२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

पूर्वीय शिक्षा : सभ्यताको पाठशाला

Nada
डा. देवीप्रसाद आचार्य
२०८३ असोज २५ गते ०६:०५
Shares
पूर्वीय शिक्षा : सभ्यताको पाठशाला

हाम्रो समाज पूर्वीय मूल्य, मान्यता, संस्कृति र संस्कारबाट प्रशिक्षित छ । पूर्वीय शिक्षाले अक्षरज्ञान मात्र दिएन, आत्मपहिचान र जीवन जिउने कला पनि सिकायो । जीविकोपार्जनका सीपसँगै मानवीय व्यवहार र कर्तव्यबोधको ज्ञान दियो । वेद, उपनिषद्, बुद्ध, महावीर, चाणक्य नीति तथा लोकज्ञानमा आधारित पूर्वीय शिक्षाले सत्य, करुणा, अनुशासन, आत्मसंयम र लोककल्याणका मूल्य स्थापित गरेको छ । चरित्र निर्माण, सहअस्तित्व र मानवीय मूल्यको जग बसाल्न पूर्वीय शिक्षाले महत्वपूर्ण भूमिका खेलेको छ । यस अर्थमा पूर्वीय शिक्षा मानव सभ्यताको पाठशाला हो ।

ncell

पूर्वीय शिक्षाले ज्ञानको मूल्य प्रमाणपत्रमा होइन, व्यक्तित्व निर्माणमा खोज्यो । हितोपदेशमा भनिएको छ, ‘विद्या ददाति विनयं, विनयाद् याति पात्रताम्’ अर्थात् विद्याले विनय दिन्छ र विनयले पात्रता जन्माउँछ । यही पूर्वीय शिक्षाको मूल दर्शन हो । यसले अहंकार त्यागेर विनम्र र सरल बन्न सिकाउँछ । जाति, भाषा, धर्म र सम्प्रदायभन्दा माथि उठेर सम्पूर्ण मानव जातिको कल्याणलाई शिक्षाको उद्देश्य मान्छ । ‘वसुधैव कुटुम्बकम्’को भावना, बुद्धको करुणा, महावीरको अहिंसा र उपनिषद्को आत्मबोध यसका महत्वपूर्ण आधार हुन् ।

प्राचीनकालमा शिक्षा ऋषिकुल, देवकुल, पितृकुल, राजकुल र गुरुकुलमा केन्द्रित थियो । वैदिक कालमा शिक्षाको सम्पूर्ण गतिविधि गुरुमै निहित हुन्थ्यो । गुरु र ऋषिहरू समाजका अगुवा मानिन्थे। त्यस समयको सामाजिक जीवनमा नैतिक व्यवहार र आत्मअनुशासनलाई महत्त्व दिइन्थ्यो । तर आधुनिक शिक्षा प्रणालीको विकाससँगै नैतिकता, लोककल्याणको भावना, संस्कार र कर्तव्यबोधजस्ता मानवीय गुण कमजोर बन्दै गएको अग्रज पुस्ताको ठम्याइ छ ।

समाज परिवर्तनशील हुन्छ । समाजको परिवर्तनसँगै शिक्षा बदलिन्छ भने शिक्षाले पनि समाजलाई रूपान्तरण गर्छ । यस अर्थमा शिक्षा र समाजबीच अन्योन्याश्रित सम्बन्ध छ । नेपालमा आधुनिक शिक्षाको विस्तार २००७ सालपछि तीव्र भएको मानिन्छ । आधुनिक शिक्षामा पूर्वीय सभ्यता र दर्शनको प्रभाव भने क्रमशः घट्दै गएको पाइन्छ । शिक्षा प्रणालीमा पूर्वीय सभ्यता र मानवीय मूल्य समेट्न सकिएन भने त्यो सुवास नभएको फूलजस्तै हुन्छ । त्यसैले आधुनिकताको नाममा पूर्वीय दर्शनका मूल्य र मान्यता बिर्सनु हुँदैन ।

शिक्षालाई समयसापेक्ष बनाउने बहस अहिले सान्दर्भिक छ । शिक्षा वैज्ञानिक, अनुसन्धानमुखी र खोजमूलक हुनुपर्छ । विज्ञान, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनु समयको माग पनि हो । तर आधुनिक शिक्षामा पूर्वीय शिक्षाका आधारभूत मूल्य समावेश नगर्ने हो भने मानवीय संवेदना, संस्कार, विवेक र नैतिकता ओझेलमा पर्न सक्छन् । त्यसैले पूर्वीय सभ्यताको मर्मलाई आधुनिक शिक्षासँग जोड्नु आवश्यक छ ।

रवीन्द्रनाथ ठाकुरले उच्चतम शिक्षाले सूचना मात्र नदिई मानिसको जीवनलाई समग्र अस्तित्वसँग सामञ्जस्यमा बाँध्नुपर्ने विचार व्यक्त गरेका छन् । पूर्वीय शिक्षाले पनि ज्ञानलाई जीविकोपार्जनको साधनमा मात्र सीमित राखेन । यसले मानव, प्रकृति र समग्र सृष्टिबीच सन्तुलन, सहअस्तित्व, मानवता र आत्मीयताको सम्बन्ध स्थापित गर्न जोड दियो । शिक्षित हुनु भनेको सफल हुनु मात्र होइन, असल व्यक्ति बन्नु पनि हो ।

शिक्षा व्यक्तिको सर्वाङ्गीण विकासको साधन हो । यसअन्तर्गत आध्यात्मिक, सांस्कृतिक, नैतिक, बौद्धिक, सामाजिक, भाषिक र मानवीय गुणको विकास आवश्यक हुन्छ । पारिवारिक मेलमिलाप, सामाजिक सद्भाव, सहयोग, शान्ति र सुव्यवस्था कायम गर्न नागरिक अनुशासित, सहयोगी, मानवतावादी र सहनशील हुनुपर्छ । यस्ता गुणको विकासमा पूर्वीय दर्शनले महत्त्वपूर्ण योगदान दिन सक्छ ।

आज विश्व कृत्रिम बुद्धिमत्ता, भौतिक विकास र वैज्ञानिक उपलब्धिको उचाइमा पुगिरहेको छ । अर्कोतर्फ युद्ध, हिंसा, अमानवीय व्यवहार, अहंकार र शक्तिको प्रतिस्पर्धाले विश्व समुदायलाई चिन्तित बनाएको छ । भौतिक समृद्धिलाई मात्र सफलताको मापदण्ड मान्ने प्रवृत्तिले मानवीय मूल्य कमजोर पार्न सक्छ । यस्तो अवस्थामा विश्व समाजलाई सहिष्णु, उत्तरदायी र विवेकी बनाउन पूर्वीय दर्शन मार्गदर्शक बन्न सक्छ ।

शिक्षाशास्त्री ओटावेले मानिसलाई सामाजिक र मानवीय जीवनमा अभ्यस्त बनाउन घर, परिवार, समुदाय र विद्यालयलगायतका संस्थाको भूमिका महत्त्वपूर्ण हुने आशय व्यक्त गरेका छन् । बालबालिकाले प्राप्त गर्ने शिक्षा, वातावरण र संस्कारले उनीहरूको ज्ञान तथा व्यक्तित्व निर्माणमा प्रभाव पार्छ । त्यसैले अबको शिक्षाले शक्तिको प्रतिस्पर्धामा मात्र होइन, सत्यको बाटोमा हिँड्ने नागरिक उत्पादन गर्नुपर्छ । द्वेषको सट्टा सहअस्तित्व, ज्ञानसँगै विवेक र ‘सर्वे भवन्तु सुखिनः’को मर्म बुझ्ने तथा व्यवहारमा उतार्ने नागरिक निर्माणमा शिक्षाले योगदान दिनुपर्छ ।

हामी एक्काइसौँ शताब्दीको तेस्रो दशकमा छौँ। पुराना सबै कुरा बिर्सेर मात्र समाज अगाडि बढ्न सक्दैन, न त आधुनिक विकासका आधारभूत मूल्यलाई बेवास्ता गरेर नै। त्यसैले विज्ञान, प्रविधि, अनुसन्धान, नवप्रवर्तन, डिजिटल ज्ञान र सीपसँगै पूर्वीय सभ्यताका मानवता, सहिष्णुता र नैतिकताजस्ता गुणलाई पनि शिक्षाको अभिन्न अङ्ग बनाउनुपर्छ ।

मानव सभ्यताको भविष्य प्रविधिको विकास, आर्थिक समृद्धि र आधुनिक पूर्वाधारले मात्र सुरक्षित हुँदैन । यसका लागि उच्च नैतिकता, मानवीय संवेदना र कर्तव्यबोध आवश्यक हुन्छ । मौलिक सभ्यताको ज्ञानबाट टाढिएको शिक्षा प्राविधिक रूपमा सक्षम भए पनि सांस्कृतिक रूपमा कमजोर हुन सक्छ । त्यसैले पूर्वीय दर्शन र सभ्यतालाई विगतको स्मरणमा मात्र सीमित नगरी भविष्यको शैक्षिक मार्गचित्र बनाउनुपर्छ ।

आधुनिक विज्ञानको यात्रामा पूर्वीय ज्ञानको आलोक मिसिँदा मात्र सुन्दर, सुसंस्कृत र सभ्य समाज निर्माणको आधार बलियो हुन्छ । वैज्ञानिक उपलब्धि बढ्दै जाँदा पनि विश्वमा शान्ति, विश्वास, नैतिकता र सहअस्तित्वका प्रश्न उठिरहेका छन् । देशको भविष्य राजनीतिबाट मात्र होइन, विद्यालय र विश्वविद्यालयका कक्षाकोठा तथा प्रयोगशालाबाट पनि निर्माण हुन्छ । त्यसैले अबको शिक्षाले विज्ञानलाई विवेकसँग, प्रविधिलाई नैतिकतासँग, सीपलाई संस्कारसँग र ज्ञानलाई करुणासँग जोड्न सक्नुपर्छ ।

अन्ततः ज्ञानमा करुणा, शक्तिमा मर्यादा र प्रगतिमा मानवता आजको आवश्यकता हो । आधुनिक शिक्षा खोज, अनुसन्धान र नवप्रवर्तनको बाटोमा अघि बढ्नुपर्छ । सँगसँगै डिजिटल प्रविधि र आधुनिक जीवनशैलीमा गुरुकुलको अनुशासन, बुद्धको करुणा, उपनिषद्को आत्मबोध तथा लोकजीवनको व्यावहारिक ज्ञानलाई समेट्नु पनि उत्तिकै आवश्यक छ । आधुनिकता र पूर्वीय मूल्यको समन्वयबाट मात्रै ज्ञानवान्, विवेकी र मानवीय समाज निर्माण गर्न सकिन्छ ।

ताजा खबर

सम्बन्धित खबर