२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

एमालेभित्र बढ्यो ध्रुवीकरण

shivam cement
निमिष झा
२०८२ असार १७ गते ०६:३५
एमालेभित्र बढ्यो ध्रुवीकरण

काठमाडौं : नेकपा (एमाले)की पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार एमालेमै फर्केर फेरि राजनीतिमा सक्रिय हुने घोषणा गरेपछि एमालेसहित नेपालकै राजनीतिक परिदृश्यमा महत्वपूर्ण मोड आउने देखिएको छ ।

भण्डारीको पुनरागमनसँगै एमालेका कतिपय नेताहरू उनी निकट हुन र देखिन थालेका छन् भने पार्टीभित्र ध्रुवीकरणको संकेत पनि अहिलेदेखि नै देखिन थालेको छ ।

भण्डारीले आफ्ना दिवंगत पति मदन भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनद्वारा आयोजित  कार्यक्रममा संवोधन गर्दै सक्रिय राजनीतिमा आउने घोषणा गरेकी हुन् ।

भण्डारीको पुनरागमन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रमा फर्किएको घटनाको पुनरावृत्ति जस्तै भएको छ ।

पछिल्ला केही महिनायता मदन भण्डारी फाउन्डेशनमार्फत् राजनीतिक गतिविधि बढाएकी उनले गत महिना चीनको उच्चस्तरीय भ्रमणसमेत गरेकी छिन् । भण्डारीका सहयोगीहरूका अनुसार उनले चीनबाट कम्युनिष्ट एकताको सन्देश ल्याएकी छन् । यही पृष्ठभूमिमा शनिबारको कार्यक्रमलाई राजनीतिक रूपमा विशेष चासोका साथ हेरिएको हो ।

देशकै सर्वोच्च पद सम्हालिसकेकी भण्डारीको राजनीतिक पुनरागमनले एमालेभित्र अहिले हलचल मच्चिएको छ । सक्रिय राजनीतिमा आएर उनी पार्टीको नेतृत्व र सम्भवतः देशको कार्यकारी प्रमुख बन्ने योजनामा रहेकी उनी निकट नेताहरू बताउँछन् ।

हाल सत्तारूढ एमालेभित्र दुई कार्यकालको सीमा र ७० वर्ष उमेरको सीमाका विषयमा छलफल तीव्र भइरहेका बेला ६४ वर्षीया भण्डारीले सक्रिय राजनीतिमा फर्किनु अर्थपूर्ण मानिएको छ ।

२०७२ को संविधान जारी भएपछि राष्ट्रपति बनेकी भण्डारीले पार्टी सदस्यता त्यागेकी थिइन् । तर उनले आफुले पार्टी सदस्यता नवीकरण गरेको सार्वजनिक जानकारी गरिन् ।

विभाजित नेताहरू

भण्डारीको पुनरागमनले एमालेभित्र विशेषगरी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनका नजिकका सहयोगीहरूसँगै पार्टीका धेरै नेता तथा कार्यकर्ताहरू ध्रुवीकृत भएका छन् ।
वरिष्ठ नेता प्रदीप ज्ञवाली र महासचिव शंकर पोखरेल भण्डारीको सक्रियताको विपक्षमा छन् ।

भण्डारीले आफूलाई ‘एकतावद्ध नेतृ’ को रूपमा प्रस्तुत गर्दै ओलीको स्वास्थ्य अवस्था र पार्टीभित्रको गुटबन्दीलाई संकेत गरेपछि केन्द्रदेखि तल्लो तहका थुप्रै नेताहरू उनीप्रति आकर्षित हुने देखिएको छ । भण्डारीले  विभाजित वाम शक्तिहरूलाई एकत्रित गर्न सक्ने संकेत गरिपछि पनि नेता तथा कार्यकताहरू ध्रुवीकृत हुन थालेका हुन् ।

भण्डारीको पार्टी पुनरागमन कार्यक्रममा अध्यक्ष ओलीसहितका नेताहरूले  दिएको अभिव्यक्तिले पार्टी २ धारमा बगेको प्रस्ट देखिएको छ । एउटा धारको नेतृत्व ओली र अर्को धारको नेतृत्व भण्डारीले गर्ने संकेत देखिएको नेताहरू नै बताउँछन् ।

