछि कुरा बाहिर ल्याएर उल्टै मधेशी समुदायले बहिष्कार गर्ने धम्की दिएको समेत ती युवतीले प्रहरीसमक्ष बयान दिएकी थिइन् ।