२०८२ असार २८ गते शनिवार / Jul 12 , 2025 , Saturday
२०८२ असार २८ गते शनिवार
Ads

स्वास्थ्य चौकी ४ वर्षदेखि प्रयोगविहीन

shivam cement
मध्यान्ह
२०८२ असार २८ गते १६:५०
स्वास्थ्य चौकी ४ वर्षदेखि प्रयोगविहीन

टीकापुर : कैलालीको टीकापुर नगरपालिका–३ रामपुरमा ४ वर्षअघि निर्माण भएको स्वास्थ्य चौकी भवन सञ्चालनमा नआउँदै अलपत्र परेको छ । आर्थिक वर्ष २०७७/०७८ मा स्वास्थ्य चौकी निर्माण लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ३५ लाख बजेटबाट निर्मित स्वास्थ्य चौकी भवन सञ्चालनमा नआउँदै अलपत्र परेको हो ।

ऐलानी जग्गामा निर्माण गरिएको स्वास्थ्य चौकी भवनको एक कुना व्यक्तिगत जग्गामा जाने बाटोमा परेपछि निर्माण सम्पन्न भएको ४ वर्ष बितिसक्दा समेत भवन सञ्चालन नआउँदै अलपत्र परेको हो । स्थानीयवासीका अनुसार रामपुरमा रहेको चार कट्ठा ऐलानी जग्गामा स्थानीय सरकारले पर्याप्त छलफल नै नगरी निर्माण गर्दा भवनको एक कुना निजी जग्गामा जाने बाटोमा परेको भन्दै सञ्चालनमा नआएको हो । 

‘भवन निर्माण हुँदासम्म कसैले कहिंकतै भवन बाटोमा परेको बारे केही भनेनन्, तर भवन निर्माण सम्पन्न भएर उद्घाटनको तयारी गर्दा जग्गाधनीले भवन बाटोमा परेको भन्दै विवाद गरेपछि अलपत्र परेको हो’ वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष रामसेवक महतोले भने ।

नगर कार्यपालिका बैठकमा छलफल गरेर नै भवन बनाएको उनको दाबी छ । ‘भवनको एउटा कुनाले चार फिट जति बाटो च्यापिएको छ । त्यसमै विवाद भयो र हालसम्म प्रयोगमै ल्याउन सकिएको छैन’, उनले भने ।

महतोले जग्गाधनीलाई नगरपालिकामा बोलाएर छलफल गरेको बताउँदै विवाद टुंग्याउन खोजे पनि आफ्नो कार्यकाल सकिएकाले प्रक्रिया अधुरै रहेकाले भवन हालसम्म प्रयोगविहीन भएको बताए । 

वडा नम्बर ३ को रामपुरमै गैरसरकारी संस्था कोइकाले निर्माण गरेको अत्याधुनिक स्वास्थ्य चौकीको भवन छ । स्थानीयबासीहरू नगरपालिकाले स्वास्थ्यका नाममा आएको बजेट स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरेर त्यही भवनबाट वडा कार्यालय सञ्चालन गर्ने तयारी गरेको बताउँछन् । 

रामपुरमा निर्मित उक्त भवन सञ्चालनमा नहुँदा कोइकाले निर्माण गरेको स्वास्थ्य चौकीकै भवनबाट वडा कार्यालय सञ्चालनमा छ । स्वास्थ्य चौकी र वडा कार्यालय एउटै भवनबाट सञ्चालन हुँदा दुवै थरि सेवाग्राहीलाई समस्या हुने गरेको स्थानीयहरू बताउँछन् । स्वास्थ्य चौकीलाई कोइकाले निर्माण गरेको भवनमै राखेर नयाँ भवनमा वडा कार्यालय सार्न कार्यपालिकाले निर्णय नै गरेको थियो ।

टीकापुर नगरका नगर प्रमुख रामलाल डगौरा थारू पर्याप्त समन्वय विना भवन निर्माण हुँदा विवाद उत्पन्न भएर भवन अलपत्र परेको बताउँछन् । ‘उक्त भवनमा वडा कार्यालय राख्ने गरी विवाद समाधानका लागि छलफल भइरहेको छ’ नगर प्रमुख थारूले भने ‘छिमेकी जग्गाधनीले पालिकाको न्यायिक समितिमा छलफलका लागि निवेदन दिएका छन्, हामी यसमा छलफल गरेर समाधान निकालेर भवन सञ्चालन गर्ने तयारीमा छौं ।’ 
 
 

ADV

सम्बन्धित खबर

Advertise