काठमाडौं : बुधबार काठमाडौंको बबरमहल क्षेत्रमा अरू दिन जस्तै चहलपहल थियो । सडकमा गाडीहरू यथावत् चलिरहेका थिए । मानिसहरू आफ्नै धुनमा आवतजावत गरिरहेका थिए भने सरकारी र गैरसरकारी कार्यालयहरूमा आफ्नै लयमा काम भइरहेको थियो ।
अपराह्न २ बजे अचानक त्यस क्षेत्रको वातावरण नै बदलियो । सडकमा आवतजावत बन्द भयो, कार्यालयहरूमा काम रोकियो भने वरिपरिका घर र कार्यालयहरू डुबानमा परे । त्यतिबेला न पानी परेको थियो, न त बाढी नै आएको थियो । तर, बबरमहल क्षेत्र भने डुबानमा पर्यो, अस्तव्यस्त भयो ।
काठमाडौंको खानेपानीको सपना रहेको मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्रको अवस्था ४ घण्टामा नै फेरियो ।
नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्दा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेर ६ लेन सडक नै डुब्यो, जसले बबरमहल र त्यस आपसापका क्षेत्र डुबानमा परेको थियो ।
पानीको ठूलो भेलले माइतीघर–तीनकुने सडकखण्डका दायाँ–बायाँ रहेका वन परिसर, विशेष र जिल्ला अदालत डुबानमा परे । यी सरकारी निकाय र वरपरका भवनमा भेल मात्र होइन, अचानक बाढी नै पस्यो ।
कसरी आयो भेल ?
काठमाडौं उपत्यका खानेपानी लिमिटेडअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार प्राधिकरणको ठेकेदार कम्पनी के. ई. आई.ले जीआईएस म्यापको सही अध्ययन नगरी पाइलट ड्रिलिङपश्चात् रिमिङ गर्ने क्रममा २० इञ्चको पाइपलाइनमा क्षति पुगेको हो ।
निर्माण कम्पनीका सुपरभाइजर अविनाश कुमारले असावधानीका कारण पाइपलाइनमा क्षति पुगेको बताए ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले थोक वितरण प्रणालीको जी. आई. एस. म्यापलाई बेवास्ता गरी कार्य गर्दा पाइप फुटेर क्षति भएको जनाएको छ ।
‘वन परिसर अगाडिको सडकमा विद्युत् लाइन भूमिगत गर्नका लागि पाइलट ड्रिलिङपश्चात् रिमिङ गर्दा असावधानीवश मेलम्चीको पाइपलाइनमा क्षति पुगेको हो’, लिमिटेडले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यता, विद्युत् प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधानले अनुमति लिएरै काम गरेको तर बाइपास गरेर गर्नुपर्ने भए पनि कमजोरी ठेकेदारका तर्फबाट भएको दाबी गरे ।
भेल आएको क्षेत्रमा तत्काल सेनासहित सुरक्षाकर्मी खटाइएको थियो । वरपरका बस्तीमा फसेका नागरिकलाई उद्दार गर्न सुरक्षाकर्मीले अपरेसन नै चलायो ।
‘अचानकको हिउँदे वर्षा या अन्य प्राकृतिक कारणले भेल आएको होइन । सरकार र राज्य संयन्त्रलाई नै लज्जित बनाउनेगरी सिंहदरबारको छेवैमा बाढी आउनु गम्भीर मानवीय लापरबाही हो’, स्थानीय सुमन प्रधानले भने ।
एसियाली विकास बैंक (एडीबी)को ऋण सहायतामा सिन्धुपाल्चोकको मेलम्ची नदीलाई सुरुङमार्फत काठमाडौंमा पानी ल्याइएको छ । खानेपानी आवश्यकता परिपूर्ति गर्न भनी ल्याइएको पानी वितरणको काम काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले गर्छ ।
पाइप बिछ्याउने काम आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले गरेको थियो । भेल आउनुको मुख्य कारण पीआईडीकै लापरबाही भएको खानेपानी मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
