२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

व्यवसायीले उठाएका एजेन्डा समेट्ने श्रम सचिवको आश्वासन

Nada
२०८१ माघ ७ गते ०६:३०
Shares
व्यवसायीले उठाएका एजेन्डा समेट्ने श्रम सचिवको आश्वासन

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका नवनियुक्त सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगार व्यवसायीहरूले उठाउँदै आएका एजेन्डालाई आफ्नो तहबाट समेट्ने आश्वासन दिएका छन् ।

ncell

आफूलाई बधाई तथा शुभकामना दिन मन्त्रालय पुगेको नेपाल वैदेशिक रोजगार व्यवासायी संघको प्रतिनिधिमण्डललाई आइतबार सम्बोधन गर्दै सचिव पुष्करले उक्त आश्वासन दिएका हुन् ।

यसअघि वैदेशिक रोजगार विभागको महानिर्देशक भई वैदेशिक रोजगार प्रशासनमा अनुभव हासिल गरेका सचिव डा. पुष्कर गत बिहीबार श्रम मन्त्रालयको प्रशासनिक नेतृत्वको जिम्मेवारीमा आएका हुन् ।

आइतबार मन्त्रालयमा भएको भेटमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारी नेपाली अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको भए पनि नेपालबाट कामदार पठाउने सन्दर्भमा अनावश्यक झन्झट रहेका कारण समयमा कामदार पठाउन समस्या रहेकाले मागपत्र प्रमाणीकरण र श्रम स्वीकृतिको प्रक्रियामा रहेका समस्याको समाधान हुनुपर्ने माग गरेका थिए । 

संघले वैदेशिक रोजगार व्यवसायीको टाउकोमा नांगो तरबार सरह संख्या सयको प्रावधान रहेकाले त्यसको स्थायी समाधान दिन पनि माग गरेकोे अध्यक्ष भण्डारीले जानकारी दिए । 

जबाफमा सचिव पुष्करले वैदेशिक रोजगार व्यवसायी तथा वैदेशिक रोजगार क्षेत्रका विज्ञसमेतको सहभागितामा वैदेशिक रोजगारका क्षेत्रमा गर्नुपर्ने तत्कालीन तथा दीर्घकालीन सुधारका विषयमा सकारात्मक निर्णय गराउन पहल गर्ने आश्वासन पनि दिएका छन् । 

संघका अध्यक्ष भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा महासचिव मेघनाथ भुर्तेल, सचिव कर्णराज कटुवाल, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावल, संघका पूर्वमहासचिव नरेश गेलाल, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका उपाध्यक्ष बाबुराम खड्कासहित संघ कार्यसमिति सदस्यहरूको सहभागिता थियो ।

सम्बन्धित खबर