२०८२ वैशाख २७ गते शनिवार / May 10 , 2025 , Saturday
२०८२ वैशाख २७ गते शनिवार
Ads

रारा, पर्यटन र प्राकृतिक सौन्दर्य

२०८२ वैशाख २७ गते ०६:१५
रारा, पर्यटन र प्राकृतिक सौन्दर्य

-के. बी. मसाल 

पर्यटनका लागि मुगु भन्नासाथ धेरैले राराको सस्मरण गर्छन् । तर, मुगु पुगिसकेपछि घुम्नै पर्ने स्थान धेरै छन् । मुगुमा नेपालको सबैभन्दा ठूलो ताल रारा धेरै पुगेका छन् भने नपुग्नेले पनि सुनेका छन् ।

तर, मुगुमा विश्वका चारधाममध्येको जेठो धाम छायानाथ धाम, १ रुपैयाँको नोटमा राखिएको चंखेली हिमाल, काञ्जिरोवा हिमाल, चावाचुली हिमाल, कर्णालीको कुल देवताको जेठो भाइ थार्प मष्टा, खेस्ममालिका, ऋणमोक्ष, कालीकामालिका मन्दिर, अपर मुगु, सोरु तातोपानीलगायत पर्यटनका लागि पुग्नुपर्ने ठाउँहरू छन् ।

कर्णाली आफैंमा सांस्कृतिक तथा जैविक विविधता भएको क्षेत्र हो । कच्ची भए पनि सडकको विकास र प्रचारप्रसारको व्यापकतासँगै पछिल्लो समय नेपालीमा घुम्ने संस्कृतिको विकास भएको छ, जसका कारण अहिले हिमाली क्षेत्रमा रहेका ताल तलैया र प्राकृतिक सम्पदामा पनि आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन् ।

मुगु जिल्लाको रारा ताल प्राकृतिक सुन्दरताले सजिएको एक मनमोहक नेपालकै सबैभन्दा ठूलो ताल हो । घुम्न जाने पर्यटकहरूका लागि रारा ताल रोजाइमा पर्छ । रारा समुद्र सतहदेखि १० हजार फिटको उचाइमा पर्छ । रारा ताल १० दशमलव ८ वर्गकिलोमिटरमा फैलिएको छ ।

रारा स्वच्छ पानीमा नीलो आकाशको छायाका कारण गाढा नीलो देखिन्छ । राराले दिनमा निकैचोटि रङ फेर्छ । कहिले नीलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो रङले पर्यटकहरूलाई आकर्षण गर्छ ।

मौसमअनुसार दिनमै ४–५ चोटि फेरिने राराको पानीको रङमा मिसिन आइपुग्छ सिन्जे र काञ्जिरोवा हिमालको छाया । यसले रारा साँच्चिकै धर्तीको स्वर्गको अप्सरा जस्तै देखिन्छ । पहिलोचोटि रारा ताल घुम्न जाने पर्यटकहरूले रारालाई देख्दा यस्तै अनुभव गर्छन् । 

मुगुको सदरमुकाम गमगढीदेखि पश्चिमपट्टि रहेको रारा तालको लम्बाइ ५ किलोमिटर र चौडाइ ३ दशमलव २ किलोमिटर छ । राराको गहिराइ १६७ मिटर छ । रारामा बोटमा घुम्दाको मज्जा छुट्टै हुन्छ । चंखेली हिमाललाई पृष्ठभूमिमा राखेर तस्बिर खिच्नुको आनन्द नै बेग्लै ।

पहिले रारा विशेषगरी सडक पूर्वाधारको अभावका कारण खासै चर्चामा आउन सकेको थिएन । रारा ताल स्वच्छ पानीमा नीलो आकाशको छायाका कारण गाढा नीलो देखिन्छ । तालको वरिपरि घुम्नका लागि ट्रेकिङ रुट छ । सफा पानीमा स्नो ट्राउट माछा तथा हाँस, जलेवा जस्ता चराहरू डुबुल्की मारेको दृश्यले राराको वातावरण नै भिन्न देखिन्छ ।

दिनभर आफ्नो रूप फेरिरहने राराताल जेठदेखि असोज महिनासम्म विभिन्न फूलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ । रारा तालको अर्को विशेषता के छ भने, यस तालमा विश्वमा अन्यत्र कहीँ पनि नपाइने असला जातको हिमाली माछा पाइन्छ ।

रारालाई प्रकृतिको अनुपम उपहार, स्वर्गको टुक्रा, कर्णालीकी रानी, देशकै वैभव जस्ता शब्दले राराको सौन्दर्यलाई उपमा भन्ने गरेको पाइन्छ । रारा तालको दक्षिणतर्फ चुचेमारा टाकुरा, उत्तरतर्फ रुम काँध र मालिका काँध, उत्तर–पश्चिममा मुर्माटप डाँडा जस्ता चुचुरा पर्छन् ।

रारा तालबाट करिब ३ घण्टाको पैदल यात्रामा मुर्माटपमा पुग्न सकिन्छ । रारा जाँदा मुर्माटपमा पुगेन भने राराको सुन्दरता अवलोकन गर्न सकिन्नँ । मुर्माटपबाट रारा तालको मनमोहक दृश्यका साथै सैपाल हिमशृंखलाको मनोरम दृश्य अवलोकन गर्नसमेत सकिन्छ । 

अर्कातर्फ रारा तालमा सिस्ने हिमाल र काञ्जिरोवा हिमालको मनोरम दृश्य देखिन्छ । रारा क्षेत्रमा पुगेपछि पाइने प्राकृतिक आनन्द, चिसो हावा, वरिपरि जंगलले घेरिएको रारा साँच्चै मनमोहक छ । नजिकबाट हेर्दा पोखरी, अलि परबाट हेर्दा ताल र अलि माथि डाँडाबाट हेर्दा रारा कुण्ड अर्थात् कचौराको आकारमा देखिन्छ ।

रारा नजिकै मचानमा बसेर राराको पानीलाई एकनासले नियाल्ने हो भने मचान आफैं चलायमान भएको जस्तो अनुभूति दिलाउँछ । रारामा नै एकोहोरो हेरिरहने हो भने पानीको बहावका कारण आफैं डुंगामा बसेर यात्रा गरेको जस्तै अनुभूति हुन्छ ।

रारा पुगेपछि सुरुमा पर्यटकहरू मोबाइल तथा क्यामेरा बन्द नै गर्दैनन् । जति फोटो लिए पनि पर्यटकहरू थाक्दैनन् । यात्राको थकान बिर्सिएर रारासँग रमाउँदा रारा साँच्चै धर्तीकै स्वर्ग मानिन्छ । हिमालय क्षेत्रमा रहेका तालमध्ये सबैभन्दा सुन्दर रारा ताल मानिन्छ । सौन्दर्यका हिसाबले रारामा विविधता देखिन्छ । 

रारा तालको पानीको निकास निजार खोला हुँदै मुगु कर्णालीमा मिसिन्छ । रारामा विभिन्न पर्यटकीय विशेषता छन् । बिहान सूर्य उदाउँदा ऐनाझैं टलटल टल्किनु, मध्यान्हमा मन्द मुस्कानसँगै हावामा कावा खेल्नु, आकाशमा बादल लाग्दा रूप परिवर्तन हुनु राराको विशेषता हो । अनुपम प्राकृतिक सौन्दर्यको खानी रारा पुगेर मन्त्रमुग्ध नहुने पर्यटकहरू कोही हुँदैनन् ।

यति बेला अर्थात् वैशाख–जेठमा रारा ताल अवलोकन गर्न जाने पर्यटकहरूको भीड नै हुने गरेको छ । रारा ताल बाहिरबाट हेर्दा जत्रो देखिन्छ, त्योभन्दा धेरै ठूलो आकारमा जमिनमुनि फैलिएको अनुमान छ ।

रारालाई प्रायः सबै पर्यटकले स्विट्जरल्यान्डको सुन्दरतासँग दाँज्ने प्रचलन रहेछ । आजभन्दा ५५ वर्ष अगाडिसम्म रारा तालमा पर्यटकहरू अहिलेको जसरी पुग्ने थिएनन् । त्यस बेला रारा ताल वरपर रारा थाप्रु गाउँ थियो । २० चैत २०२० मा तत्कालिन राजा महेन्द्र रारा पुगेका थिए । घोडा चढेर विकट मुगुको रारा पुग्नु पछाडि महेन्द्रको खास उद्देश्य थियो– रारा वरपरको जंगलमा बँदेलको सिकार गर्नु ।

तर, जब रारा तालको किनारमा महेन्द्रले घोडा रोके, घोडाबाट झरेर धुपीको रूखमुनि सुस्ताए र राराको नीलो पानीमा एक टक हेरिरहे, तब उल्टै राराले सिकार खेल्यो महेन्द्रको मनमा । 
महेन्द्रले राराको नाममा कविता कोरे, आँफ्नै नामलाई पनि घोलिदिए राराको कन्चन जलमा । महेन्द्रको बँदेल सिकार गर्ने योजना पूर्ण रूपमा असफल भयो । राजा महेन्द्र राराबाट धेरै कुरा लिएर फर्किए । 

२०३४/०३५ सालमा यस क्षेत्रमा रारा तालको छेउमा १६५ घर भएका रारा गाउँ र छाप्रु गाउँ थिए । तिनीहरूलाई बाँके र बर्दियामा जग्गा प्रदान गरेर स्थानान्तरण गरिएको थियो । रारा ताल छेउका बासिन्दालाई अन्यत्र स्थानान्तरण गर्नुको उद्देश्य ताल फोहोर नहोस् र अतिक्रमणको चपेटामा नपरोस् भन्ने थियो ।

ती बासिन्दाले खेती लगाउने घरबारी अहिले जंगलमा परिणत भएको छ । त्यसपछि रारालाई पर्यटककीय स्थलको रूपमा विकास गर्न रारा राष्ट्रिय निकुञ्ज घोषणा भयो । रारा राष्ट्रिय निकुञ्जले मुगु जिल्लामा रारा ताल र वरिपरिको क्षेत्र ओगटेको छ । रारा निकुञ्ज २०३३ सालमा स्थापना गरिएको हो । 

हिउँदमा तालको किनारा हिउँले सेताम्मे देखिन्छ भने साउनदेखि असोजसम्म विभिन्न जातका रंगीचंगी लेकाली फूल र वनस्पतिले बुट्टेदार गलैंचा बिछ्याएजस्तो देख्न पाइन्छ । चैतको अन्तिम सातादेखि जेठको मध्यसम्म लालीगुराँस तथा चिमालोका रातो र सेतो फूलले रारा पुग्ने पर्यटकहरूलाई नौलो अनुभूति हुन्छ ।

ताल किनाराको जंगलमा कालिज, डाँफे, ढुकुरलगायतका थुप्रै लेकाली चरा एवं पानीहाँसले थपेको राराको सुन्दरतामा पर्यटकहरू लोभिन्छन् । राराको जंगलमा पाइने वन्यजन्तुहरूमा कस्तुरी मृग, रतुवा, झारल, बँदेल, मलसाप्रोदेखि रेडपाण्डासमेत पर्छन् ।

धेरै पर्यटकहरू रारा पुगेपछि फर्कने गर्छन् तर समय मिलाउन सके मुगुमा घुम्ने ठाउँहरू धेरै छन् । त्यसका लागि प्याकेज कार्यक्रम मिलाउन सके राम्रो हुन्छ । मुगुमा भौगोलिक विविधतासँग धार्मिक, सांस्कृतिक तथा वेशभूषामा पनि विविधता पाइन्छ । मुगुको सांस्कृतिक विविधता पनि पर्यटकहरूलाई अचम्म लाग्न सक्छ ।

रारा तालसँगै हिमालको सुन्दर दृश्यका लागि मुगुको चंखेली हिमालको टुप्पो महत्त्वपूर्ण छ । यहाँबाट रारा तालसँगै विभिन्न हिमाल देख्न सकिन्छ । मुगुको चंखेली हिमालको टुप्पोमा पुगियो भने रारा ताल मात्र होइन, नेपालकै २ वटा ठूला धार्मिक धाममा पर्ने मुगुको छायानाथ धामसहित सैपाल हिमाल र काञ्जिरोवा हिमालको अवलोकन गर्न सकिन्छ, अन्य सुन्दरता त कत्तिकत्ति !

सदरमुकाम गमगढीबाट झण्डै १ दिन हिँडियो भने चंखेली हिमालको फेदमा पुगिन्छ । फेदबाट हुम्ला र मुगुका विभिन्न क्षेत्रको अवलोकन गर्न सकिन्छ । नेपाली १ रुपैयाँको नोटमा अंकित चंखेली हिमाल समुद्री सतहबाट झण्डै ४ हजार २०० मिटरको उचाइमा पर्छ । मनोरम दृश्य अवलोकन गर्न पाइने यो हिमालको सबैभन्दा माथि पुगेपछि रारा ताल, पवित्र धार्मिक स्थल छायानाथ, सैपाल हिमाल, काञ्जिरोवा हिमाल आँखै अगाडि देख्न पाइन्छ ।

अर्कातर्फ, मुगु सदरमुकाम गमगढी, ताल्चा विमानस्थल, मुगुको सोरु भेगका झण्डै १० वटा बस्ती तथा खत्याड भेगमाथिका लेकसहित हिमाली टाकुरासँगै करान र गम भेगमा पर्ने विभिन्न लेकहरूसहित रोवाको माथिका विभिन्न हिमाली चुचुराहरू पनि अवलोकन गर्न सकिन्छ । चंखेली हिमाल चढ्न हिँउ परेको समयमा बाहेक अन्य समयमा खासै समस्या हुँदैन ।

छायानाथ धाम मुगुको पूर्वी क्षेत्र डोल्फुमा पर्छ । मुगुको सदरमुकाम गमगढीदेखि ३ दिनको पैदल यात्रामा पुगिने छायानाथ धाम समुद्री सतहदेखि ५ हजार मिटरको उचाइमा पर्छ । केदारनाथ, बद्रीनाथ, पशुपतिनाथ भन्दा छायानाथलाई जेठो धामका रूपमा मानिन्छ भने छायानाथको अर्को स्वरूप मानसरोवर पनि हो ।

छायानाथबाट रारा ताल अवलोकन गर्न सकिन्छ भने काञ्जिरोवालगायतका हिमालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ । महादेवले सतीदेवीको शव बोकेर राराको बाटो हुँदै छायानाथ गएकाले छायानाथ धाम र हिमालको प्रतिबिम्ब रारामा पर्न गएको भन्ने विश्वास गरिन्छ । छायानाथ धाम बौद्ध र हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र हो ।

हरेक १२ वर्षमा बाँदर वर्षका रूपमा बौद्ध धर्मावलम्बीले छायानाथको जन्म वर्ष मनाउने गर्छन् । त्यो बेला परम्परागत पहिरन लगाएर बूढापाकादेखि बालबच्चा सबै छायानाथ पुग्ने गर्छन् ।

हिन्दु धर्मावलम्बीले जनै पूर्णिमाका बेला नै छायानाथमा पुगेर महादेवको पूजा पाठ गर्ने गर्छन् । मुगु पुगेपछि पुग्नै पर्ने अर्को प्रसिद्ध तीर्थस्थल ऋणमोक्ष पनि हो । समुद्री सतहदेखि ४ हजार ३०० मिटरको उचाइमा पर्ने ऋणमोक्षमा पनि जनै पूर्णिमाको तीर्थाटनका पर्यटकहरू पुग्ने गर्छन् । ऋणमोक्षमा धर्मकुण्ड, अन्नपूर्णेश्वरी, गौकुण्ड, रक्तकुण्ड र तारा दह नामका ५ वटा कुण्ड छन् । अर्कातर्फ, थार्प मस्टो कर्णाली प्रदेशका सबै जिल्लामा कुल देवताको रूपमा पूजा गर्ने प्रचलन छ । कर्णाली प्रदेशका सबैभन्दा जेठो भाइ थार्प मस्टो मानिन्छ ।

मुगुको तिब्बतसँगको नाकाको नाम नाक्चेलाग्ना हो । यस नाकाबाट नुन, ऊन र अन्य अत्यावश्यक वस्तुहरू पैठारी हुन्छन् भन्ने मुगुको स्थानीय उत्पादन निकासीसमेत हुने गरेको छ । नाक्चेलाग्ना नाका प्रत्येक वर्ष १५ साउनदेखि २० दिनसम्मका लागि खुल्ने गर्छ । विशेष गरेर मुगुको पूर्वी भेगका स्थानीयवासीहरू हाट बजारमा घोडा, चौंरी, याक, झोपा लिएर तिब्बती बजारमा सामान लिन जाने गर्छन् । 

कसरी पुग्ने ?

कर्णाली राजमार्गको कालीकोट–जुम्ला सडकखण्डको नाग्माबाट मुगुको गमगढीसम्मकोे मोटरमार्ग ९३ किलोमिटर पर्छ । मोटर मार्ग ताल्चा विमानस्थल हुँदै मुगुको सदरमुकाम गमगढीसम्म पुग्छ । रारा जाने पर्यटकहरूले ताल्चा विमानस्थलमा ओर्लेर रारासम्म पैदल यात्रा गर्नुपर्छ । तर, निजी साधन हुनेहरू भने मोटरबाटै रारा पुग्न सकिन्छ । अथवा, सुर्खेतबाट करिब आधा घण्टाको हवाई यात्रामा मुगुको ताल्चा विमानस्थल जान पनि सकिन्छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर