२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

तीन सन्तानकी आमा रेनु, छोरीसँगै विद्यालय जान्छिन्

Nada
२०८१ असार १२ गते १२:५६
Shares
तीन सन्तानकी आमा रेनु, छोरीसँगै विद्यालय जान्छिन्

स्याङ्जा : स्याङ्जाको चापाकोट नगरपालिका–९ फूलबारीकी रेनुका भुसाल भण्डारी अहिले कक्षा ९ मा अध्ययनरत छिन् । एकचालीस वर्षीया उनी चापाकोट–९ स्थित गंगालाल माविमा अध्ययन गर्दैछिन् ।

ncell

उनले भनिन्,“१४ वर्षमा विवाह भएपछि अध्ययन गर्न पाइन । भित्रभित्रै पढ्ने एकदम इच्छा थियो, पढ्ने उमेरमा विवाह भयो , पढ्ने चाहना भएर पनि पढ्न सक्ने अवस्था भएन, अहिले छोरी ठूला भए अनि सानैदेखिको पढ्ने चाहना पूरा गर्न विद्यालय जान थालेँ ।”

गत वर्ष कक्षा ८ मा भर्ना हुनुभएकी भण्डारीले सो तहमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएकी थिइन् । उनी विद्यालयका अन्य विद्यार्थीजस्तै विद्यालय पोशाकमा झोलामा कापी–किताब बोकेर नियमित जाने गर्छिन् । “मानिसका लागि शिक्षाको महत्व धेरै रहेछ, जति बुझ्यो उति यसको महत्व र आवश्यकता देखेँ”, उनले भनिन्, “शिक्षा आर्जन गर्न उमेरले छेक्दैन भन्ने लाग्यो अनि गत वर्षदेखि विद्यालय भर्ना भएर जान थालेकी हुँ ।”

अन्य विद्यार्थीले जस्तै कक्षाकार्य तथा गृहकार्य गरेर विद्यालय जाने गरेको उनी बताउँछिन् । पढ्न रुचि लागेर आएकाले यसलाई निरन्तरता दिँदै कक्षा १२ सम्म अध्ययन गर्ने सोच उनको छ ।

“आफ्ना छोरीको उमेरका बालबालिकासँग एउटै कक्षामा बसेर अध्ययन गर्दा कतै रमाइलो त कतै अप्ठ्यारो महसुस हुने गरेको छ”, उनले भनिन्, “धेरै विद्यार्थीले त राम्रो दृष्टिले हेर्छन्, केहीले हजुरआमा, ‘आन्टी’ भनेर जिस्क्याउने गर्छन्, उनीहरूलाई सम्झाउँदै अगाडि बढेकी छु ।”

भण्डारीका अन्य विद्यार्थीजस्तै विद्यालय पोशाकमा उपस्थित भएर मेहनतका साथ अध्ययन गर्दै आएको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले बताए । अन्यत्र विद्यालयमा कक्षा ५ पढ्दापढ्दै छाड्नुभएकी रेनुका यहाँ कक्षा ८ मा भर्ना भएको उनले बताए ।

“कक्षा ८ को अन्तिम परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनुभयो”, प्रअ भट्टराईले भने, “यही मेहनतलाई कक्षा ९ र १० मा पनि निरन्तरता दिन सक्नुभएको खण्डमा माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण हुनुहुन्छ ।”

सैद्धान्तिक शिक्षा लिनका लागि उहाँ यस विद्यालयमा आउनुले पनि सिकाइ अनिवार्य र जहिले पनि सिक्न सकिन्छ भन्ने सन्देश दिएको प्रअ भट्टराई बताउँछन् । रेनुका तीन छोरीमध्ये जेठीले स्नातक तह, माइलीले कक्षा १२ पूरा गरेकी छन् भने कान्छी गंगालाल माविमा कक्षा ७ मा अध्ययनरत छिन् ।

ताजा खबर

सम्बन्धित खबर