२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

उत्साह जगाउने चाड दसैं

Nada
अच्युतप्रसाद पौडेल 'चिन्तन'
२०८३ असोज २६ गते ०६:००
Shares
उत्साह जगाउने चाड दसैं

वर्षभरिको ठुलो चाड दसैंले नयाँ उत्साह र जाँगर थप्ने गर्छ । तर केही वर्षयता यसको रौनक र मौलिकता दुवै कमजोर हुँदै गएका छन् । विदेशमा रहेका सन्ततिलाई बाबुआमाले अनलाइनबाट टीका लगाइदिनुपर्ने अवस्था छ । शिक्षा र रोजगारीका लागि देश–देशान्तर पुगेको नयाँ पुस्ता आज पुरानो पुस्तासँग नजिक छैन । त्यसैले धेरै परिवारका लागि दसैं उत्सवभन्दा दूरी र सम्झनाको पर्व बन्न थालेको छ । 

ncell

सन्तति साथमा नहुँदाको पीडा बोकेर नाम मात्रको दसैं मनाउने परिवार छन् । हुनेखानेका लागि सधैं दसैंजस्तो भए पनि हुँदा खानेका लागि दसैं नै दशा बन्न थालेको छ । महँगीले चाडको रौनक खोसेको छ । सस्ता सामान खोज्दै सुपथ मूल्यका पसल धाउनुपर्ने अवस्था छ । दसैंको मुखमा चिनी, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको अभाव देखिनु हाम्रो आपूर्ति व्यवस्थाको कमजोरी हो । 

त्यसमाथि प्रकृतिको ताण्डवले पीडा थपेको छ । भोटेकोसीलगायतका बाढीपहिरोले चाडपर्वको खुसी खोसेको छ । कतिपय परिवार विपत्तिबाट उठ्न नपाउँदै अर्को संकटमा परेका छन् । 

खाद्यान्नदेखि दैनिक उपभोग्य सामग्रीसम्म विदेशबाट ल्याउनुपर्ने अवस्था छ । उत्तरी नाका बन्द हुँदा आपूर्ति प्रभावित हुन्छ । स्वदेशी उत्पादन बढाउने, सुशासन कायम गर्ने प्रतिबद्धता गरिए पनि उपभोक्ताले राहत महसुस गर्न सकेका छैनन् । रासायनिक मलको अभाव धान रोप्ने बेला देखिन्छ, धान भित्र्याउने बेला भने गोदाममा मल थन्किएको सुनिन्छ ।

शारदीय नवरात्रिमा खेतका धानका बाला झुल्नुपर्ने हो । तर कतिपय परिवारका लागि दुई किलो चामल स्कुटीमा ल्याएर कोठामा एक्लै दसैं मनाउनुपर्ने अवस्था छ । कसैको साथी विदेशमा छ, कसैकी श्रीमती वा श्रीमान् खाडीमा । परिवारको भौगोलिक दूरी बढ्दै जाँदा दसैं–तिहारको आत्मीयता पनि खल्लो बन्दै छ । जन्मदर घट्नुका पछाडि आर्थिक दबाब र परिवार पाल्न बढेको कठिनाइ पनि एउटा कारण हो । 

हिजोको दसैंमा घर–आँगन रातो र सेतो माटोले पोतिन्थ्यो । ढोका–झ्याल सिँगारिन्थे । रोटेपिङ हुन्थ्यो । बारीका तरकारी, घरकै खसीबोका र स्थानीय परिकारले दसैंको भान्सा भरिन्थ्यो । नजिकैको धारामा नुहाएर, घरमै राखिएको जमरा शिरमा सिउरिएर मौलिक ढंगले चाड मनाइन्थ्यो । 

आज त्यो दृश्य फेरिएको छ । खेतमा धानका बाला कम देखिन्छन् । खसीबोका आयात गर्नुपर्ने अवस्था छ । दसैंका मसलादेखि तरकारी र फलफूलसम्म ठुलो हिस्सा बाहिरबाट आउँछ । विषादी र अस्वस्थ उत्पादनका कारण टन्न खानुपर्ने चाडमा पनि के खाँदै छौं भन्ने चिन्ता थपिएको छ । बजारका आकर्षक वस्तु घर ल्याएको केही समयमै बिग्रने अवस्था उपभोक्ताका लागि अर्को चुनौती हो ।

कर्णालीमा खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था अझै अन्त्य भएको छैन । त्यसमाथि कमिसनको खेलको आरोपबाट यस्ता कार्यक्रम मुक्त हुन सकेका छैनन् । सहुलियतका सामानका लागि लामो लाइन छ । सुपथ मूल्यका पसलमै म्याद गुज्रिएका सामान भेटिने गुनासो सुनिन्छ । सरकार बजार नियन्त्रण गर्न कमजोर देखिन्छ । बिचौलियाको प्रभाव बलियो छ । आयातित सामानमा भन्सार लाग्छ, त्यसको थप भार अन्ततः उपभोक्तामाथि पर्छ ।

नयाँ सरकारले पनि पुरानो जालो तोड्न सकेको छैन । सरकारी संयन्त्रमा जंग लागेकै छ । कर्मचारीतन्त्र सुधारका प्रयास सुस्त छन् । विपत्तिले सरकारलाई थप असहज बनाएको छ । राजनीतिक अस्थिरता, अशान्ति, कुण्ठा र द्वन्द्वको वातावरणबाट देश अझै माथि उठ्न सकेको छैन । दसैं–तिहारपछि राजनीतिक आँधीबेहरी आउने संकेतले पनि नागरिकमा आशाभन्दा चिन्ता थपेको छ ।

भ्रष्टाचारमा संलग्नमाथि कारबाहीको प्रश्न पनि उस्तै छ । सरकार स्वयंमाथि प्रश्न उठिरहेका छन् । विरोधीलाई पक्राउ गर्ने र अदालतले छाड्ने क्रमले राज्य संयन्त्रप्रतिको विश्वास कमजोर बनाउँछ । चाडको बिदाको समयमा कसलाई समातिन्छ भन्ने अन्योलभन्दा सरकारले कानुनको समान र निष्पक्ष कार्यान्वयनमा विश्वास दिलाउनु आवश्यक छ ।

दसैंमा मात्र होइन, अरू समयमा पनि अबोध पशुपन्छीको ठुलो संख्यामा हत्या भइरहेको छ । पशु अधिकारका आवाज सुनिएका छैनन् । मानिसको शवमा छोइछिटो गर्ने समाजले पशुपन्छीको शवलाई भान्सामा ल्याएर खानुलाई सामान्य बनाएको छ । हाम्रो खानपान, संस्कार र संस्कृतिमा सात्त्विकताको प्रश्न पनि यससँग जोडिन्छ । 

मासुका लागि विदेशबाटै पशुपन्छी आयात गर्नुपर्ने अवस्था र त्यससँगै देशको ठुलो रकम बाहिरिनु पनि गम्भीर विषय हो । स्वास्थ्यका दृष्टिले अस्वस्थ खानपानले बढाइरहेका रोग र अस्पतालमा बढ्दो भिडले हाम्रो खाद्य प्रणालीमाथि प्रश्न उठाएको छ । तरकारी, फलफूल र मासुमा विषादी तथा गुणस्तरको समस्या छ । सरकारले पशु वधशाला, खाद्य सुरक्षा र उपभोक्ता हितसम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेको छैन ।

दसैं मासु, नयाँ लुगा र टीकाको मात्र पर्व होइन । यो परिवार जोड्ने, संस्कार जोगाउने, आत्मीयता बढाउने र समाजमा उत्साह भर्ने पर्व हो । त्यसैले दसैंको मौलिकता जोगाउन उत्पादन बढाउनुपर्छ, बजार व्यवस्थित गर्नुपर्छ, महँगी नियन्त्रण गर्नुपर्छ र खाद्यसुरक्षालाई प्राथमिकता दिनुपर्छ ।

सबैभन्दा ठुलो कुरा, दसैंलाई देखावटी उपभोगको पर्व होइन, आत्मीयता र सामाजिक सद्भावको पर्व बनाउनुपर्छ । बिदेसिएका सन्ततिलाई घर फर्किने वातावरण, विपत्तिमा परेकालाई राज्यको भरोसा र गरिब परिवारलाई सम्मानपूर्वक चाड मनाउने अवस्था बनाउन सकिए मात्र दसैंले आफ्नो पुरानो उत्साह र अर्थ पुनः प्राप्त गर्नेछ ।

सम्बन्धित खबर