काठमाडौँ : विश्व फुटबल महासंघ (फिफा) ले नेपालमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाएको छ ।
आर्थिक अपारदर्शिता र भ्रष्टाचारको आशंका गर्दै फिफाले १५ मार्च २०२१ मा अखिल नेपाल फुटबल संघ (एन्फा)माथि ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो ।
जसअन्तर्गत फिफाले एन्फालाई दिँदै आएको आर्थिक सहयोगलाई आफ्नो नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिन्थ्यो । चार वर्षपछि गत बिहीबार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जीएसीसी) को बैठकले नेपालमाथि लगाइएको उक्त बन्देज हटाएको एन्फाले जानकारी दिएको छ ।
एन्फाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन पश्चात संस्था सुधार, भद्रगोल व्यवस्थाको अन्त्य र पारदर्शिता कायम गर्ने लक्ष्यका साथ थालिएको यात्रा आज सकारात्मक मोडमा आइपुगेको छ ।’ आर्थिक प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको लेखा प्रणालीमा रूपान्तरण गर्न फिफासँगको सहकार्य महत्त्वपूर्ण भएको एन्फाको दाबी छ ।