२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

अर्घाखाँचीलाई खोरेत रोग मुक्त घोषणा गर्न स्थानीय सरकारले सहयोग गर्छ : मेयर श्रेष्ठ

Nada
सूर्यप्रसाद भुसाल
२०८२ कार्तिक २८ गते २०:२६
Shares
अर्घाखाँचीलाई खोरेत रोग मुक्त घोषणा गर्न स्थानीय सरकारले सहयोग गर्छ : मेयर श्रेष्ठ

अर्घाखाँची : अर्घाखाँची जिल्लालाई खोरेत रोगमुक्त जिल्ला घोषणा गर्ने उद्देश्यले सामुदायिक गाई तथा घरपालुवा जनावरका लागि भ्याक्सिन दिने अभियान सुरु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीको आयोजनामा सन्धिखर्क–६, नरपानीमा कार्यक्रम सम्पन्न गरिएको हो । 

ncell

उक्त कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.प्रवेश सिंह कुवरको अध्यक्षतामा, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय, गौशालाका कर्मचारी, जनप्रतिनिधि तथा पशु चिकित्सकहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा विज्ञ केन्द्रका प्रमुख डा.कुवरले खोरेत रोग के हो, कसरी सर्छ, खोप लगाएपछि देखिन सक्ने समस्या, रोग पहिचान, उपचार तथा रोकथामका उपायबारे श्रिकृष्ण गौशालाका कर्मचारीलाई जानकारी गराए । त्यस्तै, सन्धिखर्क नगरपालिकाका पशु चिकित्सक डा. नवीन पन्थीले फिल्डमा खटिने प्राविधिकहरूले खोप लगाउँदा ध्यान दिनुपर्ने पक्ष, प्राथमिक क्षेत्र छनोटका विधिहरूबारे सहजीकरण गरेका थिए ।

यस अवसरमा नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले खोरेत रोग अन्त्यका लागि खटिएका प्राविधिक र चिकित्सकहरूले इमान्दारीपूर्वक घर–घरमा पुगेर खोप कार्यक्रम सफल बनाउन सके छिट्टै अर्घाखाँचीलाई खोरेत रोगमुक्त घोषणा गर्न सकिने बताए । उनले स्थानीय सरकार, जनप्रतिनिधि सबैजना गम्भीर भएर यो अभियानमा जोडिनुपर्ने धारणा राखे ।

लुम्बिनी प्रदेश सरकारको खोरेत रोगमुक्त जिल्ला अभियानअन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीले जिल्लाभर ६४ जना खोपकर्ता नियुक्त गरी घर–घरमा खोप अभियान जारी राखेको डा. हकिकत अलिले जानकारी दिए । केन्द्रका प्रमुख डा. कुवरका अनुसार जिल्लाभर गाई, गोरु, भैंसी, बाख्रा, भेडा र बंगुरमा पूर्ण खोप लगाइनेछ । खोप लगाएपछि पशु स्वास्थ्य सुधार हुने, कृषकको आम्दानी वृद्धि हुने र उत्पादन भएको मासु तथा अन्य वस्तु विदेश निर्यात गर्न सकिने बताएका थिए ।

ताजा खबर

सम्बन्धित खबर