२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

कर्णालीलाई नेपालको गन्तव्य बनाउने प्रदेश सरकारको लक्ष्य

Nada
२०८२ कार्तिक १९ गते ०९:३५
Shares
कर्णालीलाई नेपालको गन्तव्य बनाउने प्रदेश सरकारको लक्ष्य

कर्णाली : कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले कर्णालीलाई नेपालको मुख्य गन्तव्य बनाउने लक्ष्य राखेर प्रदेश सरकार अगाडि बढेको बताएका छन् ।

ncell

‘जाउँ है बेगनास पोखरा प्रवर्द्धन कार्यक्रम’ लिएर सुर्खेत वीरेन्द्रनगर पुगेको होटेल एण्ड रेस्टुरेण्ट एशोसियशन लेखनाथ पोखरा कास्कीको भ्रमण टोलीसँग मंगलवार भएको छलफलमा मन्तव्य व्यक्त गर्दै मन्त्री अधिकारीले पर्यटकीय दृष्टिले कर्णाली र गण्डकी दुवै अथाह सम्भावना बोकेका प्रदेश भएको बताए । उनले भने, “पूर्वाधारका हिसाबले कर्णाली कमजोर छ तर धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटनको प्रचुर सम्भावना छ ।”

मन्त्री अधिकारीले बेगनास पोखरा र कर्णालीको पर्यटन प्रवर्द्धन एवं विकासमा सहयोग पुग्ने गरी प्रचारात्मक कार्यमा जोड दिनुपर्ने धारणा व्यक्त गरे । कर्णालीमा पुगेको होटेल व्यवसायीहरूको टोलीले कर्णालीको आहा भन्ने चीज लिएर जान आग्रह गर्दै उनले अब मध्य पहाडी लोक मार्गले कर्णाली र गण्डकी प्रदेशको पर्यटन विकासमा सम्बन्ध सेतुको काम गर्ने बताए ।

कर्णाली प्रदेश पर्यटन बोर्ड सदस्य तथा व्यवसायी पदमबहादुर शाहीले व्यावसायिक दक्षता र राज्यले निर्माण गर्ने अनुकूल वातावरणबाट पर्यटन प्रवर्द्धन हुने बताए । उनका अनुसार पर्यटनले रोजगारी प्रदान गर्नुका साथै आर्य आर्जन तथा सरकारको राजस्व वृद्धिमा सहयोग पुग्छ ।

होटेल तथा रेष्टुरेण्ट एशोसियशन लेखनाथ पोखरा कास्कीका अध्यक्ष वीरभद्र कँडेलले पोखरा भ्रमण वर्ष २०२५ रहेर गरिएको भ्रमण अवलोकनले कर्णाली र बेगनासको सम्बन्ध विकास र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । उनका अनुसार एशोसियशनको आयोजनामा यति बेला बुटवल, बर्दिया र सुर्खेतको भ्रमण अवलोकन गरिएको छ ।

छलफलमा उद्योग मन्त्रालयका निमित्त सचिव सुनिता केसी र वन निर्देशनालय सुर्खेतका निर्देशकले कर्णाली सरकारले पर्यटन विकासका लागि लिएको नीति, निर्माण गरेको पर्यटन गुरुयोजना, हालसम्म भएका प्रवर्द्धनका कार्यक्रम र आगामी रणनीति, योजना तथा तय गरिएको लक्ष्यका बारेमा आफ्नो प्रस्तुति राखेका थिए ।

ताजा खबर

सम्बन्धित खबर