२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

जग्गा खोज्दै प्रशासन पुगे शितगंगा-१२ का स्थानीय

सुर्य प्रसाद भुसाल
२०८१ भदौ १४ गते २१:४६
जग्गा खोज्दै प्रशासन पुगे शितगंगा-१२ का स्थानीय

अर्घाखाँची : शितगंगा नगरपालिका वडा नं.१२ का देवेन्द्र पौडेलको शितगंगा १२ डोहोटेमा बसाइँ छ । उनको परिवार त्यही ठाउँमा खेतीपाती गरेर जग्गाको संरक्षण गरी दैनिक गुजारा गर्दै आएको छ । सरकारी रेकर्ड हेर्दा पौडेलको जग्गा नक्सामा छैन । जसले गर्दा उनी चिन्तित बनेका छन् । उनी मात्र होइन उनी जस्ता दर्जनौं घरपरिवारको लालपुर्जा भएपनि जग्गा नक्सामा छैन । 

जग्गाको नक्सा नभएको तर लालपुर्जा आफ्नो नाममा रहेको रातो लालपुर्जा बोकेर पौडेल सन्धिखर्क विशेष नापी कार्यालयमा पुगेर अमिनसँग जग्गाको नक्सा खोज्न थालेको धेरै भयो, तर उनको समस्या समाधान भने हुन सकेको छैन् । लालपुर्जा भएको जग्गा नापजाँचका लागि विशेष नापी र मालपोत कार्यालय सन्धिखर्क पुग्दा पनि दर्जनौं स्थानीहरुको समस्याको कुनै सुनुवाइ नभएको स्थानीय मोहन प्रसाद बन्जाडेले गुनासो गरे । 

१२ नम्बर वडाका स्थानीयले पुर्खांहरुदेखि अहिलेसम्म सयौं वर्ष आफूले भोग चलन गरेको जग्गाको नयाँ लालपुर्जा पाउन नसकेपछि आन्दोलनका लागि आएपनि सुनुवाइ नभएको उनको चिन्ता छ । 

२०५७ सालमा मालपोत कार्यालय अर्घाखाँचीबाट आफुहरुले प्राप्त गरेको लालपुर्जा आफूहरुको बाकसमा रहेको र सोही पुर्जाको आधारमा शितगंगा नगरपालिकामा तिरो तिर्दै आएको भएपनि अहिले नयाँ पुर्जा पाउन नसकेपछि आफुहरु सुकुम्वासी जस्तै भएको शीतगंगा–१२ का स्थानीय  जीवन गैरेले बताए ।

अर्घाखाँची जिल्लाभर विशेष नापीले जग्गा नापी गरेर सक्दा पनि आफुहरुको जग्गा नापजाँच नभएपछि जग्गा नाप जाँच गरेर आफुहरुले नापीबाट नक्सासहितको पुर्जा पाउनुपर्ने मागसहित नाराबाजी गर्दै सयौँ जनाले जिल्ला प्रशासन कार्यालयमा अर्घाखाँची पुगेर सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायलाई ज्ञापनपत्र बुझाइ जग्गा माग गरेका छन् । 

सशस्त्र द्वन्द्वको समयमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले २०५९ र २०६१ सालमा गरेको सन्धिखर्क सदरमुकाम आक्रमणमा जग्गासम्बन्धी सबै कागजात जलेर नष्ट भएको कारण समस्या उत्पन्न भएको सरकारी अधिकारीहरु बताउँछन् । त्यसपछि अर्घाखाँची जिल्लामा पुनः नापीबाट जग्गा नापी गरी नयाँ लालपुर्जा वितरण शुरु गरेपछि धेरैले नक्सासहित पुर्जा प्राप्त  गरेका छन् ।

वडा कार्यालय, नगरपालिकाको कार्यालय, विशेष नापी कार्यालयलगायत कार्यालयमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि आफूहरूको माग सुनुवाइ नभएपछि स्थानीय प्रमुख जिल्ला अधिकारीसमक्ष पुगेका हुन् ।

शीतगंगा नगरपालिका–१२ को खुम्चीकोट, पिरापानी, खलेयाखर्क, दमारे, धौलेटाकुरा, दरबारे, टिकरी, जलुके, टर्रेलगायतका झण्डै १ सय ६० जनाले तिरो तिरेको रसिद र पुरानो जग्गाधनी पुर्जा देखाउँदा पनि नयाँ पुर्जा पाउन नसकेको पिरापानीका स्थानीय  खगेन्द्र गैरेले बताए । 

२०४० सालमा एकसरो नापी भएको नक्सा र अहिले त्यस स्थानका स्थानीयले भोगचलन गरेको जग्गाको नक्सा नमिलेपछि पुर्जा दिन नसकेको विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख डिल्लीराज भण्डारीले मध्यान्हलाई जानकारी दिए । यस्तो समस्याबारेमा विभाग र मन्त्रालयमा जानकारी पनि गराएको भण्डारीको भनाइ छ ।

स्थानीयले अहिले भोगचलन गरेको जग्गा छ, नापी पनि पुनः गरिएको भएपनि २०४० सालको नापीको नक्सामा जंगल देखिएकाले पुर्जा दिन नसकेको नापी कार्यालयले जानकारी गराएपछि आफु भुमिसुधार मन्त्रालयमा पुगेर त्यहाँको समस्याबारे विभागिय सचिवसँग समेत छलफल गरेकोले यसको निकास छिटो निकाल्नुपर्ने शितगंगा नगरपालिकाका प्रमुख छबिलाल पौडेलले बताए ।

ADV

सम्बन्धित खबर