२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

सही कर्म गरी जीवन सार्थक तुल्याउन आग्रह

shivam cement
२०८१ असार १२ गते १५:२७
Shares
सही कर्म गरी जीवन सार्थक तुल्याउन आग्रह

काठमाडौं : भारतकी प्रसिद्ध नारीरत्न राजेश्वरी मोदी (राजदिदी)ले जीवन र त्यससँग सम्बन्धित अध्यात्मिक पक्षका बारेमा उजागर गरेकी छन् ।

नारायण रेकी सत्सङ्ग परिवार मुम्बईको भ्रातृ संस्थाका रूपमा स्थापित नारायण रेकी सत्सङ्ग परिवार काठमाडौंको आयोजनामा भएको ‘जिन्दगीभर सुखी रहने मन्त्र’ विषयक कार्यक्रममा उनले मानिसले आफ्नो जिन्दगीमा उसले गरेको कर्मको फल भोग्ने हुँदा सही कर्म गर्नुपर्ने बताइन् । उनले भनिन्, “हामी बबुलको रूख रोप्दैछौं र हामी आँप खान चाहन्छौं त्यो कदापि सम्भव छैन, आँप खानलाई आँपकै बिरुवा रोप्नु पर्दछ ।”

मोदीले अरूको अधिकार खोस्ने र अनैतिक सम्बन्ध राख्नाले स्वास्थ्य खराब हुने र घरमा दुःख, गरिबी र अशान्ति आउने बताइन् । उनले भनिन्, “हाम्रो आधारभूत बल भनेको आमाबुबा, सासुससुरासँगको सम्बन्ध हो । आमा मायाको प्रतीक हो, तर बुबा सुपरहिरो हुनुहुन्छ । हरेक बुबाले आफ्ना सन्तानलाई राम्रो जीवन बिताउन सकोस् भनेर शतप्रतिशत दिनुहुन्छ, मार्गदर्शन गर्नुहुन्छ, सहयोग र प्रोत्साहन गर्नुहुन्छ ।” 

उनले साक्षात् नारायणले आमाबाबुप्रतिको कृतज्ञता, माया, आदर र स्याहार व्यक्त गर्ने अवसर दिएको बताइन् । उनले भनिन्, “हामीले सबै आमाबाबुलाई बिना सर्त आदर र हेरचाह गर्नुपर्छ ।”

प्रवचनका क्रममा मोदीले शब्दमा ब्रह्मतत्वको शक्ति हुने र राम्रो कर्म गरेमा भगवानले 'हाम्रो असल चाहनालाई प्राप्त गर्नेतर्फ हामीलाई आकर्षित गराउन शक्तिको प्रवाह गर्ने' उल्लेख गरिन् । 

रेकीको वास्तविक अर्थ ब्रह्माण्डको ऊर्जासँग जोडिएको बताउँदै उनले मानव शरीर तथा मस्तिष्कमा सकारात्मक ऊर्जाको प्रवाहमार्फत सकारात्मकतातर्फ अग्रसर हुने कार्य यससँग सम्बन्धित रहेकाले यस विद्याको फाइदा उठाएर आफ्नो जीवन सहज बनाउन आग्रह गरिन् ।

सन् २०१५ मा भारतको मुम्बईमा स्थापित यस संस्थाको मूल मन्त्र ‘सबै व्यक्ति तन, मन, धन र सम्बन्धबाट स्वस्थ रहून्’, ‘सबै घरमा सुख, शान्ति, समृद्धि होस्,’ ‘सबै व्यक्तिले उन्नति, प्रगति र सफलता प्राप्त गरोस्’ भन्ने रहेको छ । 

रेकी विद्याको माध्यमबाट आफ्नो उद्देश्य प्राप्त गर्न स्थापित यस संस्थाले आफ्नो स्थापनाकालदेखि नै प्राकृतिक चिकित्सा अर्थात योग, ध्यान तथा चक्र साधनाको क्षेत्रमा कार्य गर्दै आएको छ । यस संस्थाको देश र विदेशमा गरी ७५ भन्दा बढी शाखामार्फत सकारात्मकता फैलाउँदै र तनाव र द्वेषरहित उत्कृष्ट जीवन जिउने अभिप्रेरणा दिँदै आएको छ ।

काठमाडौंस्थित नारायण रेकी सत्सङ्ग केन्द्रकी प्रमुख ऋचाजी केडियाले नारीरत्न राजेश्वरी मोदी (राजदिदी)ले सामाजिक सेवामा पुर्‍याँउदै आएको योगदानका बारेमा प्रकाश पारिन् । सत्सङ्ग कार्यक्रममा उद्योगी, व्यवसायी, कर्मचारीदेखि सर्वसाधारण गरी झण्डै सात सय जनाको सहभागिता रहेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर