२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सगरमाथा संवादमा उठ्नुपर्ने एजेन्डा

Nada
२०८२ वैशाख २२ गते ०६:०५
Shares
सगरमाथा संवादमा उठ्नुपर्ने एजेन्डा

–शिवकुमार श्रेष्ठ (शिवांसु)

ncell

जलवायु परिवर्तनले पारेको प्रभाव, हिमाली क्षेत्रका बासिन्दाका वास्तविक भोगाइ, जलवायु संकटलार्ई सामना गर्न गरिएका प्रयास तथा अभ्यासलाई यकिन गर्न सगरमाथा संवाद यही २ देखि ४ जेठसम्म गर्न लागिँदै छ ।

संवादको मुख्य उद्देश्य हिमाली क्षेत्रमा देखिएको वातावरणीय असन्तुलन, हिउँ पग्लने दरमा वृद्धि, जैविक विविधतामा संकट तथा स्थानीय र विभिन्न भागमा रहेका बासिन्दाको जीवनशैलीमा परेको प्रतिकूल असरमाथि बहस उठाउनुमा देखिन्छ ।

नेपाल २ ठूला शक्ति राष्ट्र भारत र चीनबीचमा अवस्थित छ । दुवै मुलुकले वैश्विक रूपमा ठूलो मात्रामा कार्बन उत्सर्जन गर्ने हुँदा तिनको प्रभाव हाम्रो हिमालय, पहाड, बस्ती र जनजीवनदेखि पर्यावरणमा परेको छ । दि स्टेट अफ क्लाइमेट इन एसिया रिपोर्ट, २०२३ मा मौसम जलवायु र पानीसँग सम्भावित खतराबाट विश्वमा सबैभन्दा विपद् प्रभावित क्षेत्र एसिया भएको जनाइएको छ । 

सन् २०२३ मा एसियामा समुद्र सतह र महासागरको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको थियो, जसले गर्दा यस क्षेत्रले विश्व औसतको लगभग दोब्बर समुद्री सतहको वृद्धि दर अनुभव गरिरहेको छ । दक्षिणपूर्वी एसियामा विशेषगरी बंगलादेश, म्यानमार र थाइल्यान्डमा अत्यधिक गर्मीले कृषि उत्पादनमा गिरावट ल्याएको छ । साथै, नयाँनयाँ स्वास्थ्य समस्या बढाएको छ ।

नेपालमा तापक्रम वृद्धिले हिमनदी पग्लने र पानीको अभाव जस्ता समस्या तीव्र बनाएको छ, जसले लाखौं मानिसको जीवनमा प्रत्यक्ष असर पारेको छ । पश्चिम नेपालका माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि जस्ता दर्जनौँ हिमाल कालापत्थरमा परिणत हुँदै गइरहेका सर्वविदितै छ ।

पहिले लटरम्म स्याउ फल्ने तल्लो मुस्ताङमा स्याउ फल्न छाडेको छ । चरिचरनमा मिचाहा नयाँनयाँ झार देखिन थालेका छन् । जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्र र त्यहाँका जनतामा पारेको प्रभाव तथा चुनौतीको समाधानका लागि विश्वव्यापी पहल गर्नु, वर्तमान अवस्थाको समाधान भोलिको पुस्ताको भविष्य एवं सम्पूर्ण पृथ्वीकै सुरक्षालाई सुनिश्चित गर्न नेपालले सगरमाथा संवादलाई केन्द्रित गर्न आवश्यक देखिन्छ ।

एसिया तथा प्रशान्त क्षेत्र जलवायुजन्य विपद्को अग्रपंक्तिमा रहेकाले जलवायु सहनशीलता तथा पूर्वसूचना प्रणाली सक्रिय बनाउनुपर्ने अहिलेको आवश्यकता हो । 
नेपालका हिमाल पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने नेपालीले अपेक्षा गरेका छन् । यति मात्र नभई पर्यटकबाट अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिने सम्भावना बोकेको छ । पर्यटन पूर्वाधार, होमस्टे व्यवस्थापन, पदमार्ग गरी हिमाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित गन्तव्य बन्न सक्ने अपेक्षा गरिएको छ । यसबाट देशले मनग्य आम्दानी गर्नुका साथै नागरिकले रोजगारीको अवसर पाउने छन् ।

यस वर्ष विश्वको सर्वोकृष्ट गन्तव्य मुलुकमा नेपाल परेको फोब्र्स पत्रिकाले जनाएको छ । पश्चिमका अपि हिमाल ७ हजार १३२ मिटर र नाम्प हिमालको ६ हजार ७५५ मिटरको उचाइ छ । यी हिमालहरूलाई पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा परिचित गराई नाम र दाम दुवै कमाउन सकिन्छ ।

पश्चिम नेपालका हिमाली क्षेत्रका मानिसको मुख्य आय स्रोतका रूपमा यार्चागुम्बा र बहुमूल्य जडीबुटीहरू हुन् । यिनकै आम्दानीबाट वर्ष दिनको खर्च जुटाउँछन् । 

तर, जलवायु परिवर्तनका कारण वैश्विक तापक्रम वृद्धि भई हिउँ पग्ली विगत वर्षमा २ वटा हिमताल फुटेर वितण्डा मच्चाएको थियो । थामेमा धेरै घर, स्कुल पुरेको थियो ।

जलवायु परिवर्तनका कारण हिमाल र पर्वतीय क्षेत्र सबैभन्दा बढी प्रभावित छन् । नेपालका २६ वटा हिमतालहरू विस्फोटनको उत्तिकै जोखिममा छन् । हिमपहिरो र बाढीको जोखिम निरन्तर बढेको छ । 

२९ मे १९५३ मा २ साहसी पर्वतारोही तेन्जिङ् नोर्गे र सर एडमन्ड हिलारीले सगरमाथा पहिलो पटक आरोहण गरे । हालसम्म ८ हजारभन्दा बढी आरोहीले सगरमाथा चुमेका छन् । यो कठिन यात्रामा हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

सगरमाथा आरोहणको ठूलो संख्याका कारण यस क्षेत्रमा भइरहेको फोहोरलाई संकलनका लागि बजेट र जनशक्ति व्यवस्था गर्न सरकार, सम्बन्धित निकाय, संघसंस्था र नागरिकको कर्तव्य हुन आउँछ । 

वैश्विक तापक्रम वृद्धिका कारण लामखुट्टे, झिँगा, भुसुना र स–साना किराजन्य पनि माथि सर्दै गएका छन्, जसका कारण सन् १८८० देखि २०१२ सम्म विश्वको तापक्रम शून्य दशमलव ८५ प्रतिशतले बढेको छ । यसको संकेत जलवायु र तापक्रमसँग संवेदनशील डेंगी हुन्छ ।

१ डिग्री तापक्रम बढ्दा नेपालको ७० प्रतिशत जनसंख्यामा डेंगी फैलन सक्ने चेतावनी अनुसन्धानकर्ताको छ । डेंगी सार्ने लामखुट्टेको बासस्थान ९०० मिटर भए पनि हाल १ हजार ४०० मिटर पुगेको पाइन्छ ।

इकोलोजी एन्ड इमोलुसन जर्नलका अनुसार तापक्रम वृद्धिका कारण हिमचितुवाको बासस्थान खुम्चँदै गएको छ । सन् २०३० भित्र हिमचितुवाको विचरण क्षेत्र १४ दशमलव ५७ प्रतिशत र सन् २०५० सम्म २१ दशमलव ५७ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ ।

तापक्रम बढेसँगै हिमाली क्षेत्रमा पाइने कस्तुरीको बासस्थान सन् २०७० सम्म २९ दशमलव ४७ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । बासस्थान घट्ने, खाना कम हुने, भेलबाढीका कारण वन्यजन्तुको संख्या पनि त्यही अनुपातमा कम हुने विज्ञहरूले जनाएका छन् । 

तापक्रम वृद्धिसँगै वन्यजन्तुको बासस्थान घट्दै जाने र तापक्रम र वर्षाको अवस्थामा फरक आउँदा मिचाहा प्रजातिको वनस्पतिको बढोत्तरी हुने र त्यसले वन्यजन्तुको आहारमा प्रभावित गर्छ । 

भारी वर्षासँगै आएको बाढीका प्रभावमा वन्यजन्तुहरू परेका घटना देखिन थालेका छन् । यसका लागि वन्यजन्तु संरक्षणसम्बन्धी कार्ययोजनाहरू निर्माण गर्दा जलवायु परिवर्तन, अनुकूलन र प्रक्षेपणलाई ख्याल गरेर गर्नुपर्ने हुन्छ ।

विकसित राष्ट्रको औद्योगिकीकरणका क्रममा गरेको कार्बन उत्सर्जनले नेपाल जस्तो मुलुकमा गम्भीर असर पुगेकाले असर न्यूनीकरण गरी मानव र जीवजन्तुको दिगो विकास र संरक्षणसम्बन्धी नीति कार्यान्वयन आवश्यक छ । जलवायु परिवर्तनको असर न्यूनीकरण र त्यसलाई अनुकरण गर्नका लागि सरकारका सबै तह र तप्काका निकायको भूमिका अहं हुन्छ ।

सम्बन्धित खबर