२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

राष्ट्रिय सभामा विभिन्न अध्यादेश पेस

Nada
२०८१ माघ १८ गते १६:२९
Shares
राष्ट्रिय सभामा विभिन्न अध्यादेश पेस

काठमाडौं : राष्ट्रिय सभामा विभिन्न अध्यादेश पेस भएका छन् । सभाको आजदेखि प्रारम्भ भएको १७औं अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गरे । 

ncell

उनले सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाह गर्ने, राज्यको प्रशासनिक प्रणालीलाई चुस्त बनाउने गरी सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याइएको बताए ।  

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गरे । त्यस क्रममा उनले भने, “बजेट तथा कार्यक्रम तर्जुमालाई व्यवस्थित गर्नका लागि बनेको आर्थिक तथा वित्तीय उत्तरदायित्व ल्याइएको छ ।”

यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गरे । 

बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसभामुख दमननाथ ढुंगाना, संविधानसभा सदस्य रामजीप्रसाद शर्मा, संविधानसभा सदस्य अब्दुलहमिद सिद्धिकी र प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वमन्त्री प्रेमलाल (पिएल) सिंहको निधनमा शोक प्रस्ताव प्रस्तुत गरेका छन् । शोक प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गर्दै एक मिनेट मौनधारण गरिएको थियो । 

राष्ट्रियसभाको अर्को बैठक यहीमाघ २० गते आइतबार दिउँसो १ः १५ बजे बस्नेछ ।  

ताजा खबर

सम्बन्धित खबर