२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

विदेशी मुद्राको कूल सञ्चिती २३ खर्ब १६ अर्ब ८४ करोड

Nada
२०८१ माघ २१ गते ११:२८
Shares
विदेशी मुद्राको कूल सञ्चिती २३ खर्ब १६ अर्ब ८४ करोड

काठमाडौँ : देशभित्र विदेशी मुद्राको कूल सञ्चिती रु २३ खर्ब १६ अर्ब ८४ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरण अनुसार गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३  दशमलव पाँच प्रतिशतले वृद्धि भई गत पुस मसान्तमा रु २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको हो । 

ncell

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा गत पुस मसान्तमा १० दशमलव तीन प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा गत पुस मसान्तमा १२ दशमलव एक प्रतिशतले वृद्धि भई रु २० खर्ब ७२ अर्ब ३४ करोड पुगेको जनाइएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा गत पुस मसान्तमा २७ प्रतिशतले वद्धि भई रु दुई खर्ब ४४ अर्ब ५० करोड कायम भएको छ । गत पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव तीन प्रतिशत रहेको छ ।

आव २०८१-८२ को छ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ दशमलव तीन महिनाको वस्तु आयात र १४ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ ।

त्यसैगरी शोधनान्तर स्थिति रु दुई खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ८२ करोडले बचतमा रहेको छ ।

केन्द्रीय बैंकका अनुसार, समीक्षा अवधिमा चालु खाता रु एक खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब आठ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु  चार अर्ब २९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु तीन अर्ब ११ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु छ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु चार अर्ब ५४ करोड रहेको थियो । 

ताजा खबर

सम्बन्धित खबर