२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

Nada
सन्तोष पौडेल
२०८१ असार २८ गते २१:४७
Shares
शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न उपायहरुको खोजी गर्न थालिएको छ । 

ncell

सामुदायिक विद्यालयको खस्किँदो सिकाइ उपलब्धिलाई उकास्न गेरुवा गाउँपालिको सहकार्यमा जंग्रार साहित्यिक वखेरीको आयोजनामा जन प्रतिनिधि, शिक्षा समिति, सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सरोकारवाला लगायतलाई एक ठाउँमा भेला गरेर शैक्षिक बहसमार्फत उपायहरुको खोजी गरिएको हो । 

पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको अवस्थामा त्यसको जड पत्ता लगाउने लक्ष्यका साथ शैक्षिक बहस तथा अन्तरक्रियात्मक कार्यक्रम शुरु गरिएको जंग्रार साहित्यिक  वखेरीका अध्यक्ष सोम डेमनडौराले बताए । 

‘सामुदायिक विद्यालयमा राज्यको करोडौँ लगानी छ, उच्च शिक्षा हासिल गरेका र तालिम प्राप्त शिक्षकको व्यवस्था छ । तर विद्यालयमा विद्यार्थीहरुको सिकाइ उपलब्धि  घटिरहेको छ । तह अनुसार विद्यार्थीको क्षमता विकास हुन सकेको छैन । यिनै समस्या हल गर्ने प्रयासस्वरुप शैक्षिक बहस अन्तरक्रियात्मक कार्यक्रम गरिएको हो ।’

कार्यक्रमका सहभागीहरुले विद्यालयको शैक्षिक गुणस्तर सुधार शिक्षकको एकल प्रयासबाट मात्र सम्भव नभएको भन्दै शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधिलगायत सबै सरोकारवालाहरुको साझा प्रयत्नबाट मात्र गुणस्तर सुधार सम्भव भएको निष्कर्ष निकालेका छन् । उनिहरुले शैक्षिक गुणस्तर सुधारका निम्ती पाठ्यक्रममा नैतिक शिक्षा समावेश गरिनुपर्नेमा जोड दिएका छन् ।

विद्यालयमा सञ्चालित शैक्षिक गतिविधिको सरकारी संयन्त्र अभिभावक, जनप्रतिनिधि एवं सरोकारवालाहरुको नियमित अनुगमन तथा सुपरिवेक्षणले पनि शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने शैक्षिक बहस अन्तरक्रियात्मक कार्यक्रमका सहभागिहरुको तर्क थियो ।

विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ विद्यालयको व्यवस्थापकीय पक्षमा र शिक्षक शैक्षिक कृयाकलापमा विद्यार्थीहरुप्रति जिम्मेवार, जवाफदेही र उत्तरदायी बन्नुपर्नेमा उनीहरुको जोड थियो । गेरुवा गाउँपालिकाकाका अध्यक्ष जमान सिंह के. सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण शिखर दहितले गरेका थिए । एक्सन एडको आर्थिक सहयोग तथा कमैया महिला जागरण समाजको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।

uae

सम्बन्धित खबर