२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

जापान भ्रमण उपलब्धिमूलक रह्यो : परराष्ट्रमन्त्री

Nada
२०८२ जेठ ११ गते ०८:३८
Shares
जापान भ्रमण उपलब्धिमूलक रह्यो : परराष्ट्रमन्त्री

काठमाडौँ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफूले हालै सम्पन्न गरेको पाँच दिने जापान भ्रमण उपलब्धिमूलक रहेको बताएकी छन् ।

ncell

जापान भ्रमण पूरा गरी गए राति स्वदेश फर्किएपछि उनले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्त्वपूर्ण भेटवार्ता भएका तथा नेपाल– जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको जानकारी दिइन् । उक्त भेटवार्ताहरू मुलुकका लागि उपलब्धिमूलक रहेको जानकारी दिएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री डा. राणाले भनिन्, “यस भ्रमणका क्रममा नेपाल जापान सम्बन्धका विविध विषयका साथै नेपालमा जापानको सहयोग र परियोजनाका बारेमा कुराकानी भयो । त्यस्तै सम्मेलनमा ज्येष्ठ नागरिकहरूका सम्बन्धमा अन्य देशहरूले अपनाएका नीति, त्यहाँका अवस्था तथा व्यवस्थाका बारेमा पनि जान्ने मौका मिल्यो ।”

परराष्ट्रमन्त्री डा. राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच यही जेठ ८ गते टोकियोमा द्विपक्षीय भेटवार्ता भएको थियो । त्यस भेटका अवसरमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध, आपसीहित र साझा चासोका विविध विषयमा कुराकानी भएको उनले जानकारी दिइन्।

त्यसैगरी मन्त्री डा. राणाले यही जेठ ९ गते जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष डा. तानाका अकिहिकोसँग पनि भेटवार्ता गरेकी थिइन् । सो भेटमा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिकलगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत जापान सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै जाइकाको सहयोगमा नेपालमा सञ्चालित र सम्पन्न परियोजनाका बारेमा कुराकानी गरेकी थिइन्।

यसअघि उनीसँग जापानका उपविदेशमन्त्री इकुइना अकिकोले पनि शिष्टाचार भेटवार्ता गरेकी थिइन् । गत हप्ता नेपालमा आयोजित सगरमाथा संवादमा सहभागी भएकी उपविदेशमन्त्री अकिकोलाई मन्त्री डा. राणाले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

जापानमा रहँदा मन्त्री डा. राणा टोकियोमा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन पनि गरेकी थिइन् । जापानको भ्रमण पूरा गरी गए राति स्वदेश फर्कनुभएकी मन्त्री डा राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहित अधिकारीहरूले स्वागत गरेका थिए । उनी गत सोमबार जापान गएकी थिइन् ।

ताजा खबर

सम्बन्धित खबर