२०८१ फागुन ६ गते मङ्गलवार / Feb 18 , 2025 , Tuesday
२०८१ फागुन ६ गते मङ्गलवार
Ads

शेरा दरबार प्रकरण : १६८ रोपनी जग्गा जफत गरिने

hardik ivf
जानकी पाठक
२०८१ पुष १३ गते ०६:४०
शेरा दरबार प्रकरण : १६८ रोपनी जग्गा जफत गरिने

काठमाडौं : नुवाकोटस्थित शेरा दरबारको १६८ रोपनी जग्गा नेपाल सरकारको नाममा आउने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दरबारको जग्गा दुरुपयोग भएको निष्कर्ष निकालेको छ । यही निष्कर्षका आधारमा सीआईबीले सरकारको नाममा ल्याउन भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्राचार गरेको हो । 

सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उक्त जग्गा नेपाल सरकारको नाममा ल्याउन तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि भूमि विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गरेका हुन् । 

अख्तियारले जग्गाका विषयमा विगतदेखि नै चासो राखिरहेको छ । थप अनुसन्धानका लागि आवश्यक कागजातसहितको प्रतिवेदन पठाइएको सीआईबीले जनाएको छ । 

सीआईबीका अनुसार शेरा दरबारको जग्गाको सम्बन्धमा ४ महिना लगाएर अनुसन्धान गरेको हो । दरबारको १६८ रोपनी जग्गा हदबन्दीको प्रयोजनविपरीत भोगचलन गरेको सीआईबीको निष्कर्ष छ । 

सीआईबीका अनुसार पृथ्वीनारायण शाहले नुवाकोटमा १८४ रोपनीमा शीतकालीन दरबार निर्माण गरेका थिए । शाह परिवारबाट नामसारी हुँदै आएको उक्त जग्गा हेलेन शाह र जयन्ती शाहको नाममा पुगेको थियो । २०३६ सालमा हदबन्दी लागू भएपछि हेलेन र जयन्तीको नाममा रहेको बाहेकको १६८ रोपनी जग्गा मालपोत कार्यालयबाट गौरीशंकर फार्मिङको नाममा राखिएको पाइएको छ । 

नुवाकोट घर भएका विकेश श्रेष्ठले २०४४ सालमा गौरीशंकर फार्मिङको नाम परिवर्तन गरेर अन्नपूर्ण फार्मिङको नाममा भोगचलन गरेका थिए । मालपोत कार्यालयको स्रेस्तामा केरमेट गरेर गौरीशंकर फार्मिङलाई अन्नपूर्ण फार्मिङ बनाएको पाइएको सीआईबीले जनाएको छ । 

२०६६ सालसम्ममा विकेश श्रेष्ठसहित ६ जना शेयर सदस्य भएर सो जग्गा भोगचलन गरेका भेटिएको प्रहरीको भनाइ छ । हाल अन्नपूर्ण फार्मिङ विकेश र उनको परिवारका नाममा मात्र रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise