२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

'चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाए'

Nada
२०८१ माघ १८ गते १५:११
Shares
'चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाए'

ललितपुरः ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाएको दाबी गरेका छन् ।

ncell

आज ललितपुर महानगरको वडा नम्बर १३ र १४ को सिमानाबाट वडा नम्बर २५ लाई जोड्ने नख्खुखोला पुलको उद्घाटनका अवसरमा महानगरप्रमुख महर्जनले वडा नम्बर १३ मा पर्ने कुसुन्तीमा १८ जना र वडा नम्बर ३ मा पर्ने धोबीघाटमा ३२ जनाले ज्यान गुमाएको उल्लेख गर्दै समस्या समाधानका लागि अपाङ्गतामैत्री पुल निर्माणका लागि महानगरपालिकाले अग्रसरता लिएको बताए । 

‘हामीले सुरुमै चक्रपथको डिजाइन गलत छ भनेका थियौँ, ललितपुर खण्डमा पर्ने सात दशमलव नौ किलोमिटर सडकमा बत्ती नहुँदा रातको समयमा धेरैले ज्यान गुमाएका छन्, चक्रपथको धोवीघाटमा मात्रै ३२ जनाले ज्यान गुमाउनुपरेको छ, सरकारले सुधार गर्न अनुमति नदिएका कारण समस्या भएको छ, तर हामी प्रयासरत छौँ’, उनले भने ।

उनले नख्खुमा बनेको पुल उद्घाटन गर्दै सम्पदा र संस्कृतिको सहरका नागरिकलाई सहज दैनिकीका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले कुसुन्तीमा नेपालमै पहिलो पटक लिफ्टसहितको अपाङ्गतामैत्री पुल निर्माण हुने बताए । उनले पाटन अस्पतालको मुख्य गेटमा भएको ट्राफिक समस्या समाधानका लागि पुल निर्माणका लागि डिजाइन भएको समेत जानकारी दिए । 

‘समस्या समाधानका लागि पुल निर्माणका लागि जग्गाका लागि सञ्चय कोष र मानसिक अस्पतालसँग कुरा भइरहेको छ’, उनले भने, ‘ललितपुर महानगर क्षेत्रमा पर्ने सात दशमलव नौ किलोमिटरभित्र दुर्घटना अन्त्य गर्न छदेखि नौ महिनाभित्र सडक बत्ती राख्छौँ ।’

महानगरका प्रवक्ता एवं वडा नम्बर ९ का अध्यक्ष राजु महर्जनले यस वर्ष तीन वटा पुल निर्माण हुने जानकारी दिनुभयो । वडा नम्बर १४ का अध्यक्ष अमृजङ्ग महतले पनि नख्खु खोलामा निर्माण भइरहेको पुल छिट्टै सम्पन्न हुने बताए । वडा नम्बर १३ का अध्यक्ष गणेश केसीले यो पुल निर्माणले नख्खुको जाम कम गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

महानगरका इञ्जिनियर प्रदीप पौडेलले विसं २०७९ भदौ १३ मा पुल निर्माणका लागि सम्झौता काम सुरु भइ गत मङ्सिर २० गते सम्पन्न भएको जानकारी दिए । निर्माण कम्पनी तामाङ मरिन कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको मोटरेबल पुलको लागत तीन करोड तीन लाख ६१ हजार आठ सय ५३ रुपैयाँ ३१ पैसा छ । त्यसअवसरमा समयमै काम पूरा गर्ने निर्माण कम्पनी तामाङ मरिन कन्सट्रक्सन प्रालिलाई नगरप्रमुख चिरीबाबु महर्जनले कदरपत्र र दोसल्लासहित सम्मान गरे । 

ताजा खबर

सम्बन्धित खबर