
कपिलवस्तु : कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि हालसम्म भएका लागू औषध कारोबारसम्बन्धी १५ वटा मुद्दामा ३० जना अभियुक्त पक्राउ परेका छन् ।
त्यस अवधिमा २१ ग्राम २१० मिलिग्राम खैरो हेरोइनसहित विभिन्न लागू औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार लागू औषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेमा २३ पुरुष र सात महिला छन् । सो अवधिमा पाँच किलो २२५ ग्राम चरेस, १० किलो ३६४ ग्राम अफिम, १३० ग्राम गाँजा पनि बरामद गरिएको विवरणमा उल्लेख छ । प्रहरीले २० वटा नाइट्राभेट, आठ वटा स्पास्मो र कोडिन सिरफका एक बोतल बरामद गरेको छ ।
प्रहरीले गएराति कपिलवस्तुको शिवराज नगरपालिका–२ हल्लानगरबाट खैरो हेरोइन जस्तो पदार्थसहित २३ वर्षीया अस्मिता बोहरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले गएराति निज बोहराको घरमा खानतलासी गर्दा उक्त पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।