२०८२ असार २३ गते सोमवार / Jul 07 , 2025 , Monday
२०८२ असार २३ गते सोमवार
Ads

भारत–चीन रणनीति सडक जोडियो, ७७ वटै जिल्लामा पुग्यो सडक

shivam cement
जानकी पाठक
२०८२ असार २३ गते ०६:३०
भारत–चीन रणनीति सडक जोडियो, ७७ वटै जिल्लामा पुग्यो सडक

काठमाडौं : सडक पहुँचबाट वञ्चित रहेको हुम्लीबासीको सपना साढे २ दशकमा पूरा भएको छ । कर्णाली करिडोर अन्तर्गत खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा बेलिब्रिज निर्माण भएसँगै हुम्ला औपचारिकरुपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ ।

चुवाखोला–कर्णाली नदीमाथि बेलिब्रिज बनेसँगै हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दशकौँदेखिको बहुप्रतीक्षित सपना पूरा भएको छ । हुम्लाको लाइफलाइन मानिएको बेलिब्रिजको उद्घाटन भएसँग हुम्ला सडक सञ्जालबाट जोडिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बेलिब्रिजको उद्घाटन गरेका छन् । 

नेपाली सेनाले झन्डै ४ करोड रुपैयाँमा बेलिब्रिज ३५ दिनमा निर्माण गरेको हो । 

हालसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला मात्रै एउटा जिल्ला थियो । २६ वर्षदेखि सडक निर्माणको काम भइरहे पनि औपचारिक रूपमा राष्ट्रिय सडक सदरमुकाम सिमकोटमा जोडिएको थिएन ।

बाँकेको जमुनियाबाट हिल्सासम्म यो सडकको दूरी ५१० किलोमिटर छ । यसले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोडेको छ । यो सडकले चीन र भारतसँग वैदेशिक व्यापारलाई पनि सहयोग पुग्ने विश्वास छ ।

भारत र चीनसँग जोडियो

खार्पुमा पुल बनेसँगै भारतीय सहर रूपेडिहाबाट चीनको सीमास्थित हिल्सासम्म एउटै गाडीमा यात्रा गर्न सकिने छ । कर्णाली करिडोर दक्षिण खण्डका आयोजना प्रमुख इन्जिनियर तुलाराम शर्माका अनुसार अब भारतको रूपेडियाबाट कर्णाली करिडोर हुँदै चीनको सिमाना हिल्सासम्म एउटै गाडीमा सहज यात्रा गर्न सकिन्छ । जसबाट कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रुका साथै अन्य यात्रुलाई समेत राहत हुने शर्माको भनाइ छ ।

भारतीय सहर रूपेडियाबाट चीनको सीमा हिल्सासम्मको दूरी करिब ५ सय १८ किलोमिटर छ । कालीकोटको खुलालुबाट सुरु हुने कर्णाली करिडोरले बाजुरा र हुम्लालाई समेत जोडेको छ । जुन खण्ड २ सय ७१ किलोमिटर छ ।

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर २०५६ सालमा शिलान्यास भएको थियो । दक्षिणको नेपालगञ्ज–जमुनाहा नाकादेखि उत्तरी हुम्लाको चीन–नेपाल हिल्सा नाका जोड्ने यो करिडोर ५१० किलोमिटर लामो छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरी नाका हिल्सा जोड्ने लक्ष्यका साथ कर्णाली करिडोर शिलान्यास भएको थियो ।

कर्णाली प्रदेशको राजधानीदेखि हिल्सा नाका पुग्न यो सडकको निर्माणको जिम्मा २०६६ सालसम्म सडक विभाग आफैंले लिएको थियो ।

नेपाली सेनाले बनाएको बाहेक हिल्सा–मकोट खण्डको १४५ किलोमिटर ट्रयाक खोल्न र ४ वटा पुल निर्माण गर्न आर्थिक वर्ष २०६९/७० देखि आर्थिक वर्ष २०७९/८० सम्मको लागत ४ अर्ब १० करोड रहेको थियो ।

हालसम्म कूल १४५ किलोमिटरमध्ये १३० किलोमिटर ट्रयाक खुलेको छ ।

कर्णाली करिडोरका लागि केन्द्र सरकारले ३ अर्ब २३ करोड २३ लाख २३ हजार ७१२ रुपैयाँ बजेट दिएको छ । 

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको कर्णाली कोरिडोरको ट्रयाक खोल्ने कामको जिम्मा पाएपछि नेपाली सेनाले ७ वर्षमा १२३ किलोमिटर सडक निर्माण गरेको छ ।

२०५४ सालमा हुम्लामा खाद्यान्न अभावको स्थायी समाधानका लागि तत्कालीन जिल्ला विकास समितिले चीनसँग सडक जोड्ने योजना बनाएको थियो । २०५७ सालमा जिविसको आन्तरिक स्रोतको प्रयोग गरी सिमकोट–हिल्सा सडक खन्न सुरु गरियो । त्यसपछि कालीकोटदेखि बाजुरा–हुम्ला खण्डमा विभिन्न समयमा करोडौं बजेट खर्च गरियो । तर, सडक निर्माणको गति भने सुस्त भयो ।

कर्णालीको भाग्यरेखा 

कर्णाली करिडोर कर्णाली प्रदेशको समृद्धिको आधार हो । यो करिडोर भारतको सीमाबाट सुरु भई तिब्बतको सीमासम्म जोडिन्छ । जसले त्रिदेशीय (नेपाल, भारत र चीन) व्यापार र यातायातलाई सहज बनाउने सम्भावना बोकेको छ । हुम्लामा पहिलोपटक गाडी पुग्नु कर्णाली करिडोरको विकासमा एक ऐतिहासिक उपलब्धि हो । नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिइएको ‘नर्थ साउथ ग्रोथ एक्सिस’ कर्णाली करिडोरकोमा गाडी गुड्न थालेपछि अब यसले कर्णालीवासीको जीवन स्तरमा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रूपमा अघि बढाइने बताए । ‘कर्णाली करिडोर कर्णाली र हुम्लावासीको मात्र नभई दुई छिमेकी देशसँगको व्यापाररिक मार्ग भएकाले यसलाई तत्काल दुई लेनको बनाइनुका साथै कालोपत्र गर्दै लगिने छ’, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले छिमेकी मुलुक चीनसँग जोडिएको हिल्सा नाकामा क्वारेन्टाइन निर्माण गरिने प्रतिवद्धता जनाए । 

ADV

सम्बन्धित खबर

Advertise