२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

कांग्रेस महाधिवेशन उद्‍घाटन गर्न देउवालाई सभापति थापाको आग्रह

Nada
२०८३ असोज १ गते १५:४०
Shares
कांग्रेस महाधिवेशन उद्‍घाटन गर्न देउवालाई सभापति थापाको आग्रह

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी असोज १६ गते हुने महाधिवेशनको उद्घाटन सत्रमा पूर्वसभापति शेरबहादुर देउवालाई सहभागी भई उद्घाटन गर्न आग्रह गरेका छन् । बिहीबार सानेपास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले देउवाले उद्घाटन गरिदिए पार्टीका लागि सम्मानको विषय हुने बताए ।

ncell

उनले पार्टी विधानअनुसार देउवा पुनः सभापति बन्न नसक्ने स्मरण गराउँदै अब पार्टी नयाँ नेतृत्वतर्फ अघि बढ्ने संकेत पनि गरे । थापाका अनुसार महाधिवेशनको औपचारिक सुरुवात खुलामञ्चमा हुनेछ । असोज ३ र ४ गते वडा अधिवेशन, त्यसपछि क्रमशः नगर, जिल्ला र प्रदेश तहका अधिवेशनहरू सञ्चालन हुनेछन् ।

पार्टीभित्र एकता कायम राख्नुपर्नेमा जोड दिँदै थापाले मतभेदलाई व्यक्तिगत रूपमा नलिन नेताहरूलाई आग्रह गरे । “कहिलेकाहीँ बोल्दा तिखा टिप्पणी हुन सक्छन्, तर त्यसलाई व्यक्तिगत रूपमा लिनु हुँदैन,” उनले भने, “नेपाली कांग्रेस एउटा परिवार हो, परिवारभित्र सामान्य असहमतिहरू आउनु स्वाभाविक हो ।”

त्यस्तै, उपसभापति पूर्णबहादुर खड्काले अघि सारेका ८ बुँदे र नेता शेखर कोइरालाले प्रस्तुत गरेका ५ बुँदे माग सम्बोधन भइसकेको पनि थापाले दाबी गरे । उनले इतर पक्षका नेताहरूलाई समेत महाधिवेशनमा सक्रिय सहभागिताका लागि आह्वान गर्दै पार्टीलाई एकताबद्ध बनाउन आफू प्रतिबद्ध रहेको बताए ।

बैठकमा पूर्वसभापति देउवा निकट समूहका नेताहरूको पनि उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर