२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

स्काउटसँग जोडेर उर्जामन्त्रीमाथि लगाइएको आरोप गलत

Nada
२०८१ मंसिर २७ गते १६:३४
Shares
स्काउटसँग जोडेर उर्जामन्त्रीमाथि लगाइएको आरोप गलत

काठमाडौ‌ंः नेपाल स्काउटले उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्कालाई आफ्नो संस्थासँग जोडेर विभिन्न सञ्चारमाध्याम् र सामाजिक सञ्जालमा प्रकाशित समाचार सामग्रीप्रति ध्यानाकर्षण भएको भन्दै आपत्ति प्रकट गरेको छ । नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जित  र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिका अध्यक्ष विकल थापा क्षेत्रीले संयुक्त विज्ञप्ति जारी गरी ऊर्जामन्त्री खड्कालाई स्काउटसँग जोडेर भ्रामक एवं तथ्यहीन समाचार प्रकाशन भइरहेको भनी आपत्ति प्रकट गरेका हुन् ।

ncell

उनीहरूले पवित्र संस्था स्काउटलाईसमेत मुछेर नियोजित रुपमा झुठा समाचार सम्प्रेषण भएकोमा दुःख व्यक्त गर्दै सत्यतथ्य एवं आधिकारिक समाचार सम्प्रेषण गर्न सम्बन्धित सञ्चार माध्यमसँग अनुरोध गरेका छन् । ‘ऊर्जामन्त्री खड्का विगत दुई वर्षदेखि खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग सम्बन्धित नरहेको जनाउँदै कम्पनी रजिष्ट्रारको कार्यालयबाट शेयर लगतको जानकारी प्राप्त हुन आएको छ, तथ्य नबुझिकन समाचार प्रकाशन हुँदा व्यक्तिगत चरित्रमाथि प्रहार भएको छ', संयुक्त विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा विगतमा संस्थागत रुपमा नेपाल स्काउट तथा खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच व्यावसायिक विषयमा केही असमझदारी भए पनि पछिल्लो समयमा उक्त असमझदारीलाई पूर्णरुपमा निराकरण गर्ने उद्देश्यले दुवै पक्षका जिम्मेवार प्रतिनिधिबीच निरन्तर भेटघाट, छलफल तथा संवादहरू चलिरहेको र समाधान निकट पुगिसकेको जनाइएको छ ।

स्काउट र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौता भएबमोजिम ‘वहाल’वापतको बक्यौता हिसाबकिताब भइ निरन्तर रुपमा वक्यौता रकम दाखिला भइरहेको र  वक्यौता वापतको बाँकी साँवा रकम आगामी दश दिनभित्र दाखिला गरिसक्ने सम्झौता भइसकेको पनि विज्ञप्तिमा उल्लेख छ । यसैगरी जिम्मेवार दुई पक्षबीचको आपसी समझदारीमा निराकरण उन्मुख विषयप्रति न्यूनतम जानकारीसमेत नराखी नियोजित रुपमा समाचार प्रकाशन तथा प्रसारण गर्नु प्रतिष्ठित सञ्चार माध्यमहरूलाई कदापी शोभनीय नहुने भनी सम्बद्ध पक्षको ध्यानाकर्षण गरिएको छ । 

उनीहरूले सञ्चार माध्यमको विश्वसनियता र निष्पक्षतामाथिसमेत गम्भीर प्रश्न उठ्नसक्ने  तथा विश्वासको वातावरण खल्बलिन सक्ने भन्दै मन्त्रीजस्तो सार्वजनिक पदमा रहेका जिम्मेवारी व्यक्तिको चरित्र हत्या गर्ने र स्काउटजस्तो पवित्र संस्थाको प्रतिष्ठा गिराउने गरी प्रायोजित समाचार सम्प्रेषण नगरिदिन सम्बद्ध सञ्चारमाध्यमसँग अपिल गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर