
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले विपद्का जोखिम न्यूनीकरणका लागि छिमेकी राष्ट्रसंग पनि समन्वय गर्न आवश्यक रहेको बताएकी छिन् ।
सोमवार काठमाडौँमा आयोजित विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी कानुनी प्रावधान र कार्यान्वयनको अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले नेपालको सीमासँग जोडिएका राष्ट्रहरूसँग कूटनीतिक संवाद अघि बढाउनुपर्ने बताएकी हुन् । उनले विपद् नेपालमा मात्र सीमित विषय नभएकाले सीमावर्ती राष्ट्रहरूसँग समन्वय र संवाद आवश्यक रहेको बताइन् । छिमेकी मित्रराष्ट्रसँग मात्र नभई अन्तर्राष्ट्रिय तहमा समेत कूटनीतिक पहल र संवाद शुरु गर्नुपर्ने उनको भनाई छ । उनले विपद्जन्य पूर्व सूचना प्रणालीलाई पनि थप प्रभावकारी बनाउन आवश्यक देखिएको बताइन् । पूर्व सूचनाले पनि विपद्मा धेरैको ज्यान जोगाउन सकिने उनको भनाई छ ।
उनले भनिन्, ‘विपद् नेपालको मात्रै होइन, हाम्रो सीमाहरूसँग जोडिएको राष्ट्रहरूसँग पनि हामीले त्यसको न्यूनीकरणको लागि कूटनीतिक संवाद शुरु गर्नुपर्छ । छिमेकी मित्रराष्ट्रहरूसँग मात्रै नभईकन हामीले अन्तर्राष्ट्रियमा पनि हामीले कूटनीतिक पहल गर्नुपर्छ, संवाद हामीले शुरु गर्नुपर्छ ।’
उनले सरकारले रसुवा बाढीमा परेकाहरूको उद्धार र राहत वितरणमा ढिलाइ गरेको उनको भनाई छ । उनले तत्काल पुन:स्थापना र पुनर्निर्माणको काम थाल्न पनि सरकारसँग माग गरिन् ।