एमालेको पदाधिकारीमा १९ जना छन् र को कता लाग्छन् भन्ने चासोका साथ हेरिएको छ । कतिपय नेताहरू धुव्रीकृत भएपनि केही अझै खुलेका छैनन् ।

एक नेताले भण्डारीको पक्षमा ९ जना पदाधिकारी रहेको दाबी गरे । यस्तै ओली समूहमा ७ छन् । २ जना पदाधिकारी अहिले कसैको पक्षमा देखिएका छैनन् । पदाधिकारी पनि रहेका सचिव टोपबहादुर रायमाझी निलम्बनमा छन् । 

उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले भण्डारीलाई साथ दिने सम्भावना छ ।

एमालेमा अध्यक्ष ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काउन्टर दिइरहेका छन् । त्यसैकारण सम्भवतः उनले नै भण्डारी समूहको नेतृत्व गर्नेछन् ।

भण्डारीको पक्षमा लागेका यी ३ नेताहरू अहिले पनि ओलीका कतिपय निर्णयको विपक्षमा रहने गरेका छन् । एमालेको विधानमा भएको ७० वर्षे उमेर र २ कार्यकालको बाध्यात्मक व्यवस्थाको पक्षमा उनीहरू छन् । त्यसैले, उनीहरूको साथ ओलीभन्दा भण्डारीको पक्षमा हुने आकलन गरिएको छ । 

त्यसैगरी उपमहासचिव तथा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि भण्डारीकै पक्षमा रहने सम्भावना छ । गुरुङलाई भण्डारीकै कोटाबाट मन्त्री बनाइएको हो । 

अहिले ओलीको पक्षमा उपाध्यक्ष रामबहादुर थापा, गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल खुलेर देखिएका छन् । भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणलाई महासचिव पोखरेलले आलोचना गरेका थिए ।

नयाँ नेतृत्वको आवाज

भण्डारीले राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेसँगै उनले नेतृत्व सम्हाल्ने विश्वास कतिपयले व्यक्त गरेका छन् ।

एमालेभित्र नेतृत्व परिवर्तनको माग तीव्र बन्दै गएको छ । यद्यपि पार्टीभित्र यो आवाज पहिले पनि उठेको थियो । 

एमालेले २०–२२ साउनदेखि ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्र्दैछ । यही महाधिवेशनले पार्टीको ११औं महाधिवेशनको मिति पनि तय गर्नेछ, जसबाट नयाँ नेतृत्व चयन हुनेछ । अहिले पार्टीभित्र नयाँ नेतृत्वको आवाज पनि तीव्रताका साथ उठेको छ ।

एमालेले उमेर सीमा र २ कार्यकालको विषय विधान महाधिवेशनमार्फत टुंग्याउने निर्णय गरेको छ । यदि यो विषय लागू भयो भने अध्यक्ष ओलीसहित उपाध्यक्षहरू ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापा जस्ता ७० वर्ष नाघेका नेताहरू स्वतः बाहिरिनेछन् ।

सरकारी सुविधा फिर्ता गर्ने 

भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाएको सरकारी सेवा सुविधा फिर्ता गर्ने तयारी गरेकी छन् । सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरेसँगै उनले राज्यले उपलब्ध गराउँदै आएको सेवा सुविधा फिर्ता गर्न लागेकी हुन् ।

सक्रिय राजनीतिमा लागेर पूर्वराष्ट्रपतिको हैसियतले राज्यले दिएको सुविधा लिँदा प्रश्न उठ्ने भएपछि उनले सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र लेख्ने तयारी गरेकी हुन् ।

भण्डारीलाई उपलब्ध गराइदै आएको अन्य सेवा सुविधा फिर्ता भए पनि सुरक्षा प्रोटोकल भने नहटाइने बताइएको छ । पूर्वराष्ट्रपतिलाई सरकारले स्वकीय सचिव, सुरक्षाकर्मी, गाडी, इन्धन, घरभाडा, कार्यालय सहयोगीलगायतका सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।

ADV

सम्बन्धित खबर

Advertise