२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

सत्ताबाट बाहिरिँदै प्रचण्ड, ९ वर्षपछि सहकार्यमा कांग्रेस र एमाले

Nada
दिवाकर अधिकारी
२०८१ असार २८ गते ०६:३५
Shares
सत्ताबाट बाहिरिँदै प्रचण्ड, ९ वर्षपछि सहकार्यमा कांग्रेस र एमाले

काठमाडौं : १० पुस २०७९ मा प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डले पाचौं पटक विश्वासको मत लिँदैछन् । पछिल्लो समय नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार बनाउने सहितको समझदारी गरेपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

ncell

असार १७ गते मध्यराती कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सत्ता समीकरण बनाउने र आलोपालो प्रधानमन्त्री हुने समझदारी भएको थियो । यो समझदारी भएलगत्तै दुवै दलले प्रचण्डको राजीनामा मागेका थिए । प्रचण्डले राजीनामा नदिएपछि एमालेले असार १९ गते सरकारलाई दिएको समर्थन फिर्ता लियो । त्यसपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा आफूले प्रतिनिधिसभा बैठकमा शुक्रबार विश्वासको मत लिने औपचारिक रुपमा जानकारी दिए ।

माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुलाई उनले शुक्रबार संसद्मा संवैधानिक प्रावधान अनुसार ‘फ्लोर टेस्ट’ गर्न लागेको उल्लेख गर्दै हालसम्म सरकारमा रहेका दलहरुले एकजुट हुनुपर्ने बताए ।

‘संसद्मा जे परिणाम आए पनि सामना गरिन्छ’ मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले भने । ‘भोलि शुक्रबार मैले संसद्मा विश्वासको मत लिने कार्यक्रम छ । सरकारमा भएका दलहरु एकजुट भएर सामना गर्नुपर्ने हुन्छ,’ दाहालको भनाइ उद्धृत गर्दै सरकार प्रवक्ता रेखा शर्माले भनिन्, ‘संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीज्यूले विश्वासको मत लिन खोज्नु भएको हो ।’

प्रधानमन्त्री प्रचण्डले संसद्बाट आउने परिणामका आधारमा अघि बढ्ने बताए । ‘प्रतिनिधिसभाबाट विश्वासको मत लिने बेला जे परिणाम आउँछ, त्यसलाई सामना गरेर अघि जाने कुरा हुन्छ,’ प्रचण्डले भनेका छन् ।

प्रचण्डले विश्वासको मत लिन लिनुको पछाडि सरकारमा निर्माणमा संविधानको धारा ७६ को उपधारा ३ मा लग्ने दाउ रहेको कांग्रेस एमालेका नेताहरुले आरोप छ । 

प्रधानमन्त्री प्रचण्डले बिहीबार माओवादी संसदीय दलका बैठकमा धारा ७६ को उपधारा २ कि ३ मा जाने भन्ने विषय राष्ट्रपति रामचन्द्र पौडेलको विवेकमा भर पर्ने बताएका थिए । धारा ७६ को उपधारा ३ मा ठूलो दलको हैसियतले सरकारको दावी गर्ने प्रावधान छ ।

२०७९ को आम निर्वाचनपछि तीन गठबन्धनको प्रधानमन्त्री भएका दाहालले डेढ वर्ष सरकारको नेतृत्व गर्ने मौका पाए । 

निर्वाचन परिणाम आएपछि चुनावमा कांग्रेससँग गठबन्धन त्यसपछि एमाले, राष्ट्रपति कसलाई बनाउने सम्बन्धमा कुरा नमिलेपछि फेरि कांग्रेस, सरकार संचालनमा कांग्रेससँग विवाद भएपछि गत फागुनमा एमालेसँग सत्ता समीकरण बनाएका थिए । असार १७ मा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेपछि प्रचण्ड सरकार अल्पमतमा परेको हो ।

ताजा खबर

सम्बन्धित खबर