२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

स्वयम्भूमा मञ्जुश्रीको दर्शन तथा सरस्वतीको पूजा गर्ने भक्तजनको घुइँचो

Nada
२०८१ माघ २१ गते १६:३२
Shares
स्वयम्भूमा मञ्जुश्रीको दर्शन तथा सरस्वतीको पूजा गर्ने भक्तजनको घुइँचो

काठमाडौँ : विद्याकी देवी सरस्वतीको पूजाअर्चना गर्न स्वयम्भूमा आज मेला लागेको छ । हरेक वर्षको माघ शुक्ल पञ्चमीका दिन मञ्जुश्रीको पूजा गर्न यहाँ विशेष मेला लागेको हो । काठमाडौँ महानगरपालिका–१५ मा अवस्थित स्वयम्भू विश्व सम्पदा सूचीमा सूचीकृत छ । स्वयम्भूसहित आसपासका सम्पदाको अवलोकन गरी भक्तजनले विधिपूर्वक चैत्यको पूजाआजा गरेका हुन् । 

ncell

भक्तजनहरूले सरस्वतीको मूर्तिको पूजाअर्चना गरेका छन् । विशेषगरी सानासाना बालबालिकालाई उनीहरूको अभिभावकले दर्शनका निम्ति मन्दिर लगेका थिए । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यका अनुसार सरस्वतीको पूजा तथा नजिक भित्तामा बालबालिकालाई लेख्न पनि लगाइएको छ । यसो गर्दा राम्रो लेख्न र पढ्न सक्छन् भन्ने विश्वास छ ।

आजैकै दिन बालबालिकालाई अक्षरारम्भ गराइन्छ । वसन्त पञ्चमीको दिन मञ्जुश्रीको दर्शन तथा पूजाआजा गरेमा बच्चा ज्ञानी हुन्छ भन्ने मान्यता छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि बढ्ने तथा चेतनाको ज्योति पाइन्छ भन्ने विश्वास छ ।

विशेषगरी विभिन्न धार्मिक गतिविधि गरिने उक्त स्थलमा हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्ने जानकारी दिँदै उनले बौद्ध साहित्य एवं दर्शनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा सकारात्मक सन्देश प्रवाह गर्न सकेमा धार्मिक पर्यटनमा अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

ताजा खबर

सम्बन्धित खबर