२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

दाङमा आमा साक्षरता अभियान

shivam cement
२०८१ असार १७ गते १०:४१
Shares
दाङमा आमा साक्षरता अभियान

दाङ : दाङ तुलसीपुर उपमहानगरपालिका–९ का हीरा जैसी घरायसी काममा नै धेरै व्यस्त हुनुपर्छ । उनको दैनिकी चुलो चौकोसँगै भैँसी पाल्ने, घाँस काट्नेजस्ता काममै बित्ने गर्छ ।

दाङ तुलसीपुर उपमहानगरपालिकाले चलाइरहेको कानुनी साक्षरतासम्बन्धी कक्षामा सहभागी हुन थालेपछि भने जैसीले धेरै कुरा बुझ्न थालेकी छन् । न्यायका लागि आवाज उठाउनुपर्ने रैछ भन्ने थाहा पाउन थालेकी छन् ।

‘हामी सधैँ चुलो चौकोमै सीमित भयौँ, तर, अब यसरी सीमित हुने छैनौँ’, जैसीले भनिन्, ‘गाउँमा कसैलाई अप्ठेरो परेपछि पनि न्यायिक निकायमा गएर न्यायकालागि आवाज उठाउने छौँ ।’

त्यस्तै तुलसीपुर–७ का टीकाकुमारी गौतम पनि कानुनी ज्ञान पाएपछि गाउँमा कसैलाई अप्ठेरो पर्दा न्यायको ढोका ढकढक्याउन जान सक्ने भएको बताउँछिन् । आँखै अगाडि महिला हिंसा, घरेलु हिंसा हुने गरेको भए पनि सहेर बस्नुपर्ने अवस्था रहेको जनाउँदै अब त्यसो हुन नदिने बताइन् । भन्छिन्, ‘अब हामीले त्यसको प्रतिवाद गर्न सक्ने भएका छौँ ।’

उपमहानगरले तुलसीपुरका १९ वडाका एक हजार बढी आमाहरूलाई कानुनी ज्ञान दिएको मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले बताए । आमा साक्षरता अभियानअन्तर्गत आमाहरूका लागि आवश्यक पर्ने विभिन्न खालका कानुनी कुराहरू सिकाइएको उनको भनाइ छ ।

घरेलु हिंसा हुँदा कसरी न्याय माग्ने, न्याय माग्न कहाँ जाने, स्थानीय न्यायिक समितिको भूमिकालगायतका विषयमा जानकारी दिइएको उनको भनाइ छ । ‘महिलाहरूमा कानुनी ज्ञान नहुँदा घरेलु हिंसा खेपिरहनुपरेको छ’, उनले भने, ‘यसलाई न्यूनीकरण गर्न पनि यो कार्यक्रम सञ्चालन गरिएको हो ।’

आमाहरूलाई अधिवक्ता विजय पोख्रेल र सुष्मा केसीले कानुनी ज्ञान दिएका थिए । सबै वडामा पुगेर यो कार्यक्रम सञ्चालन गरिएको हो । कलेजमा कानुन विषय अध्ययनरत विद्यार्थीले पनि उक्त ज्ञान दिएका थिए । कलेजमा कानुनमा स्नातक(विएएलएलबी) अध्यापन भइरहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर