२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल भारत प्रस्थान

Nada
२०८२ कार्तिक २५ गते १५:०६
Shares
सशस्त्र प्रहरी महानिरीक्षक अर्याल भारत प्रस्थान

काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सशस्त्र प्रहरी बल, नेपाल र भारतको समकक्षी सशस्त्र सीमा बल (एसएसबी) बीच हुने नवौं समन्वयात्मक बैठकमा भाग लिन मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् । उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायत वरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

ncell

महानिरीक्षक अर्यालको साथमा सीमा सुरक्षा विभाग प्रमुख गणेशबहादुर ठाडा मगर, प्रहरी नायव महानिरीक्षक दिपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रामप्रसाद दास, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्य, परराष्ट्र मन्त्रालयका उपसचिव विजयराज तन्डुकार तथा सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेल पनि भारत प्रस्थान गरेका छन् ।

सो बैठक कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा हुँदैछ । बैठकमा सीमा अपराध नियन्त्रण, लागूऔषध ओसारपसार नियन्त्रण, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, सूचना आदान प्रदान र सीमा सुरक्षालाई थप सुरक्षित बनाउन समन्वय र सहकार्य गर्ने विषयमा दुई सुरक्षा निकायबीच छलफल हुने सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

नेपाल–भारत बीच नियमित रुपमा हुँदै आएको समन्वयात्मक बैठकले दुवै देशको सीमा क्षेत्रमा शान्ति, सुरक्षा सुदृढीकरण, आपसी समन्वय र सहकार्यमा सहयोग पुग्ने विश्वास गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर