२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

भारत र पाकिस्तान तनाव : जोखिममा नेपाली

shivam cement
निमिष झा
२०८२ वैशाख २७ गते ०६:४५
भारत र पाकिस्तान तनाव : जोखिममा नेपाली

काठमाडौं : भारतको कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतंककारी आक्रमणपछि चुलिएको भारत र पाकिस्तानको युद्धमा नेपाली पनि जोखिममा परेका छन् ।

युद्धग्रस्त भारत र पाकिस्तानमा थुप्रै नेपाली रोजगारी, अध्ययन र अन्य कामको क्रममा छन् । दुवै देश युद्धमा होमिएपछि त्यहाँ रहेका नेपालीहरू जोखिममा परेका हुन् ।

युद्धग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका लागि सरकारले विशेष तयारी गरेको जनाएको छ । नेपाली नागरिकलाई युद्धग्रस्त क्षेत्रमा नजान सरकारले एडभाइजरी जारी गर्ने तयारी पनि गरेको छ । युद्धका बेला हुन सक्ने खतराका सबै सम्भावनालाई ध्यानमा राखेर सरकारले सुरक्षा तयारी गरेको गृह मन्त्रालयले जनाएको छ ।

पछिल्लो तथ्यांकअनुसार भारतमा ८ देखि १० लाखको संख्यामा नेपाली बस्छन् । तीमध्ये अधिकांश अध्ययन, कृषि, उद्योग, व्यापार आदि क्षेत्रमा रोजगारीमा छन् । भारतमा सुरक्षा गार्डको काम गर्ने नेपालीहरू पनि प्रशस्त छन् ।

यस्तै, पाकिस्तानमा नगण्य नेपालीहरू बसिरहेका छन् । इस्लामावादस्थित नेपाली दूतावासकी तृतीय सचिव वृन्दा सुवेदी खड्काका अनुसार पाकिस्तानमा २०० को हाराहारीमा नेपालीहरू छन् । तीमध्ये अधिकांश विद्यार्थी हुन् । नेपाली विद्यार्थीहरू चिकित्साशास्त्र र इन्जिनियरिङ अध्ययन गर्न पाकिस्तान जाने गरेका छन् ।

वैदेशिक अध्ययनका लागि विभिन्न देश जानुअघि नेपाली विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिने कुरा अनिवार्य गरेको छ ।

शिक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न २४ शिक्षण संस्थाका लागि नेपाली विद्यार्थीलाई एनओसी जारी गरेको छ ।

तर, अनौपचारिक तवरले जानेको हकमा केही भन्न नसकिने शिक्षा मन्त्रालयका पदाधिकारीहरू बताउँछन् ।

भारत, पाकिस्तानलगायतका कतिपय देशमा विद्यार्थीहरू अनौपचारिक तवरले अध्ययन गर्न जाँदा एनओसी लिने गर्दैनन् । त्यसैले, सरकारसँग यकिन तथ्यांक छैन ।

भारत र पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षाको विषय नेपालको संसद्मा उठेको छ । विभिन्न दलका सांसद्हरूले भारत र पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षा चासोको विषय उठाएका छन् ।

सांसद्हरूको चासोमा सभामुख देवराज घिमिरेले समर्थन जनाएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख घिमिरेले भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बसोबास गर्ने नेपालीको सुरक्षालगायत पर्न सक्ने सम्भावित समस्याप्रति सचेत भई आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा सांसदहरूले भारत र पाकिस्तानबीचको तनावबाट नेपालमा पर्न सक्ने सम्भावित प्रभावबारे सरकार सचेत हुनुपर्नेमा जोड दिँदै आवश्यक तयारी थाल्न सुझाव पनि दिए ।

प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरूले भारत र पाकिस्तानको तनावमा परेका नेपालीहरूको सुरक्षा चासोको विषय उठाएका थिए ।

सांसद शेरबहादुर कुँवरले भारत र पाकिस्तानबीचको तनावले भारतमा विभिन्न पेसा व्यवसायमा रहेका लाखौं नेपाली नागरिकको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । सांसद शिशिर खनालले भारत र पाकिस्ताबीचको तनावका कारण नेपाल र नेपालीलाई पर्न सक्ने प्रभावबारे सजगता अपनाउन तथा पाकिस्तानमा अध्ययनरत विद्यार्थीको उद्धार गर्न सरकारसँग माग गरे ।

यस्तै, सांसद सरस्वती सुब्बाले भारत र पाकिस्तानबीचको तनावले दक्षिण एसियाली मुलुकलाई असर गरिरहेको उल्लेख गर्दै त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने भएकाले सरकारको ध्यानाकर्षण गराइन् ।  

नेपालीलाई सम्पर्क राख्न आग्रह

२ देशबीच तनाव बढ्दै जाँदा परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीहरूलाई इस्लामावादस्थित नेपाली दूतावासमा समन्वय गर्न आग्रह गरेको छ ।

शुक्रबार विज्ञप्ति निकाल्दै मन्त्रालयले समस्यामा परेका विद्यार्थीहरूलाई इस्लामावादस्थित नेपाली दूतावासमा समन्वय गर्न आग्रह गरेको हो ।

मन्त्रालयले हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत रहेको जनाएको छ ।

इस्लामावादस्थित दूतावासकी तृतीय सचिव खड्काले नेपालीहरू त्रसित रहका बताइन् । ‘नेपाली विद्यार्थीहरू मानसिक रूपमा त्रस्त छन् । उनीहरूलाई दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ’, उनले भनिन् ।

यस्तै, नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरूलाई भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ । शुक्रबार सूचना जारी गर्दै दूतावासले विकसित घटनाक्रमहरूलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन भारत सरकारले जारी गरेका निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ ।

साथै, कुनै आपत्कालीन अवस्था आएमा नयाँ दिल्लीस्थित दूतावास र नेपाली महावाणिज्य दूतावास कोलकत्तामा आवश्यक समन्वय र सहजीकरणका लागि सम्पर्क गर्नसमेत सूचनामा आग्रह गरिएको छ ।

४ वटै सुरक्षा निकाय ‘हाई अलर्ट’मा

भारत–पाकिस्तानबीच तनाव बढेपछि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बल एसएसबीसँग संयुक्त गस्ती परिचालन गरिएको छ । सशस्त्रको सुरक्षा गस्तीले विभिन्न स्थानमा चेकप्वाइन्ट राखेर नेपाल–भारत आवतजावत गर्नेहरूमाथि निगरानी बढाएको छ ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार नेपाल–भारत सीमानाकामा सशस्त्रका २४५ वटा बोर्डर आउट पोस्ट (बीओपी)मार्फत नै सीमानाकामा चौबीसै घण्टा निगरानी गरिरहेको छ ।

भारत–पाकिस्तान तनावका कारण नेपालमा हुन सक्ने सुरक्षा खतरालाई ध्यानमा राख्दै सीमामा हुन सक्ने गतिविधिमा निगरानी बढाइएको हो । 

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुन सक्ने अवैध गतिविधिलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नेपाली सेना तथा स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग समन्वय गरिएको छ ।

नेपाल–भारत सीमा प्रयोग गरेर विभिन्न गतिविधि हुन सक्ने शंका गर्दै नेपालका ४ वटै सुरक्षा निकाय हाई अलर्टमा छन् । 

यस्तै, नेपालमा भइरहेका विभिन्न गतिविधिमाथि सेनाले निगरानी बढाएको छ । भारत–पाकिस्तान विवादपछि हुन सक्ने सुरक्षा खतराका विषयमा सूक्ष्म निगरानी गरिरहेको र देशलाई आवश्यक पर्दा परिचालन हुन सक्नेगरी तयारी अवस्थामा रहेको नेपाली सेनाले जनाएको छ ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सुरक्षा परिषद्को बैठक बोलाएर भारत–पाकिस्तानबीच बढिरहेको तनाव र त्यसले नेपालमा सिर्जना गर्ने सम्भावित चुनौतीका विषयमा छलफल गरेका थिए । 

सुरक्षा प्रमुखसँग छलफल

भारत र पाकिस्तानबीच द्वन्द्व बढिरहेका बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रदेशस्तरीय प्रमुखसँग छलफल गरेका छन् । सुरक्षा निकायले अपनाइरहेको सतर्कताबारे मुख्यमन्त्री शाहले छलफल गरेका हुन् ।  

छलफलमा सीमा सुरक्षामा सतर्कताबारे मुख्य छलफल भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । यसबाहेक लागुऔषध नियन्त्रण र सीमा क्षेत्रमा सहज आवागमनका विषयमा छलफल भएको छ ।

के छन् सुरक्षा खतरा ? 

भारत–पाकिस्तान तनावले ती देशका नागरिकहरू नेपाल प्रवेश गर्ने खतरा रहेको सुरक्षा निकायको निष्कर्ष छ । गृह मन्त्रालयका अनुसार युद्धका बेला पीडितहरू अन्य देशमा शरण माग्न जाने प्रचलन छ । यस्ता समूहहरू लुकीछिपी नेपाल प्रवेश गर्न सक्ने सम्भावना छ । पाकिस्तानी रोहिंग्याहरू नेपाल छिर्ने बढी खतरा रहेको सुरक्षा निकायको निष्कर्ष छ ।

विस्थापित समूहले नेपालको भूमि प्रयोग गरेर आपराधिक गतिविधि बढाउन सक्ने खतरा पनि छ । यसका लागि सरकारले सीमामा संयुक्त गस्ती बढाउने, विशेष निगरानी गर्ने र सबै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखेको छ ।

‘नेपाल–भारत सीमामा नजानू’

नेपालस्थित चिनियाँ दूतावासले नेपाल–भारत सीमा क्षेत्रमा नजान आफ्ना नागरिकलाई आग्रह गरेको छ । पर्साको वीरगन्ज नाका हुँदै रक्सौल छिरेका ४ चिनियाँ नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि चिनियाँ दूतावासले एडभाइजरी जारी गरेको हो । एडभाइजरीमा नेपाल–भारत सीमा क्षेत्रमा नजान दूतावासले आफ्ना नागरिकलाई सचेत गराएको हो ।

सीमा क्षेत्रमा गएर अनावश्यक तस्बिर नखिच्न पनि दूतावासले आग्रह गरेको छ । 

नेपाली र भारतीय नागरिकहरू खुल्ला सीमाका कारण बिनाभिसा एकअर्काको मुलुकमा सहजै आवातजावत गर्न सक्ने तर चीनलगायत तेस्रो मुलुकका नागरिकहरूलाई त्यो सुविधा नभएको समेत चिनियाँ दूतावासले भनेको छ । 

भारतले दियो प्रधानमन्त्रीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटमा उनीहरूबीच पहलगाम घटना र अहिले जारी भारत–पाकिस्तानको तनावका विषयमा छलफल भएको हो ।

राजदूत श्रीवास्तवले आतंकवादविरुद्ध भारत सरकारले चालेको कदमका विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । उनले आक्रमण भएको ठाउँमा भारतले जबाफी कारबाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरेका थिए ।

राजदूत श्रीवास्तवले घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तव्यप्रति धन्यवाद दिएका थिए । 

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर आतंकवादविरुद्ध नेपालले भारतप्रति बलियो समर्थन जनाएको थियो ।

प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडानअनुरूप उक्त आतंकवादी हमलाको भत्र्सना गरेको बताए । उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेका थिए । 

कांग्रेस भारतको साथमा

सत्तारूढ दल नेपाली कांग्रेसले कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको जनाएको छ । शुक्रबार बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस आतंकवादको खिलाफमा रहेको बताए ।

उनले पाकिस्तान र भारतबीच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा कांग्रेस रहेको बताए । आतंकवादको खिलाफमा हुने कारबाहीलाई बैठकले जायज ठहर गरेको पनि उनले बताए ।

महतले भने, ‘यो फुलस्केल युद्धको रूपमा परिणत नहोस्, शान्ति चाँडै बहाल होस् भन्ने हामी चाहन्छौं । हामी आतंकवादको खिलाफमा छौं र आतंकवादलाई निरुत्साहित गर्नेतर्फ हामी सधैं साथमा छौं ।’

हवाई भाडा बढ्ने

भारत र पाकिस्तानबीच उत्पन्न तनावले नेपाल भित्रिने हवाई जहाजको रुट लम्बिएको छ भने भाडा बढ्न सक्ने भएको छ ।

भारत–पाकिस्तान युद्धका कारण पाकिस्तानी आकाश हुँदै आएर नेपाल भित्रिने हवाईजहाजको रुट लम्बिएको हो ।

मध्यपूर्वअन्तर्गत नेपालबाट कतार, कुवेत, यूएई, साउदी अरेबिया, ओमान, टर्कीलगायत देशबाट नेपालमा उडान हुने गरेको छ । ती देशबाट आउँदा अफगानिस्तान र पाकिस्तानको आकाश हुँदै भारत प्रवेश गरेर आउने गर्छ । तर, युद्धका कारण ती रुटहरू बन्द गरिएको छ, जसका कारण हवाइ रुट लम्बिएको छ ।

नेपाल एसोसिएसन फर ट्राभल्स एन्ड टुर्स एजेन्ट्स (नाट्टा)ले भारत–पाकिस्तानबीच तनाव सुरु भएको हुँदा हवाई भाडा बढ्न सक्ने जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise