२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

मानव–वन्यजन्तु द्वन्द्व रोक्न वनमा पानीको प्रबन्ध

Nada
२०८२ कार्तिक २९ गते १४:१६
Shares
मानव–वन्यजन्तु द्वन्द्व रोक्न वनमा पानीको प्रबन्ध

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट वन्यजन्तुका लागि पानीको व्यवस्था गरिएको छ । कावासोती नगरपालिका-१३ मा रहेको उक्त वनले वन्यजन्तुका लागि पानीको अभाव नहोस् भनेर सौर्य ऊर्जाबाट पानीको व्यवस्था गरेको हो । 

ncell

जङ्गली जनावरका लागि पानीको अभाव हुँदै गएपछि सामुदायिक वनभित्र सौर्य ऊर्जाबाट स्वचालित रूपमा पानी तान्ने व्यवस्था गरिएको नमुना मध्यवर्ती सामुदायिक वनका अध्यक्ष राजकुमार गुरुङले बताए। गर्मी याममा सिमसार सुक्ने  र वन्यजन्तुका लागि पानीको अभाव हुने तथा कहिलेकाहीँ वन्यजन्तु बस्तीतर्फ प्रवेश गर्ने जोखिम रहेकाले वनभित्र नै सौर्य ऊर्जाबाट पानीको व्यवस्था गरिएको अध्यक्ष गुरुङले बताए। “गर्मीमा पानीको अभाव हुन नदिन  वन क्षेत्रमा स्वचालित बोरिङ गाडिएको छ  । यसबाट मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सहयोग पुग्ने छ । घामलागुञ्जेल १४२ फिट गहिरो बोरिङले पानी फालिरहन्छ”, उनले भने।

गत वर्ष बुद्धढाप घोलमा पानी सुकेपछि भाडामा जेनरेटर ल्याएर करिब रु ८० हजार खर्च गरेर पानीको व्यवस्था गरे पनि त्यसरी खर्चिलो र पानीको मात्रा नपुगेपछि यो वर्ष हिमालय नेचर संस्थाको सहयोगमा सौर्य ऊर्जाबाट पानीको व्यवस्था गरिएको अध्यक्ष गुरुङले बताए । आठ लाखको लागतमा बोरिङको व्यवस्था गरिएको उनले बताए ।  

नमुना मध्यवर्ती सामुदायिक वन जिल्लाका धेरै गैँडाको बासस्थान भएको वनका रूपमा समेत रहेको छ । वन क्षेत्र भित्र एक सय ७२ हेक्टर क्षेत्रफलको घाँसे मैदान निर्माण गरिएको छ । वनमा गैँडा, मृग,हरिण , बँदेल ,बाघ, भालु पाइन्छन् ।

 नमूनासँगै जोडिएका गुन्द्रही ढकाहा, कृष्णसार र शान्तिकुञ्ज सामुदायिक वनलाई एकीकृत रूपमा वन्यजन्तु अवलोकन क्षेत्रका रूपमा विकास गरिएको छ । अमलटारी क्षेत्रमा पर्ने यी वनमा दैनिक रूपमा वन्यजन्तु अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । 

अमलटारी घरबास सँगै यो  वन क्षेत्र भएकाले यहाँ आउने पर्यटकलाई यसै वन क्षेत्रमा वन्यजन्तु अवलोकनका लागि लैजाने गरिन्छ । पानीको श्रोत नभए वन्यजन्तु अन्यत्र जाने र पर्यटन उद्योगमा प्रभाव पार्ने भएकाले आफूहरूले वन्यजन्तुको स्थायी बासस्थान निर्माण गर्न लागिपरेको अध्यक्ष गुरुङको कथन छ । 

ताजा खबर

सम्बन्धित खबर