२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

पनौती बैठकमा पनि सुल्झिएन एमाले विवाद

बादल र शंकर–विष्णुले पुनर्लेखन गर्ने

Nada
२०८३ भदौ ३० गते ०६:२५
Shares
पनौती बैठकमा पनि सुल्झिएन एमाले विवाद

काठमाडौं : नेकपा एमालेमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार गरेको प्रतिवेदनमाथिको छलफल निष्कर्षविहीन टुंगिएको छ । प्रतिवेदनलाई अन्तिम रूप दिन काभ्रेको पनौती–११, बल्थलीस्थित एक होटलमा आइतबारदेखि आवासिय बैठक राखिएको थियो ।  बैठकमा महासचिव शंकर पोखरेलबाट प्रस्तुत पार्टी पुनर्गठनको प्रतिवेदनका पक्षमा बहुमत देखिए पनि सर्वसम्मत हुन सकेन । कार्यदलका संयोजक रामबहादुर थापा बादलले पेस गरेको संशोेधन प्रस्तावले विवाद गहिरिएपछि साझा प्रतिवेदन बनाउने जिम्मा तीन नेतालाई दिएर बैठक टुंगिएको छ । 

उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले नै देशव्यापी रूपमा उत्पन्न भएको संकट र पार्टी पुनर्जीवनको वकालत गरिरहँदा प्रतिवेदन पारित गर्ने नाममा अर्को संकट र फरक–फरक विषयको पैरवी गर्नुपर्ने परिस्थिति प्रिय नहुने भनेका थिए । ओली पक्षबाट प्राप्त भएको ४५ पृष्ठको संशोधित प्रतिवेदनका विषयलाई पनि मुख्य प्रतिवेदनकै अंग बनाएर सचिवालय र केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने भनिएको नेताहरूले बताएका छन् । 

प्रतिवेदनमाथि संशोधन प्रस्ताव पेस भएपछि सचिवालय र केन्द्रीय कमिटीका बैठकमा छलफलमा लैजाने तयारी भएको पार्टी सचिव शेरधन राईले बताए । असोज १ गतेअगावै दुई प्रतिवेदनको समायोजन गरिसक्ने गरी संयोजक बादल, पौडेल र पोखरेल रहेको तीन सदस्यीय पुनर्लेखन कमिटी बनाइएको छ । उक्त पुनर्लेखित प्रतिवेदनलाई असोज १ गते पार्टी कार्यालय च्यासलमा बस्ने कार्यदलको बैठकबाट पारित गर्ने योजना छ ।

सचिव राईले कार्यदलले ल्याएको प्रतिवेदनले नेतृत्व बर्हिगमनको अधिकार नराख्ने बताए । ‘कार्यदललाई पार्टीको नेतृत्व पुर्नगठनको अधिकार थिएन,’ उनले मध्यान्हसँग भने, ‘कार्यदललाई नभएको अधिकार महासचिवको प्रतिवेदनमा झल्कन्छ, त्यसले पार्टीमा अर्को संकट निम्तिने भएकाले यसलाई पार्टीको केन्द्रीय समितिमै छलफलमा लैजाने सहमति गरेका हौं ।’ 

व्यक्तिहरूको बहिर्गमनबाहेक समाधानमा जानुपर्ने भन्दै बादलले संशोधन प्रस्ताव पेस गरेको उनको भनाइ छ ।  ‘कार्यदल वा त्यसको प्रतिवेदन नै अन्तिम विषय होइन । कार्यदलले पेस गरेको प्रतिवेदनमाथि सचिवालय र केन्द्रीय कमिटीका बैठकमा छलफल हुन्छ,’ उनले भने, ‘ती दुई तहका छलफलबाट पनि निष्कर्ष नआए महाधिवेशनपछिको सर्वोच्च निकाय केन्द्रीय प्रतिनिधि परिषद्मा लैजाने सुविधा छ ।’  

बैठकमा ओलीपक्षीय नेताहरूले कार्यदलले पेलपाल गरेर प्रतिवेदन पारित गरेमा त्यसलाई नमान्ने र अन्य बैठकसमेत बस्न नसक्ने चेतावनी दिएको नेताहरू बताउँछन् । कार्यदलका संयोजक बादलले त ‘कार्यदलकै औचित्य छैन’सम्म भन्न भ्याएको एक नेताले बताए । त्यसपछि बैठकको वातावरण धमिलिन बन्न पुगेको थियो । ती नेताले बैठकमा नेताहरूको नोकझोकको अवस्थालाई स्मरण गर्दै भने ‘कमरेड, यो नेकपा एमाले हो, अर्को कुनै पार्टी होइन । तपाईंले हामीलाई एमाले सिकाउने होइन, पहिला आफैं एमाले बन्ने प्रयास गर्नुस् ।’ 

नेताहरूको नोकझोकबीच समापन गरिएको बैठकले पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदन अब कुन स्वरूपमा आउँछ प्रस्ट छैन । पार्टीको नीति र नेतृत्वबारे पुनर्विचार गर्न विशेष महाधिवेशनमा जाने कि सचिवालय, केन्द्रीय कमिटीदेखि प्रतिनिधि परिषद्सम्मका निकायबाट हल गर्ने भन्ने विषय पनि कार्यदलपछिका विभिन्न बैठकमै बहस गरिने नेताहरूले दाबी गरेका छन् ।  

कार्यदल बैठकमा पेश भएका दुईमध्ये महासचिव पोखरेलको प्रतिवेदनका पक्षमा बहुमत सदस्य भए पनि पारित नगरिएको एमालेका केन्द्रीय सदस्य झपड रावलले बताए । ‘पार्टी पंक्ति र जनसमुदायमा नेतृत्वप्रतिको आकर्षण घटेको स्थितिमा सुधार गरेर जान नसक्दा भविष्यमा झन् बढी क्षति हुन्छ भन्ने कुरामा अधिकांश साथिहरूको मतैक्यता थियो,’ रावलले भने । बैठकमा पदाधिकारीहरूबीच आपसी छेडछाडको स्थितीसमेत बनेको नेताहरूले बताएका छन् । 

सम्बन्धित खबर