२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

६ महिनामा करिब ४ लाख कामदार गए वैदेशिक रोजगारीमा

Nada
२०८१ माघ ६ गते ०६:२५
Shares
६ महिनामा करिब ४ लाख कामदार गए वैदेशिक रोजगारीमा

काठमाडौं : विगत ६ महिनाको अवधिमा झण्डै ४ लाख नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । यद्यपि, मंसिर महिनाको तुलनामा पुसमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा ८४ हजार २२६ जनाको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति भएकामा पुसमा करिब १७ हजारले कमी आई ६७ हजार २५८ जनाको मात्र श्रम स्वीकृति भएको छ । 

ncell

यस वर्ष असोजको तुलनामा कात्तिक महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या केही कम भए पनि मंसिर महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेको थियो । तर, पुसमा भने ठूलो संख्यामा कमी आएको हो । ६ महिनाको अवधिमा ३ लाख ९३ हजार ६७ जना वैदेशिक रोजगारीमा गएका छन् ।

पुस महिनामा म्यानपावर कम्पनीमार्फत २९ हजार ३१६ जना, नयाँ व्यक्तिगत श्रम स्वीकृतिमा १० हजार ८५ जना, श्रम स्वीकृति नवीकरणमार्फत २७ हजार २०३ जना तथा सरकारले पठाउने दक्षिण कोरिया तथा इजरायलमा ६५५ जनाको श्रम स्वीकृति भएको छ ।

पुस महिनामा पुनः श्रम स्वीकृतिमार्फत जाने र म्यानपावर कम्पनीमार्फत जानेको संख्या हाराहारी छ । विभागले अघिल्ला महिनाहरूमा वैदेशिक रोजगारीमा देशगत रूपमा गएको विवरण सार्वजनिक गर्ने गरेको भए पनि पुसमा वर्गीकरण गरेर देशगत रूपमा श्रम स्वीकृति भएको विवरण सार्वजनिक गरेको छैन । 

हाल सबैभन्दा धेरै नेपाली कामदार यूएई जाने गरेका छन् । यूएईपछि क्रमशः साउदी अरेबिया र कतार जाने गरेका छन् । कतारमा होटल क्षेत्रको अकुपेन्सी बढे पनि विश्वकप फुटबलपछि नयाँ रोजगारी सिर्जना हुन नसकेको बताइएको छ । 

पुसमा मलेसियाबाट केही नयाँ डिमान्ड आउन सुरु भएको विभागले बताएको छ । मलेसियाको पाम आयल क्षेत्रमा विदेशी कामदारको अभाव भए पनि नयाँ एप्रुभल खुलेको छैन ।

सम्बन्धित खबर