काठमाडौंका अधिकांश स्थानमा एडीबीका परामर्शदाता र ठेकेदारसमेत खटाएर पाइप बिछ्याएको पीआईडीले सुरुमै जल दबाब परीक्षण (वाटर टाइट टेस्ट) नै गरेको थिएन, जुन अनिवार्य थियो ।
पाइप फुट्दा १० देखि १५ हजार घरधुरीमा पानीको आपूर्ति प्रभावित हुने अनुमान छ । असन, क्षेत्रपाटी, त्रिपुरेश्वर, न्युरोड, भोटेबहाल, बबरमहल, थापाथली, अनामनगर केही भागमा पानी आपूर्ति प्रभावित हुन सक्ने जनाइएको छ ।
महानगरपालिकाका वडा नम्बर २०, २१, २२, २३, ११ र १२ का केही भागमा पानी आपूर्ति प्रभावित हुने सक्ने छ ।
पाइपमा क्षति पुग्दा ४ घण्टामा ३० लाख लिटर पानी बगेको छ । मेलम्चीबाट उपत्यकामा दैनिक १७ करोड लिटर पानी ल्याइन्छ । मेलम्चीबाट ल्याइएको पानी सुन्दीजलस्थित प्रशोधन केन्द्रबाट थोक वितरण प्रणालीमा पठाइएका पाइपलाइनमा रहेको सबै पानी बबरमहल क्षेत्रमा बगेको हो ।
पहिला पनि भएको थियो यस्तो
१९ असारमा सोह्रखुट्टे–बालाजु सडकखण्डमा पनि मेलम्ची खानेपानीको पाइप फुट्दा १ जना डुबेका थिए । पानी वितरण प्रणाली क्षतिग्रस्त हुँदा मुख्य सडकको बीचमै ११ फिट गहिरो खाडल परेको थियो ।
२९ भदौमा ललितपुरको कुपण्डोलमा मेलम्ची खानेपानीको पाइप फुट्दा मुख्य सडक नै भासिएर भ्वाङ परेको थियो ।
७ मंसिर २०७९ मा पाइप फुट्दा लैनचौर क्षेत्र जलमग्न भएको थियो ।
सन् २०१३ देखि केयूकेएलले खानेपानी वितरण गर्दै आइरहेको छ । त्यसका लागि चक्रपथभित्र १ हजार किलोमिटरभन्दा बढी पाइप बिछ्याएको छ । तर, सुरुमै पानी वितरण गर्दा, ढल र सडक बनाउँदा तथा विद्युत्को तार भूमिगत गर्दा मेलम्चीको पाइप निरन्तर फुट्ने गरेको छ ।
यसबीच बबरमहल क्षेत्र जलमग्न बनेपछि खानेपानीमन्त्री प्रदीप यादवले निरीक्षण गरेका छन् । बबरमहल क्षेत्र जलमग्न बनेको जानकारी पाउनासाथ पोखराबाट उनी सिधा काठमाडौं फर्किएर निरीक्षण गरे । तत्काल बिग्रिएको पाइप बनाउन र काठमाडौंका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गर्न उनले सरोकारवाला निकायलाई निर्देशन दिए ।
‘विद्युत् प्राधिकरणको कमजोरीका कारण पाइप फुटेर जलमग्न भएको हो । अहिले यस क्षेत्रमा आउने पानी बन्द गरिएको छ । तत्काल बिग्रिएको स्थानमा बनाउन र काठमाडौंका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गर्न निर्देशन दिइसकेको छु’, निरीक्षणका क्रममा मन्त्री यादवले भने ।
उनले केयूकेएलसँग पनि समन्वय गरेर उपत्यकाबासीलाई शुद्ध खानेपानी आपूर्ति गरिने बताए । पाइप क्षति भएपछि मेलम्चीको पानी आपूर्ति तत्कालका लागि बन्द गरिएको छ । साँझ ६ बजेपछि पाइपबाट पानी आउन पूर्ण रूपले रोकिएको छ ।
प्राधिकरणले स्वीकार्यो गल्ती
प्राधिकरणले बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्नुमा आफूहरूको गल्ती रहेको स्वीकार गरेको छ ।
यो क्षेत्रमा विद्युत् प्राधिकरणले सडकमा विद्युत् लाइन भूमिगतको काम गरिरहेको थियो । उक्त काम गर्ने क्रममा पाइलट ड्रिलिङपछि रिमिङ गर्दा असावधानीवश पाइपलाइनमा क्षति पुगेको विद्युत् प्राधिकरणले स्वीकार गरेको हो ।
‘पाइप फुट्नुमा प्राधिकरण जिम्मेवार छ’, केयूकेएलका प्रवक्ता प्रकाश राईले भने, ‘त्यस क्षेत्रमा प्राधिकरणले तार भूमिगतको काम गरिरहेको छ । त्यहीबेला पाइपमा क्षति पुगेको प्रारम्भिक अनुमान छ ।’