काठमाडौं : रसुवाको लेन्दे नदीमा आएको बाढीले रसुवागढी–केरुङ सीमा नाकाको मितेरी पुल बगाएको छ । मितेरी पुल बगाएसँगै नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका बन्द भएको छ ।
बाढीमा परी अहिलेसम्म सात जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको पछिल्लो अपडेटअनुसार सात जना मृत फेला परेका हुन् ।
बाढीले गोसाइकुण्ड–१, २ र ३,आमाछोदिङमो गाउँपालिका १, २, ४ र ५ उत्तरगया गाउँपालिका २,४,५ ,कालिका गाउँपालिका–१ प्रभावित भएको छ ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित लेन्दे नदीमा मंगलबार बिहान अचानक आएको बाढी भोटेकोसी हुँदै त्रिशुलीसम्म आइपुग्दा ठूलो जनधनको क्षति गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाले मंगलबार राति ९ बजे जारी गरेको सूचनाअनुसार बाढीपहिरोमा २० जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेहरूमा ६ जना चिनियाँ नागरिक, नेपाल प्रहरीका ३ जवान र ११ जना सर्वसाधारणसहित गरी २० जना छन् । बाढीमा फसेका ५५ जनाभन्दा बढीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको छ । नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुन्ना ठाकुर र लोकेन्द्र बोहरा सम्पर्कविहीन भएका हुन् । उनीहरू तीनैजना इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रहेको रसुवा प्रहरीले जनाएको छ ।
पानी नै परी ठूलो बाढी
जनधनको क्षति निम्त्याएको बाढीको कारण पत्ता भने लागिसकेको छैन ।
विश्व मौसम सङ्गठनको बाढीको सम्भावना पहिचान गर्न र समयमै चेतावनी दिन विकास गरिएको एक प्राविधिक प्रणाली (फ्ल्यास फ्लड गाइडेन्स प्रणाली) को स्याटेलाइट–आधारित वर्षा अनुमानअनुसार पनि भोटेकोशी जलाधार क्षेत्रमा गत २४ घण्टामा वर्षा भएको देखिँदैन ।
विभागका मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको जानकारी दिए । ‘त्यति ठूलो बाढी नै जाने गरी दुवैैतर्फ ठूलो वर्षा भएकै छैन । न्यूनचापीय रेखा पनि सरदर आसपासमा नै रहेको छ,’ उनले भने, ‘के कारणले बाढी गएको भन्ने विषयमा थप अनुसन्धान गरेर मात्रै हामी सूचना सार्वजनिक गर्नेछौं ।’
नेपाली भूभागमा बाढी निम्त्याउने गरी वर्षा नभएको र सिमाना जोडिएको छिमेकी तिब्बती क्षेत्रमा पनि ठूलो वर्षाको भएको रेकर्ड पनि देखिएको छैन । बाढी पूर्वानुमान महाशाखाका अनुसार रसुवाको धुन्चे र क्यान्जीङ्मा रहेको मौसमी केन्द्रले त्यस क्षेत्रमा फाटफुट मात्र वर्षा भएको रेकर्ड गरेका छन् ।
मौसमविदहरूका अनुसार बाढी आउनुको कारण भोटेकोसीको माथिल्लो क्षेत्रमा रहेका हिमतालमध्ये कुनै एक विस्फोट भएको हुनसक्ने अनुमान गरेका छन् । भोटेकोसीको माथिल्लो क्षेत्रमा पहिरो गएर नदी थुनिएपछि एकैपटक पानी आएको हुनसक्ने पनि उनीहरूको अनुमान छ ।
के कारणले बाढी अाएको हो भनेर स्याटलाइट तस्वीरहरूको अध्ययन भइरहेको मौसम विभागले बताएको छ । विभागका अनुसार नेपाल–चीनबीच अन्तर्देशीय छलफल पनि भइरहेको छ ।
अधिकारीहरूका अनुसार बाढी आएको क्षेत्रभन्दा माथि केही हिमतालहरू छन् । तीमध्ये कुनै हिमताल विस्फोट भएको हुनसक्ने वा पहिरोको कारण नदी थुनिएर एक्कासि बाढी आएको हुनसक्ने अनुमान छ ।
ईसिमोड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सन् २०२० मा कोसी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा रहेका हिमतालहरूको अध्ययन गरेको थियो । उक्त अध्ययनले नेपाल, भारत र तिब्बतमा रहेका ३ हजार ६ सय २४ हिमतालमध्ये ४७ वटा विस्फोटको जोखिममा रहेको निष्कर्ष निकालेको थियो ।
विभागले ठूलो वर्षा दुवै देशको आसपासमा नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको जनाएको छ ।
२४० मेगावाट विद्युत बन्द
बाढीले चिलिमे जलविद्युत् आयोजना, रसुवागढी जलविद्युत् आयोजना, त्रिशूली थ्री ए जलविद्युत् आयोजना, त्रिशूली थ्री बी सबस्टेसन, त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रमा क्षति गरेको छ ।
बाढीले जलविद्युत् आयोजनामा क्षति पु¥याउँदा २४० मेगावाट बिजुली बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरण र यसका सहायक कम्पनीको गरी २३० मेगावाट र निजी क्षेत्रको १० मेगावाट गरी २४० मेगावाट आयोजना बाढीका कारण बन्द भएको हो । स्याँफ्रुबेसीमा रहेको मापन उपकरण नै बगाएका छ ।
बाढीले ठूलो क्षति चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी भन्सार नाकामा गरेको छ । जिल्ला प्रशासन कार्यालउ रसुवाका अनुसार बाढीले स्याफ्रुबेशी–रसुवा सडक खण्ड पूर्णरूपमा क्षति भएको छ भने रसुवा भन्सार कार्यालयको यार्डमा पनि क्षति पुगेको छ ।
यसैगरी बाढीले रसुवाको उत्तरगया गापा– १ मैलुङस्थित नेपाली सेनाको पोष्ट अगाडि गल्छि–बेत्रावती– स्याफ्रुबेशीसडक खण्डको बेलीब्रिज बगाएको छ ।
बाढीले नेपाल–चीन सीमा रसुवागढीमा रहेको मितेरी पुल बगाएर दुई देशबिचको आवतजावत ठप्प भएको छ । बाढीका कारण स्याफ्रुबेँसी–रसुवागढी सडकको १० स्थानमा क्षति पुग्दा उद्धार तथा आवतजावत अवरुद्ध भएको छ ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित पासाङल्हामु सडकमार्ग अन्तर्गत स्याफ्रुबेशी– रसुवागढी सडक खण्डमा भोटेकोशी नदीमा आएको बाढीले विभिन्न स्थानमा सडक पूर्ण कटान गरेको छ ।
बाढीले नेपाली व्यापारीको अर्बौंको नोक्सान गरेको छ । नेपालतर्फ बाढीले रसुवागढी भन्सार कार्यालय यार्डमा रहेका सयभन्दा बढी विद्युतीय गाडी, ३७ वटा मालबाहक कन्टेनर र जलविद्युतका उपकरण बगेको छ ।
भन्सार कार्यालय यार्डमा रहेका बाँकी २० वटा जति गाडीहरू पनि लेदो पसेका कारण प्रयोगमा ल्याउन नसकिने अवस्थामा पुगेको छ । यस्तै बाढीले चीनतर्फ रहेका १६ वटा जति नेपाली व्यापारीको कन्टेनरमा क्षति गरेको छ । चीनतर्फ फलपूmल र रेडिमेट सामग्री बोकेका १६ वटा गाडीको आधा भाग पानीमा डुबेको छ ।
नेपाल र चीनबीच व्यापार हुने रसुवागढी–केरुङ र तातोपानी–खासा प्रमुख नाका हुन् । पछिल्ला वर्षहरूमा सबैभन्दा ठूलो व्यापार रसुवागढी–केरुङ नाकाबाट हुने गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो ११ महिना अर्थात् २०८१ साउन १ गतेदेखि २०८२ जेठ मसान्तसम्मको अवधिमा नेपालले रसुवागढी नाकाबाट ८० अर्ब ९१ करोड ४८ लाख २३ हजार रुपैयाँको वस्तु आयात गरेको छ भने १ अर्ब ९६ करोड १४ लाख ३ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।
बाढीले मितेरी पुल बगाउँदा र भन्सार कार्यालयमा क्षति पुर्याउँदा यसले दीर्घकालसम्म नेपाली व्यापारीलाई असर गर्ने व्यापारीहरू बताउँछन् ।
यसअघि व्यापारीहरूले २०७२ सालको भूकम्पको बेला पनि ठूलो क्षति व्यहरोका थिए ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालबाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन् ।
बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको उनले जानकारी दिए ।
त्यस्तै २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको तेलरेटरमा बाढीको लोदो पस्दा उत्पादन पूर्ण रूपमा बन्द छ । माथिल्लो त्रिशूली ‘ए’को ६० मेघावाट क्षमताको जलविद्युत् केन्द्रको ड्यामसाइटमा पनि क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
‘ल्हेन्दे खोलाको मितेरी पुल बताउँदा केरुङसँगको सीधा सम्बन्ध टुटेको छ । १० मिटर चौडाइ र १०० मिटर लम्बाइको रहेको सो पुलमा क्षति भएको प्राविधिकहरूले बताएका छन् । रसुवागढीबाट करिब ८० कोषमाथि छुसुमधो भन्ने चिनियाँ भूभागबाट आएको पहिरोले क्षति बनाएको अनुमान छ,’ सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले भने ।
हिमताल फुटेको आशंका
विभागले भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमताल अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा बाढीको असर आकलनका लागि एसिया–प्यासिफिक क्षेत्रका लागि विकसित गरिएको एक अन्तरिक्ष–आधारित आपत्कालीन प्रतिक्रिया (सेन्टिनल एसिया) प्लेटफर्ममा तत्कालको भू–उपग्रह तस्बिर प्राप्त गर्न आपत्कालीन अवलोकन अनुरोध जारी गरेको छ ।
बाढी तिब्बतको क्षेत्रबाट उत्पन्न भएको र हाल घट्दो क्रममा रहेको भए पनि सम्भावित जोखिमलाई ध्यानमा राखी त्रिशूली नदीको रसुवागढीदेखि धादिङ जिल्लाको बेनिघाटसम्म त्रिशूली नदी तटीय क्षेत्रमा अर्को सूचना जारी नहुँदासम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
यस्तै आगामी तीन दिनसम्म बाढीको कुनै जोखिम नरहेको विभागका बाढीविज्ञ र मौसमविज्ञहरुले जानकारी दिएका छन् ।
मौसमविद् सञ्जीव अधिकारीले आगामी तीन दिनसम्म मुलुुकको अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको स्म्भावना रहे पनि भारीदेखि अति भारी वर्षाको सम्भावना नरहेको जानकारी दिए । तीन दिनसम्म देशभर बाढीको जोखिम नरहेको उनले बताए ।
प्रधानमन्त्रीले गरे अवलोकन
प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फरेका छन् ।
बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए ।
प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखलगायत थिए ।
मुस्ताङमा पनि बाढी
मुस्ताङको लोमन्थाङ स्थित चुङजुङ खोलामा बाढी आएको छ । मुस्ताङमा गेग्य्रान र लेदोसहितको बाढी आएको हो । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–४ स्थित चुम्जुङ खोलामा एक्कासी लेदोसहितको बाढी आएको हो ।
लोमन्थाङ–४ चुम्जुङ खोलाको माथिल्लो नयाँ बन्दै गरेको पक्की पुलमाथीबाट लेदो सहितको बाढी आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ ।
लोमन्थाङ–४ हुँदै कालीगण्डकीमा मिसिने उक्त खोलामा मंगलबार दिउँसैदेखि बाढी आएको गाउँपालिका अध्यक्ष टसी न्हूर्बू गुरुङले जानकारी दिए । उनले भने, ‘ताल फुटेर बाढी आएको हुन सक्छ । यता पानी परेको छैन । अरू कारणले बाढी आएको होइन ।’
मुस्ताङ हिमाल पछाडि रहेको छो । ल्योङढ्योक ताल फुटेको हुनसक्ने उनको अनुमान छ । खोला किनारमा रहेका नागरिकहरूलाई सुरक्षित हुन आग्रह गरिएको छ । खोलाका तटीय क्षेत्रहरू छुसाङ, कागबेनी, जोमसोमलगायत क्षेत्रमा सतर्कता अपनाइएको छ ।
बाढीले केही पुलहरू समेत बगाएको छ । यस्तै, लोमन्थाङको रिङरोड क्षति भएको छ, बाटोहरू धेरै बिग्रिएको छ । अन्य क्षतिबारे भने जानकारी नरहेको उनको भनाइ छ ।
बारगुड मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नाम्गेल गुरुङले बताए । उनले उपल्लो मुस्ताङ क्षेत्रमा बाढी आएपछि तल्लो तटमा बस्ने बासिन्दालाई सचेत हुन आग्रह गरिएको पनि जानकारी दिए ।
‘यहाँको चुमजुङ गाउँमाथिको उच्चलेकबाट निकै ठूलो लेदोसहितको भीषण बाढी आइरहेको छ, यसले ठूलो क्षति निम्त्याउन सक्ने जोखिम बढेको छ’, अध्यक्ष गुरुङले भने, ‘मुस्ताङको तल्लो क्षेत्रमा कालीगण्डकी तटीय बस्तीलाई फोनबाट सर्तक रहन आग्रह गरेका छौँ ।’
उपल्लो मुस्ताङको चुमजुङ गाउँ नेपाल–चीन सीमावर्ती नजिकको गाउँ हो ।