सुख्खा मौसमको शुरुवात भएसँगै देशभर आगलागीका घटना बढने सम्भावना प्रवल हुन्छ । हावाहुरीबाट आगलागीका घटना व्यक्तिको घरदेखि सार्वजानिक तथा निजी वनमा घटिरहको पाइन्छ । कतिपय स्थानमा सर्वसाधारणको लापरवाहीका कारण यस्ता घटना हुन्छन् भने कतिपय ठाउँमा तत्कालै स्थानीय प्रशासनले आगो निभाउन तदारुकता नदेखाउँदा भयानक क्षति भएका खबर आउँछन् । सुख्खा मौसम शुरु भएपछि देशभर हावाहुरी लाग्ने र खुला स्थानमा वस्तुभाउलाई पानी तताउँदा होशियारी नगर्नेदेखि लिएर बारीमा सुकेका झारपात पोल्ने क्रममा पनि आगो सल्किएको पाइएको छ । कतिपय स्थानमा रमाइलो गर्ने बहानामा केटाकेटी तथा युवाहरुले ख्याल ख्यालमा सलाई कोरेर खरबारीमा फाल्ने र खरबारी तथा जंगल भएका ठाउँमा समेत बद्मासीपूर्ण तरिकाबाट सलाईको काँटी बालेर छाडने कारणले पनि यस्ता घटना भइरहेका छन् ।
सम्पति चाहे सरकारी होस् या निजी, त्यसता दैवी विपत्तिका काममा हाम्रो दायित्व होइन भनेर पन्छिने कार्य आपत्तिजनक कार्य हो । यस्ता दैवी विपत्तिमा नागरिक स्वतःस्फर्त रुपमा अग्रसर भएर तेरो मेरो नभनिकन सामूहिक रुपमा उद्दार कार्यमा खटने नेपालीको विशेषता हो । यस्ता घटनालाई कम गर्नका लागि सबैभन्दा ठूलो कुरा जनचेतना नै जगाउनुपर्ने देखिन्छ भने अर्कातिर घटना घटिसकेपछि त्यसलाई यथाशक्य चाडो नियन्त्रणमा ल्याउन जिल्ला जिल्लाका स्थानीय संयन्त्रहरु यो मौसमभर एलर्ट राख्नुपर्छ । विकट बस्तीहरुमा भौगोलिक विकटता एवं असुविधाका कारण पनि आगालागी नियन्त्रणका अत्याधुनिक यन्त्र जस्तै दमकल जान सक्दैनन् । त्यस्तो अवस्थामा के गर्ने, कसरी नियन्त्रण गर्ने भन्ने विषयमा स्थानीय समुदायलाई तालिम दिनुपर्छ ।
स्थानीय तहमा आइपर्ने विपत्तिलाई समाधान गर्न, नियन्त्रणमा लिने र स्थाानीय स्रोतको संरक्षण गर्ने दायित्व निवार्ह गर्न स्थानीयलाई नै सचेत, जागरुक एवं प्रशिक्षित गराउन सकियो भने सजिलो हुन्छ । सरकारले हावाहुरीमा आउन सक्ने चुनौतीलाई रोक्नका लागि समयमै ध्यान दिनु आवश्यक छ । वर्षेनी आगलागीबाट हुने जनधनको क्षति रोक्नका खातिर प्रत्येक स्थानीय सरकारले जागरण एवं सेचतनाका कार्यक्रम सञ्चालन गर्नु उपयुक्त हुन्छ । यस्ता घटना अन्जानमै बढि घटित भएका हुन्छन् । जागरणको अभावमा हुने यस्ता घटना न्यूनिकरणका लागि सार्वजनिक सञ्चारमाध्यममार्फत सन्देशमूलक सूचना प्रकाशन तथा प्रसारण गर्दा पनि त्यसमा सघाउन मिल्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies