
काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १५ औँ महाधिवेशनको तयारीमा आफूहरू अघि बढिसकेको भन्दै पार्टीको विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार महाधिवेशन सम्पन्न गरिने बताएका छन् ।
शुक्रवार लौह पुरुष गणेशमान सिंहको २९ औँ स्मृति दिवसका अवसरमा काठमाडौँको शोभा भगवतीस्थित उनको शालिकमा माल्यार्पण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले यस्तो बताएका हुन् ।
उनले राजनीतिक दलका लागि राजनीतिक मुद्दा र एजेण्डा मुख्य हुने उल्लेख गर्दै न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताए । अदालतले न्यायिक विषयमा आफ्नो भूमिका निर्वाह गर्ने र राजनीतिक विषयमा राजनीतिक दलले नै निर्णय गर्नुपर्ने उनको भनाइ छ ।
सिंहले कांग्रेसको इतिहासमा राजनीतिक मुद्दालाई प्राथमिकता दिँदै आएको उदाहरणका रूपमा वीपी कोइराला र गणेशमान सिंहको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिलाई स्मरण गरे।
२०३३ सालमा राष्ट्रियता र प्रजातन्त्रको रक्षाका लागि उनीहरू निर्वासनबाट नेपाल फर्किएको उल्लेख गर्दै उनले त्यसपछिका राजनीतिक घटनाक्रमले अन्ततः २०४६ सालको परिवर्तनको आधार तयार गरेको बताए। उनले काँग्रेसले विगतदेखि नै जनताको अधिकार पुनर्बहालीका लागि संघर्ष गर्दै आएको उल्लेख गर्दै अहिले पनि पार्टीभित्र लोकतान्त्रिक मान्यता र विधिको पालना गरेर उदाहरण प्रस्तुत गर्नुपर्ने बताए । उनले कांग्रेस कुनै पनि अवस्थामा आफ्नो परम्परा, विधि र नियमअनुसार १४ औँ महाधिवेशनबाट १५ औँ महाधिवेशनमा जाने बताए ।
कांग्रेसको विधानले महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल चार वर्ष तोकेको र विशेष परिस्थितिमा एक वर्ष थप गर्न सकिने व्यवस्था रहेको सिंहले बताए । थपिएको एक वर्षको अवधि यही मंसिरमा पूरा हुने उनको भनाइ छ ।
उनले भने, ‘१४ औँ महाधिवेशनबाट १५ औँ महाधिवेशनको तयारीतर्फ हामी अगाडि बढिसकेका छौँ । काँग्रेसको चाहना विशेष महाधिवेशन थिएन । कसैको व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न विधि र नियम मिच्नु उचित हुँदैन । राजनीतिक मुद्दा र एजेण्डा पार्टीले नै तय गर्ने हो भने न्यायिक विषय अदालतले हेर्ने हो । नेपाली काँग्रेस लोकतन्त्र र न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्छ । वीपी कोइराला र गणेशमान सिंहले २०३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्कँदा समेत आफ्नो राजनीतिक उद्देश्य र राष्ट्रियताको सवाललाई प्राथमिकतामा राखे ।
२०३६ सालको विद्यार्थी आन्दोलन र जनमतसंग्रहमा पञ्चायतले जिते पनि कांग्रेस आफ्नो लोकतान्त्रिक मान्यताबाट पछि हटेन । त्यसकै निरन्तरतामा २०४६ सालमा परिवर्तन सम्भव भयो । आज पनि काँग्रेसले आफ्नो विधि, नियम र लोकतान्त्रिक मूल्य–मान्यताको उदाहरण प्रस्तुत गर्नुपर्छ । जस्तोसुकै परिस्थितिमा पनि १४ औँ महाधिवेशनबाट १५ औँ महाधिवेशन विधिसम्मत रूपमा सम्पन्न गर्न हामी अडिग छौँ । काँग्रेसको विधानअनुसार कार्यकाल चार वर्षको हो र विशेष परिस्थितिमा एक वर्ष थप्न सकिने व्यवस्था छ । संविधानले पनि एउटा महाधिवेशनदेखि अर्को महाधिवेशनसम्मको अवधि साढे पाँच वर्षभन्दा बढी नहुने व्यवस्था गरेको छ । त्यसैले पार्टीको विधान र नेपालको संविधानको भावना तथा मर्मअनुसार महाधिवेशन सम्पन्न गर्दै विधिको शासन, जनताको अधिकार र राष्ट्रको हितको रक्षा गर्नु हाम्रो दायित्व हो ।’
नेपालको संविधानले एउटा महाधिवेशनबाट अर्को महाधिवेशन साढे पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै सिंहले पार्टीले संविधानको भावना र मर्मअनुसार नै प्रक्रिया अघि बढाउने बताए । विधिको शासन स्थापित गर्न, जनताको अधिकार सुरक्षित राख्न र राष्ट्रलाई जोगाउन आफूहरू लागेको बताए ।