२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

नेपाली भूमिमा भारतले बनायो तटबन्ध

Nada
२०८२ वैशाख २० गते १७:११
Shares
नेपाली भूमिमा भारतले बनायो तटबन्ध

दार्चुला : दार्चुलाको सदरमुकाम खंलगास्थित वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेको छ । भारतले बनाएको तटबन्धका स्थानीय राजनीतिक दल तथा बासिन्दाले विरोध गरेका छन् । २०७० को बाढीपछि भारततर्फ परेको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरिरहेको पाइएको छ ।

ncell

नेपाली भूभागमा भारतीय पक्षबाट एकतर्फी रूपमा तटबन्ध निर्माण भइरहेकाले त्यसलाई अविलम्ब रोक्न कूटनीतिक पहल थाल्नुपर्ने माग गर्दै नेकपा (एमाले) ले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।  

महाकाली नगरपालिका–४ र ५ भएर बग्ने महाकाली नदी किनारमा भारतले तटबन्ध निर्माण गरिरहेको एमाले दार्चुलाले जनाएको छ । नेपाली भूमिमात्र नभई नदीको धार नै परिवर्तन हुनेगरी तटबन्ध निर्माण जारी रहेकाले त्यसलाई रोक्न प्रमुख जिल्ला अधिकारी अनिल पौडेलमार्फत परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइएको एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले जानकारी दिए । 

कूटनीतिक माध्यमबाट समस्याको समाधान यथाशक्य चाँडो गर्न परराष्ट्रको ध्यानाकर्षण गराइएको अध्यक्ष धर्तीको भनाइ छ ।

महाकाली नदीको गल्फैपारि र खुलामञ्चपारिको क्षेत्रमा अन्तर्राष्ट्रिय सीमारेखा मिचेर तटबन्ध निर्माण भइरहेको जानकारी दिँदै अध्यक्ष घर्तीले त्यसलाई रोक्न माग गरे । 

भारतले निर्माण गरिरहेको तटबन्धका सम्बन्धमा तत्काल कूटनीतिक पहल थाल्न आफूले पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । आफू निरन्तर भारतीय समकक्षीहरूसँग सम्पर्कमा रहेको बताउँदै उनले निर्माण रोक्न आग्रह गरिएको उल्लेख गरे ।
 

सम्बन्धित खबर