२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

माधवनारायणका मेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियारमा उजुरी

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ कार्तिक १७ गते १८:५६
Shares
माधवनारायणका मेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियारमा उजुरी

रौतहट : रौतहटको माधवनारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि नगरपालिकालाई आर्थिक नोक्सानी पुर्‍याउँदै भ्रष्टाचार गरेको आरोप लगाइएको छ । सो सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी परेको छ ।

ncell

आयोगको काठमाडौं कार्यालयमा आइतबार परेको उजुरीमा माधवनारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर नागेन्द्र राय यादवसहितको मिलेमतोमा नगरपालिकाको बजेट रकममा व्यापक अनियमितता गरिएको उल्लेख गरिएको छ । उजुरीमा काम नगरी फर्जी बिल तथा भर्पाइ तयार गरी रकम भुक्तानी गरिएको, विभिन्न शीर्षकमा अस्वाभाविक खर्च गरी सरकारी सम्पत्तिमा हानि पुर्‍याइएको आरोप लगाइएको छ । उजुरीदाताले भ्रष्टाचार निवारण ऐन बमोजिम सम्बन्धित व्यक्तिमाथि आवश्यक छानबिन र कानुनी कारबाही गर्न माग गरेका छन् ।

२०७८/७९ सालमा मेयरमा निर्वाचित भएका बैजनाथ प्रसाद यादवले आफ्ना अनुकूलका प्रमुख प्रशासकीय अधिकृत ल्याएर काम गराउने, असहयोग गर्ने अधिकृतलाई सरुवा गराउनेजस्ता गतिविधि गर्दै आएको आरोप पनि उजुरीमा गरिएको छ । उजुरीमा भनिएको छ, “मेयर यादवले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट खटाइएका अधिकृतलाई समेत काम गर्न नदिई अवरोध सिर्जना गर्दै आएका छन् ।”

माधवनारायण नगरपालिका–३ का स्थानीयवासी आशितोषकुमार यादवले आयोगमा दर्ता गराएको उजुरीमा मेयर यादवले नातामा ससुरा पर्ने इन्जिनियर नागेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर ल्याई व्यापक अनियमितता गर्दै आएको दाबी गरिएको छ ।

१२ बुँदे आरोपसहित आयोगको टंगालस्थित कार्यालयमा दर्ता गरिएको उजुरीमा मेयर बैजनाथ यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवलाई मुख्य दोषी ठहर गर्दै यथार्थ छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।

उजुरीमा नगरपालिकाले प्रशासकीय भवन निर्माणको टेण्डरमा २० प्रतिशत कमिसन लिएर मात्र उपभोक्ता समितिलाई भुक्तानी गर्ने, विकास योजनालाई बढी कमिसनका लागि टुक्रा–टुक्रा पार्ने, संघ र प्रदेश सरकारबाट प्राप्त अनुदानमा नक्कली बिल बनाएर रकम भुक्तानी गर्ने, सडक बत्ती न्यून मूल्यमा खरिद गरेर १० गुणा बढी मूल्यमा भुक्तानी गर्ने, सवारी साधन र इन्धनको दुरुपयोग गर्ने लगायतका अनियमितता उल्लेख छन् । साथै, आर्थिक सहयोगका नाममा पदाधिकारीहरूले होटलमा खर्च गर्ने र सामाजिक सुरक्षा भुक्तानीमा समेत अनियमितता भएको आरोप पनि छ ।

आयोगमा सी–०२१२३४ नम्बरमा दर्ता भएको उजुरीमा निवेदक यादवले नगरपालिकामा चरम आर्थिक अनियमितता भइरहेको भन्दै, त्यसका प्रमाणका रूपमा निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र उपभोक्ता समितिका पदाधिकारीबीचको अडियो संवादसमेत पेश गरेको बताएका छन् ।

संवादमा प्रमुख प्रशासकीय अधिकृतले “यहाँ मेयरदेखि लिएर अख्तियारसम्म सबैलाई मिलाउनुपर्छ” भन्नेजस्ता भनाइ गरेको उजुरीमा उल्लेख गरिएको छ । उजुरीदाताले यस्ता गतिविधि र मिलेमतोका कारण तराई–मधेशका स्थानीय तहहरूमा भ्रष्टाचारको चरम अवस्था पुगेको भन्दै दोषी जनप्रतिनिधि र कर्मचारीलाई दण्डित नगरेसम्म यस्तो प्रवृत्ति नियन्त्रणमा आउन नसक्ने बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर