२०८२ कार्तिक ११ गते मङ्गलवार / Oct 28 , 2025 , Tuesday
२०८२ कार्तिक ११ गते मङ्गलवार
Ads

स्याङ्जामा क्षयरोग खोजपड्ताल अभियान

shivam cement
मध्यान्ह
२०८१ मंसिर २० गते १५:४७
स्याङ्जामा क्षयरोग खोजपड्ताल अभियान

स्याङ्जा : स्याङ्जाको भीरकोट नगरपालिका–१ बयरघारी बजारमा क्षयरोग खोजपड्ताल शिविर गरिएको छ । शिविरमा आएका मध्ये ११ जनामा क्षयरोगका संक्रमण पुष्टि भएको छ भने थप ३९ जना शंकास्पद देखिएका छन् ।  

स्याङ्जाका ११ पालिकामध्ये भीरकोटमा परीक्षण गरिएका मध्ये २ दशमलव ४ प्रतिशतमा क्षयरोगको संक्रमण देखिएको छ । शिविरमा आएका मध्ये ४ सय ५० जनाले स्वास्थ्य परीक्षण गरेका थिए । ती मध्ये ३९ जनामा क्षयरोग हुनसक्ने आशंकामा खकारको नमुना परीक्षणका लागि जीन एक्सपर्ट ल्याब पठाइएको स्वास्थ्य कार्यालयका क्षयरोग अधिकृत विष्णु सुवेदीले जानकारी दिए । 

जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)को आयोजनामा स्वास्थ्य कार्यालय स्याङ्जाको समन्वय तथा क्षयरोग उपचार केन्द्र पोखराको सहकार्यमा भीरकोट शिविर गरिएको हो । 

एआई पद्धतिको डिजिटल पोर्टेबल आधुनिक मेशिनबाट विशेषज्ञ चिकित्सक सहितको टोलीले छातीको एक्सरे विधिबाट स्वास्थ्य परीक्षणमा गरिएको थियो । 

दीर्घरोगी, बयोवृद्धा, क्षयरोगको सम्पर्कमा आएका जोखिमपूर्ण समूहलाई लक्षित गर्दै शिविर आयोजना गरिएको भीरकोटका उपप्रमुख भगवती अर्यालले बताइन् । लाज र डरले रोग लुकाएर बस्न नहुने उनको भनाइ छ । सबै स्वास्थ्य संस्थाबाट निःशुल्क प्राप्त हुने औषधी नियमित सेवन गरेमा समयमै रोग निको हुने हुँदा नडराउन, नआत्तिनु तथा नलुकाउन उनको सुझाव छ । 

क्षयरोगको औषधी सबै स्वास्थ्य संस्थाबाट निःशुल्क पाइन्छ । नियमित र चिकित्सकको सल्लाह बमोजिम औषधी सेवन गरे क्षयरोग निको हुन्छ । निरन्तर ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, वाकवाक हुने, खकारमा रगत लगायतका लक्षण देखिएमा क्षयरोग हुन सक्ने अनुमान गर्दै स्वास्थ्यकर्मीको सल्लाह लिन क्षयरोग उपचार केन्द्र पोखराका निर्देशक डा. सुनिलराज गौतमको भनाइ छ । 

आर्थिक वर्ष २०८०/०८१ मा क्षयरोगका संक्रमणबाट १४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव चापागाईंले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा २८१ जना नयाँ क्षयरोगी भेटिएको छ । नगरपालिका मध्ये वालिङ नगरपालिकामा ७९, पुतलीबजारमा ४३, गल्याङमा ५०, चापाकोटमा ३३, भीरकोटमा २३ जना छन् ।

यसैगरी, फेदीखोला गाउँपालिकामा ६ जना, कालीगण्डकीमा २३, हरिनासमा ५, विरुवामा १०, अर्जुनचौपारीमा ५ र आँधीखोलामा ४ जना क्षयरोगी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यहाँको प्रतिलाख जनसंख्यामध्ये १३४ जना क्षयरोगी भेटिएको कार्यालयले जनाएको छ । 
 

ADV

सम्बन्धित खबर

Advertise