२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग

Nada
२०८२ जेठ २६ गते १६:४८
Shares
राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग

काठमाडौं : गैरआवासीय नेपालीहरूले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग गरेका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरूले गैरआवासीय नेपालीलाई राज्यले प्रदान गरेको नागरिकतालाई नेपालकै निकायहरूले मान्यता नदिएकाले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग गरेका हुन् । गैरआवासीय नेपालीहरूलाई अहिले गैर आवासीय नागरिकता प्रदान हुँदै आएको छ । तर अंशबण्डा लगायतमा गैर आवासीय नागरिकतालाई मान्यता नदिएको उनीहरूको गुनासो छ ।

ncell

छलफलका क्रममा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाली नागरिकसरहको अधिकार हुनेगरी नागरिकता प्रदान गर्नुपर्नेमा जोड दिए । उनले सांसद हुन चाहने व्यक्ति नेपालको नागरिकमात्रै हुनुपर्नेमा आफूहरू स्पष्ट रहेको भन्दै अन्य अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता दिने व्यवस्था कानुनमा गर्नुपर्ने उल्लेख गरे ।

त्यस्तै गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष रविना थापाले मालपोतले समेत नचिन्ने गैर आवासीय नागरिकताले समस्या उत्पन्न भएकाले वंशको आधारमा नागरिकता लिएका नेपाली नागरिकतालाई निरन्तरता दिनुपर्ने सुझाव दिए ।

त्यस्तै ब्रिटिस गोर्खा सैनिकहरूले पनि नागरिकतामा विभेद भएकाले अब कानुन बनाउँदा त्यसमा ध्यान दिनुपर्ने उल्लेख गरे । समिति सभापति रामहरि खतिवडाले गैरआवासीय नेपालीका लागि प्रदान गरिने नागरिकताका सम्बन्धमा सरकारले स्पष्ट धारणा ल्याउने र त्यसलाई विधेयकमा समावेश गरिने प्रतिवद्धता जनाए ।
 
 

ताजा खबर

सम्बन्धित खबर