२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

स्वच्छ भर्नासम्बन्धी गोष्ठीमा व्यवसायीहरुद्वारा सेवा शुल्क तोक्न जोडदार माग

Nada
२०८१ माघ १० गते ०६:२५
Shares
स्वच्छ भर्नासम्बन्धी गोष्ठीमा व्यवसायीहरुद्वारा सेवा शुल्क तोक्न जोडदार माग

काठमाडौं : वैदेशिक रोजगार बोर्ड  र नेपाल वैदेशिक रोजगार व्यावसायी संघको संयुक्त आयोजनामा दुई दिने वैदेशिक रोजगारसम्बन्धी कानुन र स्वच्छ भर्नाका विषयमा आयोजित कार्यशाला गोष्ठी सम्पन्न भएको छ । मंगलबार र बुधबार गरी करिब ७ सय वैदेशिक रोजगार व्यवसायी सहभागी कार्यक्रममा वैदेशिक रोजगार ऐन, कर, भ्याट तथा मानव बेचबिखन र स्वच्छ भर्ना प्रक्रियाका विषयमा जानकारी गराइएको थियो ।

ncell

संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार व्यवसायीले इथिकल रिक्रुटमेन्ट अर्थात् स्वच्छ भर्ना प्रक्रियाको सुनिश्चितताका लागि यस प्रकारका कार्यशालाले सहयोग पुर्‍याउने बताए ।

पुराना व्यवसायी मदन खड्काले परिवर्तन सन्दर्भमा कर तथा भ्याटलगायतका विषयमा व्यवसायीहरूले उपयोगी जानकारी पाएकाले कार्यशाला लाभदायक भएको टिप्पणी गरे ।

बोर्डका कल्याण, पुनर्स्थापना तथा सञ्चार निर्देशक सुशीलप्रसाद आचार्यले कार्याशालामा कानुनी तथा व्यवहारिक समस्या समाधानका साथै स्वच्छ एवं मर्यादित भर्नाका सन्दर्भमा सहभागी वैदेशिक रोजगार व्यवसायीहरूबाट विभिन्न सुझाव आउनु कार्यशाला गोष्ठीका मुख्य उपलब्धि भएको बताए ।

कतिपय व्यवसायीहरूले वैदेशिक रोजगारको लागत निर्धारण गरी सेवा शुल्क तोकिनुपर्ने धारणा राख्दै सेवा शुल्क तोकिएपछि मात्रै स्वच्छ भर्ना प्रक्रियाको विषय उठाउनु व्यवहारिक हुने सुझाव दिए । केही व्यवसायीले यसप्रकारका कार्यक्रम केन्द्रमा सीमित नगरी पालिकास्तरमा लैजान सकेमात्र ठोस उपलब्धि हासिल हुने सुझाव दिए । गोष्ठीमा सहभागी स्किल लिंक म्यानपावर प्रा.लि.का सञ्चालक सूर्य बुढाथोकीले कार्यक्रम ग्रामीण तहसम्म लगेर कामदार तथा उनीहरूका परिवारलाई पनि समेट्न जरुरी रहेको सुझाव दिए ।

कार्यक्रमको मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उद्घाटन गरेका थिए ।


सम्बन्धित खबर