२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

दूध उत्पादनमा नमुना बन्दै तनहुँको ‘बेल वास गाउँ’

Nada
२०८२ जेठ १० गते १५:०१
Shares
दूध उत्पादनमा नमुना बन्दै तनहुँको ‘बेल वास गाउँ’

तनहुँ : जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेल बास क्षेत्रका बासिन्दा दूध उत्पादन सबल बन्दै गएका छन् । यहाँका अधिकांश व्यक्ति पशुपालन र कृषिमा लागेका छन् । जसले गर्दा यस क्षेत्र नमुना बन्नुका साथै मुहारमा परिवर्तन आएको छ । 

ncell

आफूले दूध उत्पादन गर्नुका साथै पशुपालन गर्न चाहने किसानलाई उत्प्रेरण जगाउने कार्य गर्दै आएका छन् । यस क्षेत्रका पशुपालन कृषकले अन्य व्यक्तिका लागि पनि परिश्रम गर्न सकिए केही हुदोरहेछ भन्ने गतिलो सन्देश दिएका छन् । दूध बिक्रीबाट आएको पैसाले लेनदेन  व्यवहारका साथै दैनिक घर खर्च चलाउनमा सजिलो भएको पशुपालक किसान बताउँछन् । 

कृषकको खरिद मूल्यअनुरूप अहिले दैनिक रु एक लाख तीस हजार मूल्यको दूध संकलन हुने गरेको संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीले जानकारी दिए । उनले भने, “थोरैमा मासिक रु १५ हजारदेखि दुई लाखसम्म कमाउने दूध व्यवसायी रहेका छन् ।” एउटै गाउँबाट दैनिक एक हजार छ सय लिटर दूध बिक्री हुँदै आएको छ । उत्पादित दूध बेल बास दुग्ध उत्पादक सहकारी संस्थामार्फत दमौली र पोखरामा बिक्री हुने गरेको छ । 

संस्थामा आबद्ध १०० जना शेयर सदस्यमध्ये ६५ जना कृषकले पशुपालनबाट दुग्ध उत्पादन गरी बिक्री गर्दै आएको संस्थाका व्यवस्थापक साँखीले बताए । यहाँ उत्पादित दूधमध्ये दमौलीमा रहेका दुई डिपोबाट ६०० लिटर र बाँकी एक हजार लिटर दूध सुजल डेरी पोखरामा पठाइने गरिएको छ । 

पोखरा नपठाई स्थानीय बजारमा नै खपत गर्न सकिए यहाँका कृषकले अझ बढी फाइदा लिन सक्ने उनी बताउछन् । दूधका साथै दही, पनिर, नौनी र घ्यू पनि बिक्री गर्ने गरिएको छ । आठ जना कर्मचारीले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । यस क्षेत्रका अधिकांश मानिसहरू पशुपालन गरी आत्मनिर्भर बन्न सफल भएका छन् । 

सोही वडा निवासी लेखनाथ बास्तोला विगत चार वर्षदेखि व्यावसायिक गाई पाल्दै आएका छन् । गाडी व्यवसायी समेत रहेका बास्तोलाले गाडी व्यवसाय छाडेर पुनः गाउँ फर्किएर पशुपालन पेसामा लागेका हुन् । 

उनका फार्ममा अहिले २२ वटा गाई छन् । जसमध्ये १५ वटा लैना गाईबाट दैनिक २०० बढी लिटर दूध बिक्री गर्दै आएका छन् । “सुरुमा रु एक करोडको लगानी भएको छ”, उनले भने, “मासिक चार लाखको दूध बिक्री गर्छु, सबै खर्च कटाएर मासिक रु दुई लाख कमाउँदै आएको छु ।”

त्यसैगरी १३ वर्ष वैदेशिक रोजगारीमा बसेर स्वदेश फर्किएर पशुपालनमा लागेका अर्का दुग्ध व्यवसायी मेघनाथ आचार्यले नौ वटा गाईबाट दैनिक ४० लिटर दूध बिक्री गर्दै आएका छन्। खर्च कटाएर मासिक रूपमा राम्रै आम्दानी हुने गरेको कृषक आचार्य बताउछन् । “आफ्नो चार रोपनी र भाडामा १२ रोपनी जग्गा लिएर घाँसखेती गरेको छु”, उनले भने, “सुरुमा रु १० लाख लगानी गरी थालिएको व्यवसायबाट परिवार सबै सन्तुष्ट छौँ ।” 

व्यावसायिक पशुपालन कृषकलाई राज्यले प्रोत्साहन गर्न दाना, चोकरको महँगी नियन्त्रण र उत्पादनका आधारमा अनुदानलाई प्राथमिकता दिन सके अझै प्रभावकारी हुन सक्ने संस्थाका अध्यक्ष केशवबहादुर रानाले बताए। 

गाउँ नजिकै दुग्ध संकलन केन्द्र रहेकाले कृषकले दैनिक बिहान र बेलुका उत्पादन गरेका दूध बिक्री गर्न समेत सहज भएको छ । नगरपालिकाले उत्पादनका आधारमा कृषकलाई प्रति लिटर दूधमा रु एक अनुदान प्रदान गर्दै आएकोमा वृद्धि गर्ने योजना रहेको वडाध्यक्ष वसन्तबहादुर आलेले बताए। यस क्षेत्रका अधिकांश मानिस पशुपालन र कृषि पेसामा व्यस्त हुने गरेका छन् । उनले भने ।

ताजा खबर

सम्बन्धित खबर