२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छः घनश्याम भुसाल

Nada
२०८२ कार्तिक २८ गते ११:२४
Shares
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छः घनश्याम भुसाल

काठमाडौंः पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आगामी निर्वाचनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एकमात्र वाधक रहेको टिप्पणी गरेका छन् ।

ncell

उनले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन अन्य कुनै कारणले रोक्नुपर्ने वा सार्नुपर्ने कारण नरहेको बताएका हुन् । अन्तरिम सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकेको छ । जेनजी आन्दोलनबाट तत्कालीन सरकार र संसद विघटन भएसँगै सुशीला कार्कीको अन्तरिम सरकार बनेको थियो । अन्तरिम सरकारले फागुन २१ का लागि तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलहरुले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउँदै आएका छन् ।

नेकपा एमालेले संसद पुनःस्थापनको एजेण्डा अघि सारेको छ भने नेपाली कांग्रेसमा मत विभाजित छ । अन्य राजनीतिक दलहरु भने निर्वाचनमा जाने मनस्थितिमा छन् । नेता भुसालले आफूहरु नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित निर्वाचनमा जाने घोषणा गरे । आफूहरुको पहिल्यै राजनीतिक दल रहेको बताउँदै आउने निर्वाचनमा एजेण्डासहित प्रस्तुत हुने जिकिर गरे । निर्वाचनका लागि ओली एकमात्रै वाधक रहेको उनको भनाइ छ । अरु कुनै कुराले निर्वाचन नरोकिने उनको स्पष्टोक्ति छ ।

सबै राजनीतिक दलहरुले निर्वाचनको प्रचार प्रसार गरिसकेपछि लतारिएर निर्वाचनमा आउनुको विकल्प ओलीसँग नरहेको उनको तर्क छ । सरकारको तयारी, राजनीतिक वातावरणको हिसावले निर्वाचन सार्नुपर्ने र नहुनुपर्ने कुनै कारण नरहेको उनले बताए । उनले ओली सहजै निर्वाचनमा नआउने तर मुलुकको राजनीति र नागरिकहरुले लतारेपछि बाध्य हुने बताए । 

ताजा खबर

सम्बन्धित खबर