२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

माडी गाउँपालिका र जेनजी समूहबीच सहमति

Nada
सुर्य प्रकाश बुढा मगर
२०८२ कार्तिक २७ गते ११:५५
Shares
माडी गाउँपालिका र जेनजी समूहबीच सहमति

रोल्पा : रोल्पाको माडी गाउँपालिका र जेनजी समूहबीच लामो छलफलपछि बुधबार राति महत्वपूर्ण सहमति भएको छ । कात्तिक १४ गते आठ बुँदे मागसहित गाउँपालिकामा बुझाइएको ज्ञापनपत्रका विषयमा माडी-२ घर्तीगाउँस्थित गाउँपालिका कार्यालयमा भएको सर्वदलीय र सर्वपक्षीय छलफलमा सहमति भएको हो ।

ncell

मध्याह्न १२ बजे सुरु भएको छलफल करिब राति १० बजेसम्म चलेर अन्ततः सहमति भएको गाउँपालिकाले जनाएको छ । छलफलबाट जेनजी समूहले उठाएका पहिलो, दोस्रो र तेस्रो बुँदाका मागबारे छानबिन गर्न समिति गठन गर्ने निर्णय गरिएको छ ।

समितिको संयोजकमा गाउँपालिका उपाध्यक्ष जयपुरी घर्ती रहनेछिन् । सदस्यमा जेनजी समूहका अध्यक्ष प्रकाश ओली, नेपाली कांग्रेस क्षेत्र नं. १ ‘ख’ का सभापति गोपाल बहादुर घर्ती, नेकपा (एमाले) का प्रदेश कमिटी सदस्य प्रेम बहादुर घर्ती मगर, नेकपा माओवादी केन्द्र माडी गाउँपालिका अध्यक्ष भरत बहादुर बुढा मगर, नेकपाका केन्द्रीय वैकल्पिक सदस्य तथा माडी इञ्चार्ज कुशल वली, र गाउँपालिका कर्मचारी लोकेन्द्र बुढा रहेका छन् ।

बुँदा नं. ५ र ७ सम्बोधन भइसकेका छन् भने बुँदा नं. ८ को कार्यान्वयन भइरहेको जनाइएको छ । बुँदा नं. ६ अन्तर्गत उल्लेखित विद्युत् पोल ढुवानीको रकम पुष मसान्तभित्र भुक्तानी गरिने सहमति भएको छ ।

बुँदा नं. ४ मा उठाइएको भ्रष्टाचारसम्बन्धी अभिव्यक्तिका विषयमा पनि छलफल भएको थियो । सो क्रममा गाउँपालिका अध्यक्ष अमरसिंह घर्ती मगर ले आन्तरिक संवादका क्रममा कमजोरी स्वीकार गर्दै विवाद समाधानका लागि वडा नं. १ को कार्यालयमा कृष्णकला घर्ती र सम्बन्धित पक्षबीच छलफल गरी समस्या समाधान गर्ने निर्णय गरिएको छ ।

सहमतिमा सहभागी सबै पक्षले आजदेखि अनावश्यक टिकाटिप्पणी नगरी माडीको समग्र विकासका लागि एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

छलफलका क्रममा माडी बसपार्क र तरकारी संकलन केन्द्रसम्बन्धी विषय पनि उठाइएको थियो । गाउँपालिकाले उक्त क्षेत्रका लागि बजेट विनियोजन गरी तरकारी संकलन केन्द्र भवन निर्माणका लागि उपभोक्ता समिति गठन भइसकेको र दुई महिनाभित्र कार्यान्वयन सुरु हुने जानकारी दिएको छ । खेतखोला स्थित भवनलाई नेपाल खाद्य संस्थानको गोदामका रूपमा प्रयोग गर्ने तयारी भइरहेको र समयमै काम नभए आपसी सहमतिमा भवन प्रयोग गर्ने पनि सहमति बनेको छ ।

यस्तै, पुरानो बसपार्क क्षेत्र (गैरागाउँ) लाई जिप पार्किङका रूपमा प्रयोग गर्ने र अवरुद्ध सडक तथा १५ शय्याको अस्पताल जाने बाटो खोल्ने निर्णय गरिएको छ ।

छलफलमा लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र कुमार पुन, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य नन्द बहादुर पुन, गाउँपालिका अध्यक्ष अमरसिंह घर्ती मगर, एमाले प्रदेश कमिटी सदस्य प्रेम बहादुर घर्ती मगर, नेकपा जिल्ला सचिव पृथ्वी डाँगी, कांग्रेसका क्षेत्रीय सभापति गोपाल बहादुर घर्ती, जेनजी समूह अध्यक्ष प्रकाश ओली लगायत सबै राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला उपस्थित थिए ।

ताजा खबर

सम्बन्धित खबर